काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर कारबाही गर्न निर्देशन दिएका छन्।
शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा गृहमन्त्री लामिछानेले राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दी गर्नेलाई निर्मम भएर प्रहरी कारबाही गर्न विशेष निर्देशन दिएका हुन्। त्यस्तै उनले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पूर्णता निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्यसम्पादन गर्नसमेत लामिछानेले निर्देशन दिए।
कार्यक्रममा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सन्दर्भमा अझ बढी संवेदनशील भएर सोहीअनुसार सेवा प्रवाह गर्नसमेत प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका थिए।
गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फ्रेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गरेका थिए।