PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनी प्रदेशका तीन सांसदले मातृ भाषामा शपथ लिने



पहिलोपोस्ट

लुम्बिनी प्रदेशका तीन सांसदले मातृ भाषामा शपथ लिने

बुटवल : लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट निर्वाचित तीन सांसदहरुले मातृ भाषामा शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशसभातर्फ निर्वाचित सांसदहरुमध्ये दुई जनाले मधेशी (अवधी) र एक जनाले गरुङ भाषामा शपथ लिने भएका हुन्।

सांसदहरुले प्रदेशसभा सचिवालयलाई जानकारी गराई आआफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश (सीके) गुप्ताले जानकारी दिए। जनमतबाट निर्वाचित सदस्यहरु प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिकतर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अवधी) र गीता गुरुङले गुरुङ भाषामा सपथ लिनेछन्।

पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधानबमोजिम जनमत पार्टीका प्रदेशसभाका सांसदहरुलाई आ-आफ्नै मातृ भाषामा शपथ गर्ने व्यवस्था मिलाई दिन प्रदेशसभा सचिवालयका सचिवलाई आग्रह गरेका छन्।

लुम्बिनीमा पुस १७ गते दिउँसो १ बजे प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ। प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ सांसद निर्वाचित छन्। जसमा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागगरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३/३ जना, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबाट १/१ जना र ३ जना स्वतन्त्र सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell