PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : नेता खाण



पहिलोपोस्ट

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : नेता खाण

बुटवल : नेपाली कांग्रेसका नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको बताएका छन्।

वीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले कांग्रेस नेतृत्वको सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावका कारण प्रतिकूल अवस्था सिर्जना भएको बताएका हुन्।

पछिल्लो समय वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्व र सान्दर्भीकता झनै बढेको भन्दै उनले नेपालको राष्ट्रिय राजनीतिमा भइरहेको बाह्य प्रभावलाई रोक्नुपर्ने बताए।

‘कांग्रेस देशको मुख्य लोकतान्त्रिक शक्ति भएकाले देशमा भइरहेको बाह्य हस्तक्षेपलाई कसरी रोक्ने, देश र जनताको बृहत्तर विकासलाई कसरी अगाडि बढाउने भन्ने दायित्व जिम्मेबारीबाट पछि हट्ने छैन,’ नेता खाणले भने।

यसपाली सरकार गठनमा कांग्रेसको प्रयास सफल हुन नसकेपछि निराश भइहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए।

‘केही आन्तरिक र बाह्य प्रभावका कारण सरकार निर्माणमा सफल हुन सकेनौं तर यसबाट आत्तिहाल्नु पर्दैन, यद्यपि रणनीतिक हिसावले हामी कहाँ चुक्यौं समीक्षा गर्न जरुरी छ, करेक्सन भएर अगाडि बढ्नु पर्छ,’ नेता खाणले भने।

कांग्रेस पार्टीका मुलभूत सिद्धान्त, नीति र दृष्टिकोणका साथ सत्ता तथा सरकार संचालनको राणनीतिमा पनि लागिरहने उनको भनाइ थियो। कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै उनले लोकतान्त्रिक मूल्यमान्यता र पद्यतिलाई बलियो बनाउँदै देश र जनताको बृहत्तर हितका लागि अन्य दलसँग हातेमालो गर्ने गरेको स्पष्ट पारे।

नेता खाणले देश र जनताका लागि आफू सधैँ सहमति, सहकार्य र एकताका पक्षमा उभिएको भएपनि आफ्नो निर्वाचन क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल कै कारण हार व्यहोर्नु परेको टिप्पणी गरे। सो अवसरमा उनले वीपी बाटिकामा बनाइएको वीपी कोइरालाको अर्धकदको शालिकको अनावरण समेत गरेका थिए।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, पर्सुराम ढकाल, प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, रामप्रसाद खनाल, विमलराज भट्टराइ, खिमानन्द भट्टराइ लगायतले कांग्रेस जहाँ छ त्यहाँ विकास, मेलमिलाप र राष्ट्रिय एकता जोडिने भन्दै वीपीले ल्याएको मेलमिलापको नीतिको सान्दर्भीकता र महत्व झन बढेर गएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell