PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्‍घाटन हुँदै, १० हजार जना सहभागी हुने



वसन्तराज उप्रेती

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्‍घाटन हुँदै, १० हजार जना सहभागी हुने

काठमाडौं : अंग्रेजी नयाँ वर्षको दिन पारेर आइतवार उद्‍घाटन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यतिखेर विभिन्न निकायका कर्मचारी धमाधम परिचालन भइरहेका छन्।

विमानस्थलबाट आन्तरिक उडान परीक्षण भइसकेको छ। टर्मिनल भवनमा आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीका लागि चेक-इन काउन्टर तयार भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार छ,’ उनले भने। क्याफेटेरियालगायत यात्रु सेवाका लागि प्राधिकरणले आउँदो साताबाट टेण्डर आह्‍वान गर्ने भएको छ।

तत्कालका लागि आन्तरिकतर्फका वायुसेवालाई नयाँ विमानस्थल प्रयोगको बाटो खुलेको छ। उनका अनुसार आन्तरिक टर्मिनल हेर्न प्राधिकरणका तर्फबाट दक्ष जनशक्ति तयार छन्। जनवरी १ बाट नियमित उडान संचालनका लागि विभिन्न निकायका कर्मचारी परिचालनसँगै तयारी धमाधभम रहेको उनले बताए।

‘प्राधिकरण अन्तर्गत विभिन्न युनिटमा एक सय जनाभन्दा बढी दक्ष कर्मचारी परिचालन भइसकेको छ,’ उनले भने।

विमानस्थल संचालनका लागि प्राधिकरणसँगै विभिन्न निकायका तीन हजार कर्मचारीको सहभागिता रहने उनले जानकारी दिए। पोखराको यो नयाँ विमानस्थलका लागि नागरिक उड्डयन प्राधिकरणबाट मात्र १ सय ५० जना कर्मचारीको दरबन्दी छ।

यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, भन्सार, विशेष प्रहरी, वायुसेवा कम्पनी, अध्यागमन, मेट्रोलोजी, स्वास्थ्य, बैंकिङ सेवा, आयल निगम, गोदाम तथा पारवाहन लगायत अन्तर्गत करिब तीन हजार प्रत्यक्ष-अप्रत्यक्ष कर्मचारीको सहभागिता रहने उनले बताए।

यो विमानस्थलमा वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमता रहेको उनले जानकारी दिए।

बोर्डिङ ब्रिज संचालनका लगि क्यानकै दक्ष प्राविधिक

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने बोर्डिङ ब्रिज संचालनका लागि प्राधिकरणले आफ्नै ६ जनाको जनशक्ति परिचालन गर्दैछ। ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिइए पनि बोर्डिङ ब्रिज संचालनका लागि प्राधिकरणमै रहेका प्राविधिक प्रयोग गर्न लागिएको छ।

‘बोर्डिङ ब्रिज संचालनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय तर्फको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई दिइसकेको छ। तर, बोर्डिङ ब्रिजको केसमा छुट्टै निर्णय गरिएको अवस्था छैन। आवश्यक परेको अवस्थामा प्राधिकरणकै दक्ष जनशक्तिको प्रयोग गरिनेछ,’ प्रमुख गौतमले भने।

ग्राउण्ड ह्याण्डलिङ सेवाको जिम्मेवारी पाएको नेपाल वायुसेवा निगमले आवश्यक सबै उपकरण विमानस्थल परिसरमा पुर्‍याउने काम गरिसकेको छ। आन्तरिक तर्फको ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि भने सम्बन्धित वायुसेवाले आ-आफ्नो तर्फबाट तयारी गरिसकेको उनले बताए।

प्याराग्लाइडिङ लगायत साहसिक खेलका लागि छुट्टै एरोस्पेस

हाल संचालनमा आइरहेको प्याराग्लाइडिङ, हट एयर बेलुन, जाइरोकोप्टर, हेलीलगायत साहसिक खेलका लागि छुट्टै एयरस्पेसको तयारी गरेको उनले जानकारी दिए। यसका लागि एरोट्राफिक विभागले छुट्टै एरोस्पेसको तयारी गरेको छ। यसको निर्णय भने हुन बाँकी नै रहेको उनले जानकारी दिए।

उद्घाटनमा १० हजार जनाको सहभागिता रहने

आइतवार उद्‍घाटन हुन लागेको राष्ट्रिय गौरव आयोजना अन्तर्गतको यो तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्‍घाटनमा करिब १० हजार जनाको सहभागिता रहने विमानस्थल प्रमुख गौतमले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‍घाटन गर्ने यो अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विहानैदेखि आन्तरिक तर्फको नियमित उडान हुनेछ।

उद्‍घाटनसँगै सांस्कृतिक झाँकी, नृत्य लगायत मनोरञ्जनात्‍मक कार्यक्रम हुनेछन्।

यही दिन पोखरा-बनारस उडान गर्ने योजना बनाएको बुद्ध एयरले भने भारतबाट इजात पाउन बाँकी नै रहेको प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार यो विमानस्थबाट अन्तर्राष्ट्रिय उडानका लागि बुद्धले प्रक्रिया सुरु गरिसकेको छ भने हिमालय र जजिरा एयरवेजले चासो देखाएका छन्।

हालको आन्तरिक विमानस्थलबाट विकट गन्तव्य उडान

हालको आन्तरिक विमानस्थलमा प्राधिकरणले नेभिगेसन सुविधा (भीओआरडीएमइ), आयल निगमको सुविधा, हेलिकोप्टर र अल्ट्रालाइट लगायत तीन क्षेत्रका लागि प्रयोग गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यही विमानस्थलबाट पोखरा हुँदै आएको विकट गन्तव्य उडान संचालन गर्ने योजना रहेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए।

यो विमानस्थल स‌ंचालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा हुँदै आएको एयर ट्राफिक चाप न्यून गर्न थप मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ।

तत्कालका उडानलाई रिठ्ठेपानी डाँडाले अवरोध नगर्ने

विमानस्थलमा नियमित उडान संचालनका लागि अवरोध ठहर्‍याइएको रिठ्ठेपानी डाँडा कटान भइरहेको छ। तर, तत्कालको उडानका लागि भने डाँडाले अवरोध नहुने उनले बताए।

वायुसेवाले भीएफआर (भिजुअल फ्लाइट रुल्स) अन्तर्गतको उडान सहजै गर्न सक्ने बताउँदै उनले भने, ‘तत्काल उडान संचालनका लागि पर्याप्त रुपमा डाँडा कटान भइसकेको छ। ४० मिटर उचाइ कटानको काम धमाधम छ। ग्राउण्डको तर्फबाट हामी तयार छौं। अब जहाज र क्याप्टेन क्षमता अनुसार जहाज उडान अवतरण हुन सक्नेछ। भीएफआर अन्तर्गत आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडान हुन सक्नेछन्।’

विमानस्थल संचालनका लागि अवरोध ठहराइएको ल्याण्डफिल साइटको व्यवस्थापन भइसकेको र बर्ड अट्याक नियन्त्रणका लागि छुट्‍टै उपकरण जडान गरिसकिएको उनले जानकारी दिए। यो विमानस्थलमा आन्तरिकतर्फ स्ट्रिम, विचक्राफ्ट, सिआरजे-२००, सीआरजे-७००, एटीआर-७२, टर्बोप्रोप क्यु-४०० र अन्तर्राष्ट्रियतर्फ एटीआर-७२, क्यु-४००, न्यारोबडी सिरिजका जहाज उडान-अवतरण गर्न सक्ने उनले जानकारी दिए।

आइतवार यो विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवाले बिहान ७ बजेदेखि नै आन्तरिक उडान गर्ने तालिका  छ। सबै वायुसेवाले आ-आफ्नो आधिकारिक चेक-इन काउन्टर सार्वजनिक गरिसकेका छन्।

जनवरी ४ बाट अन्तर्राष्ट्रिय वायुसेवालाई दर्खास्त आह्वान गरिने

केही दिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि स्वीकृति दिएसँगै यो विमानस्थलबाट उडान-अवतरणका लागि आउँदो जनवरी ४ बाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई दर्खास्त आह्‍वान गरिने जनाइएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई उडान, अवतरण, कम्युनिकेसन, नेभिगेशन लगायत सेवामा शतप्रतिशत छुट दिने निर्णय गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘भैरहवामा जस्तै हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्कअन्तर्गत पार्किङ, ल्याण्डीङ, कम्युनिकेशन, नेभिगेसन लगायतमा शतप्रतिशत छुटको व्यवस्था गरेका छौं। जसले गर्दा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवालाई प्रेरित गर्न टेवा पुग्ने आशा लिएका छौं,’ प्रवक्ता निरौलाले भने।

ग्राउण्ड ह्याण्डलिङ सेवा छुटका लागि भने नेपाल वायुसेवा निगमसँग छलफल हुन बाँकी नै रहेको उनले जानकारी दिए।

चिनियाँ ऋण लगानीको कुल २२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यो विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान संचालन हुने जनाइएको छ। विमानस्थलबाट क्षेत्रीय स्तरका वायुसेवाहरु सेवा स‌ंचालनका लागि जोडिने विश्वास गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell