PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नेपाल टी २० लिगमा संघर्ष गर्दै नेपाली ब्याट्सम्यान, बलिङमा पनि विदेशीकै वर्चस्व!



मुकुन्द घिमिरे

नेपाल टी २० लिगमा संघर्ष गर्दै नेपाली ब्याट्सम्यान, बलिङमा पनि विदेशीकै वर्चस्व!
फोटो : क्यान।

काठमाडौं : पहिलो सिजनको नेपाल टी २० लिग काठमाडौंमा चलिरहेको छ। प्रतियोगितामा १४ वटा खेल सकिँदा बलिङ र खासगरी ब्याटिङमा विदेशी खेलाडीकै वर्चस्व देखिन्छ। नेपाली राष्ट्रिय टोलीका नियमित ब्याट्म्यानहरुले संघर्ष गरिरहँदा ब्याटिङमा अगाडि अन्य नेपाली ब्याट्सम्यान छन्। बलिङतर्फ नेपाली बलरको प्रदर्शन राम्रो भएपनि विदेशी खेलाडीको वर्चस्व भने कायमै छ।

ब्याटिङमा को अगाडि?

ब्याटिङमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष १० मा ७ जना विदेशी खेलाडी र ३ जना नेपाली खेलाडी छन्। जसमध्ये सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् श्रीलंकन खेलाडी बीकेइएल मिलन्था।

२८ वर्षे उनी श्रीलंकाको राष्ट्रिय सिनियर टोलीबाट खेलेका छैनन्। उनले लुम्बिनी अलस्टार्सबाट ५ खेल खेल्दा २०० रन बनाइसकेका छन्। त्यस्तै, दोस्रो स्थानमा अफगान ब्याट्सम्यान अजमतुल्लाह ओमरजाइ छन्। उनले १६९ रन जोड्दै तेस्रो स्थानका वेस्ट इण्डिजका चाडविक वाल्टनले १६६ रन जोडेका छन्। चौथो स्थानमा अलेक्जेन्डर जेम्स ब्लेक छन्। उनले १६० रन जोडेका छन्।

सर्वाधिक रनकर्ताको पाँचौ स्थानमा र नेपाली खेलाडीबाट शीर्षस्थानमा छन् पछिल्लो समय राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका कुशल मल्ल। उनले ६ खेलबाट १४६ रन जोड्दा छैटौ स्थानका पाकिस्तानी ब्याट्सम्यान हुसैन तलतले ४ खेलबाटै १४५ रन बनाएका छन्।

त्यसपछि सन्दीप जोराले १४४ रन बनाउँदा उपुल थरंगाले १४१, हसमतुल्लाह शाहिदीले १४० र सर्वाधिक रन बनाउने सूचीमा १०औँ स्थानमा रहेका रोहितकुमार पौडेलले ४ खेलबाट १३३ रन बनाएका छन्।

ब्याटिङमा सर्वाधिक रन बनाउने सूचीको शीर्ष १० रहेका नेपाली खेलाडीमध्ये राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएका खेलाडी रोहित पौडेलमात्र हुन्।

बलिङतर्फ कस्तो?

बलिङतर्फ सर्वाधिक विकेट लिने सूचीमा सबैभन्दा माथिछन् पोखरा एभेन्जर्सका अफगानी बलर जाहिर खान। उनले ६ खेलबाट १० विकेट लिँदा नेपाली बलर ललित राजवंशीले ४ खेलबाट ९ विकेट तथा फारवेस्ट युनाइटेडका यूएईका उमैर अली खान र करण केसीले समान ५ खेलबाटै ९ विकेट लिएका छन्।

त्यस्तै, लुम्बिनी अलस्टार्सका किशोर महतोले ७ विकेट लिँदा काठमाडौंका बलरहरु अजमतुल्लाह ओमरजाइ, बसीर अहमेद, अविनास बोहोरा तथा लुम्बिनीका स्याड्ली भानले समान ६ विकेट लिएका छन्।

अंकतालिकामा को अगाडि?

जारी प्रतियोगितामा ५ खेल खेल्दा शतप्रतिशत जित निकालेको लुम्बिनी अलस्टार्स १० अंक जोडेर शीर्षस्थानमा छ भने ६ अंक जोडेको जनकपुर रोयल्स दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं नाइट्स र विराटनगर सुपरकिंग्सको समान ४ अंक छ भने पोखरा एभेन्जर्स र फार वेस्ट युनाइेट दुई अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell