काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पूर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले शुक्रवार टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा प्रचण्डले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताएका हुन्।
'आफ्नो इमान्दारिता, लगन, निष्ठा र मिहेनत, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायका रुपमा स्थापित छ', प्रचण्डले भने। ल्होसार पर्व तमु समुदाय मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्ने पर्वका रुपमा रहेको उनको भनाइ छ।
तमु ल्होसारको सम्मान र सहानुभूतिका निम्ति सरकारले दिने आर्थिक सहयोग रोकिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले आफूले सरकारी सहयोग विगतमा भन्दा बढाउने घोषणासमेत गरे।
'तमु ल्होसार निम्ति विगत सरकारले पनि सम्मान र सहानुभूतिस्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ, म पनि दोस्रो चोटि प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ', प्रधानमन्त्री प्रचण्डले भने, 'तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो। यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ। र मेलै दिनेछु।'
नेपाल बहुजातीय, बहुभाषिक, सांस्कृतिक विविधताले भरिएको मुलुक भएको जनाउँदै प्रधानमन्त्री दाहालले विविधतामा एकता नै नेपालीको पहिचान भएको बताए। 'परापूर्वकालदेखि यस भूखण्डमा विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको सम्मिश्रणद्वारा नै नेपालको समग्र राष्ट्रिय पहिचान बनेको छ', उनले भने, 'सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको असली पहिचानमा नै नेपालको राष्ट्रिय पहिचान अन्तरनिहित छ।'
बाघ वर्गको विदाइ र बिरालो वर्गको स्वागतका रुपमा गुरुङ समुदायले आज देशभर हर्षोल्लासका साथ ल्होसार पर्व मनाउँदैछन्। सो अवसरमा गुरुङ समुदायले विभिन्न झाँकी प्रदर्शन गरेका थिए। टुँडिखेलमा गुरुङ वेशभूषासहित युवायुवतीको बाक्लो उपस्थिति थियो। कार्यक्रम परिसरमा गुरुङ समुदायको खानाको परिकार राखिएको थियो।