PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

टप गनदेखि मून म्यानसम्म : सन् २०२२ मा सर्वाधिक कमाइ गर्ने १० हलिउड फिल्म



पहिलोपोस्ट

टप गनदेखि मून म्यानसम्म : सन् २०२२ मा सर्वाधिक कमाइ गर्ने १० हलिउड फिल्म

आज सन् २०२२ को अन्तिम दिन। कोरोना महामारीले दुई वर्ष हरेक क्षेत्रलाई ‍असर पुर्‍यायो। जसबाट फिल्म क्षेत्र पनि नराम्ररी पछारियो। तर, सन् २०२२ सुरुवातसँगै फिल्म क्षेत्रले लय समात्यो।

सन् २०२१ हलिउड उद्योगका लागि औसत रहेता पनि सन् २०२२ भने हलिउडका सुखद वर्ष सावित भयो।

सन् २०२२ मा ‘टप गन : माभरिक’देखि बहुप्रतिक्षित फिल्म अवतार : द वे अफ वाटर’सम्मका फिल्महरु प्रदर्शन भए। मध्यम समीक्षा पाएता पनि यी फिल्महरुले बक्सअफिसमा तहल्का मच्चाउन सफल भए।

रोचक के छ भने यसवर्ष बक्सअफिसमा हिट हुने फिल्महरु सिक्वेल नै बढी छन्। यी हुन् हलिउड बक्सअफिसमा सफल हुने शिर्ष १० फिल्महरु :

१. टप गन : माभरिक

२७ मे २०२२ मा रिलिज भएको टम क्रुज अभिनित फिल्म ‘टप गन : माभरिक’ यसवर्षकै सबैभन्दा धेरै कमाउने फिल्म हो। यस फिल्मले विश्वभरबाट एक अर्ब ४८ करोड डलर कमाएको थियो। एक अर्ब डलर कमाउने यो टम क्रुजको पहिलो फिल्म पनि बनेको छ।

त्यसैगरी, ‘टप गन’ महामारीपछि अर्ब कमाउने दोस्रो फिल्म पनि बनेको छ। महामारीपछि रिलिज भएको ‘स्पाइडरमेन : नो वे होम’ले एक अर्ब ९१ करोड डलर कमाई गरेको थियो।

सन् १९८६ को क्लासिक फिल्मको सिक्वेल ‘टप गन : माभरिक’ १५ करोड डलरमा बनेको फिल्म हो।

२. अवतार : द वे अफ वाटर

यसवर्षको बहुप्रतिक्षित फिल्म ‘अवतार : द वे अफ वाटर’ पनि सर्वाधिक कमाई गर्ने फिल्मको दोस्रो सूचीमा परेको छ। हलमा प्रदर्शनरत यस फिल्मले हालसम्म एक अर्ब डलर बढी कलेक्सन गरिसकेको छ।

साथै, यो फिल्म यसवर्षकै छिटो एक अर्ब डलर कमाउने पहिलो फिल्म बनेको छ। १४ दिनमा विश्वव्यापी रुपमा एक अर्ब डलर कमाएर फिल्मले रेकर्ड राखेको हो।

वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्रै एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्। जसमा ‘टप गन : माभरिक’ ३१ दिनमा, ‘जुरासिक वर्ल्ड डोमिनियन’ले चार महिनामा उक्त सफलता हासिल गरे।

फिल्म ‘अवतार : द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो।

३. जुरासिक वर्ल्ड डोमिनियन

१० जुनमा रिलिज भएको फिल्म ‘जुरासिक वर्ल्ड डोमिनियन’ले विश्वभरबाट एक अर्ब ३० लाख डलरको व्यापार गरेको छ। जुन यसवर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म हो। साइन्स फिक्सन र एक्सन यस फिल्ममा क्रिस प्राटको मुख्य भूमिका छ।

कोलिन ट्रिभोरो निर्देशित यस फिल्मलाई सन् १९९३ बाट सुरु भएको जुरासिक पार्क चलचित्र शृङ्खलाको अन्तिम भाग भनिएको छ। यो श्रृंखलामा इतिहासकै सबैभन्दा डरलाग्दो प्राणी डाइनोसरसँग मानिसले ग्रहमा बसोबास गर्न साझेदारी गर्छन् र गर्दैनन् भन्ने कुरा छ।

४. डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस

हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-२’ पनि यसवर्षको सफल फिल्ममा पर्छ। मे ६ मा रिलिज भएको यस फिल्मले विश्वभरबाट ९५ करोड ५० लाख डलर कमाएको थियो।

काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो। यस फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ।

साम रेइमी निर्देशित यो फिल्म सन् २०१७ मा रिलिज भएको ‘डक्टर स्ट्रेन्ज’ को सिक्वेल हो।

५. मिनियन्स : द राइज अफ ग्रु

एनिमेसन फिल्म ‘मिनियन्स : द राइज अफ ग्रु’ बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्ममा पर्छ। जुलाई १ मा रिलिज भएको यस फिल्मले ९३ करोड ९० लाख अमेरिकी डलर कमाएको थियो।

यो फिल्म सन् २०१५ मा रिलिज भएको मिनियन्सको सिक्वेल हो। काइल बाल्डाद्वारा निर्देशित यो फिल्म ‘डेस्पिकेवल मी’ फ्रेन्चाइको पाँचौँ शृंखला हो।

६. ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर

मार्भल स्डुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ बक्सअफिसमा यसवर्षको सफल फिल्म हो। ११ नोभेम्बरमा रिलिज भएको ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ ले ८० करोड ५० लाख डलर कमाउन सफल भयो।

रायन कुगलर निर्देशित यस फिल्ममा लेटिटिया राइट, लुपिता न्योंग, दानाई गुरिरा र विन्स्टन ड्यूकको अभिनय छ। वाकान्डा फरेभर सन् २०१८ मा रिलिज भएको कुगलर निर्देशित ‘ब्ल्याक प्यान्थर’को दोस्रो भाग हो।

७. द ब्याटम्यान

हलिउड फिल्म ‘द ब्याटम्यान’ पनि यसवर्षको बक्सअफिसमा हिट फिल्म हो। सुपर हिरो फिल्म एक्सन जनरामै निर्माण भएको यस बक्सअफिसमा ७७ करोड डलर कमाएको थियो।

म्याट रिब्सको निर्देशनमा बनेको फिल्ममा अभिनेता रोबर्ट प्याटिन्सनको मुख्य भूमिका रहेको छ। दुई वर्षदेखि गोथम शहरमा अपराधविरुद्ध लडिरहेको ब्याटम्यानले गोथमको अभिजात वर्गलाई लक्षित गर्ने सिरियल किलर रिडलर (डानो) लाई पछ्याउँदै भ्रष्टाचारको पर्दाफास गरेको कथा फिल्मले भन्छ।

८. थोर : लभ एण्ड थन्डर

हलिउड स्टुडियो मार्भलको सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ यस वर्षको हिट फिल्ममा पर्छ। यस फिल्मले पनि विश्वभरबाट ७६ करोड डलर कमाएको थियो।

फिल्मको मुख्य भूमिकामा क्रिस हेम्सवर्थ (थोर) छन्। अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका कमिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो शृंखला हो। जसको कथा फिल्म ‘एभेन्जर्स एण्ड गेम’ को कथाबाट सुरु हुन्छ।

९. वाटर गेट ब्रिज

फिल्म ‘वाटर गेट ब्रिज’ पनि यसवर्षको सफल फिल्मभित्र पर्छ। १ फेब्रुअरीमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा ६२ करोड ६० लाख डलर कमाई गरेको छ।

फिल्म ‘वाटर गेट ब्रिज’ चिनियाँ युद्ध चलचित्र र गत वर्षको ‘द ब्याटल एट लेक चाङजिन’ को सिक्वेल हो। चिनियाँ कम्युनिष्ट पार्टीको १००औँ वार्षिकोत्सवको स्मरणमा बनाइएको हो। फिल्म कोरियाली युद्धमा चोसिन जलाशयको युद्धको समयमा फनचिलिन पासमा भएको ऐतिहासिक लडाइँमा आधारित छ।

१०. मून म्यान 

चिनियाँ साइन्स, फिक्सन र कमेडी फिल्म ‘मून म्यान’ पनि सन् २०२२ मा राम्रै कमाई गर्ने फिल्ममा पर्छ। यस फिल्मले विश्वभर ४६ करोड डलर कमाएको थियो।

मून म्यानले एक अन्तरिक्ष यात्रीलाई पछ्याउँछ जो क्षुद्रग्रहले पृथ्वीमा सबै जीवनलाई नष्ट गरेपछि चन्द्रमामा फसेको थियो। यो दक्षिण कोरियाली चित्रकार चो सेओकको वेबकमिक श्रृंखला ‘मून यू’ को रूपान्तरण थियो।

यी फिल्महरुले सुखद व्यापार गरेता पनि अझै हलिउड उद्योग महामारी पूर्वको अवस्थामा पुगेको छैन। तर, सन् २०२३ मा रिलिज हुने दुई दर्जन फिल्महरुले हलिउडलाई उद्धार गरेर महामारीअघिको स्तरमा लैजान सक्छ।

जसमा टील, एम्पाअर अफ लाइट, टार, होली स्पाइडर, द फेबेलम्यान्स, द ह्वेल, म्याजिक माइक्स लास्ट डान्स, गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम थ्री, किलर्स अफ द फ्लावर मुन, स्पाइडर म्यान : अक्रस द स्पाइडर भर्स-२, इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी र द हंगर गेम्स : द बालड अफ सङबर्ड्स एण्ड स्नेक्स लगायतका फिल्महरु पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell