काठमाडौं : ‘पञ्चायतको पालादेखि अहिलेसम्मका नेतालाई थप्पड हानेको छ,’ डा अरुणा उप्रेती कडक स्वरमा भन्छिन्।
राजनीतिक भाषणमा उप्रेती कड्किएकी भने होइनन्। बरु ‘शून्यको मूल्य’मा आक्रोश मिसाउँछिन्। कर्णालीको कथा हो- शून्यको मूल्य। आख्यान कि गैर आख्यान? लेखक नवराज केसीले नै भनेका छन्- सिर्जनात्मक गैरआख्यान। यति भनेपछि अरु भनिरहनै परेन किताबको विधाबारे।
उप्रेती जनस्वास्थ्यविद् हुन्। विषय जनस्वास्थ्यसँग जोडिएपछि उप्रेती नजोडिने कारण थिएन। नेपाली किताब प्रायः एकै पटकमा सरर पढेर सिध्याउने बानी छ उप्रेतीको। तर, ‘शून्यको मूल्य’मा उप्रेतीलाई सायद शून्यको मूल्य खोज्न मन लाग्यो।
‘एकैचोटीमा पढ्नै सकिनँ, ૪ दिन लाग्यो। मिठो इर्श्याले भुतुक्क भएँ,’ इर्श्या पलाउनुको कारण अरु होइन, आफूले किन यस्तो किताब लेखिनँ भन्ने रहेछ उप्रेतीलाई।
कर्णाली फिटिक्कै गरीब लाग्दैन, बरु गरीब बनाइयो भन्ने तर्क छ उनीसँग। ‘कर्णाली गरीब बनाइयो। कर्णालीको नेताले पनि हामी गरीब छौँ भनिरहेका छन्। तर, कसरी भयो?,’ प्रश्न गर्छिन् उनी।
मध्यपुसको चिसोमा सकेसम्म घाम नछेकियोस् भन्दै बस्नेहरुको जमातले प्रज्ञा प्रतिष्ठानको डबली भरियो। मञ्चमा उप्रेती त छन् नै। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र नायिका सुरक्षा पन्तले आकर्षण थपेका छन्।
चिकित्सा पेसामा ५०औँ वर्षको अनुभव बटुलेकी डाक्टर रिता थापा जनस्वास्थ्यसँग जोडिने नै भइन्। थापालाई नेपालको स्वास्थ्य प्राणाली नै खत्तम लाग्छ। जसको प्रसस्तै उदाहरण ‘शून्यको मूल्य’मा छन्।
‘हाम्रो ठूला-ठूला मेडिकल जार्गनमा होइन कि सामान्य भाषामा बुझाउनुभएको छ। अहिलको स्वास्थ्य प्रणालीलाई उदाङ्गो पार्नुभएको छ,’ आफ्ना अनुभवसँगै किताबमाथि बोल्छिन् थापा।
विमोचनको रमाइलो पक्ष त के भने मुलधारको राजनीतिबाट प्रधानमन्त्री भइसकेका डाक्टर भट्टराई राजनीतिबारे चुइक्क बोल्दैनन्। सञ्चालकले अनुरोध नगरेका पनि होइनन्, अहिलेको बदलिएको राजनीतिमाथिको टिप्पणी गर्न। बरु भट्टराई रमाइलो सुनिन्छन्।
‘हाम्रो संस्कृतमा भएका श्लोक मात्र पढाएर काम छैन। नवविवाहितलाई यो किताब पढाउनुपर्छ। पण्डितहरुले कत्तिको मान्नुहुन्छ यो किताब उनीहरुलाई बाँड्नुपर्छ,’ भट्टराईका कुराले माहोल रमाइलो त बन्छ नै प्याराफिटमा बसेकाले व्यावहारिक भनेर प्रशंसा नै गर्छन्।
भट्टराई राजनीतिबाट जति चर्चा कमाएका नेता हुन्, त्यतिकै पढाइमा नाम कमाएका। त्यसैले होला उनी ‘शून्यको मूल्य’मा विज्ञानलाई जोड्छन्, क्वान्टम फिजिक्सको कुरा गर्छन्।
‘शून्य भनेको प्रस्थान विन्दु हो। फिजिक्समा पनि क्वान्टम ग्राभिटीले पनि भन्ने गर्छ,’ बाबुराम शून्यको मूल्यलाई विज्ञानबाट अर्थ्याउछन्।
‘शून्यको मूल्य’ त्यसो भए के यति धेरै प्रशंसा लायक छ त? जो कोहिले गर्न सक्ने प्रश्न हो यो। किताबमाथि बोलिदिनुस् भन्ने निम्ता मानेर आएका अतिथिलाई प्रशंसा गर्नुपर्ने बाध्यता पनि हुन्छ होला।
तर, पुस्तकका केहि यस्ता अंश छन् जसले छोइहाल्छ सजिलै-
कहाँ जन्मेको हो? ‘थाहा नाइँ मलाई’
जन्मदा केहि गाह्रो भएको थियो?
‘खोइ के भन्ने आफैँ जन्मियो गोठाँ, कोहि मान्छे नाइँ वरपर आफैँ हसियाँले नाइटो काटेकी हुँ।
डाक्टर-महिलाको यो संवादले प्रश्न त गर्छ नै पुस्तको शीर्षकमा भनेझै- सास, साहस र स्नेह पनि देखाउँछ। त्यसैले पनि होला नायिका सुरक्षा पन्त आमालाई विश्वविद्यालयसँग तुलना गर्छिन्।
‘आमा विश्वविद्यालयका टपर हुन्,’ आमाले आफ्ना कथा आफैँ भन्नसक्छन् भन्ने भावमा सुरक्षा तर्क गर्छिन्। पन्तको आमा सिनेमा नै काफि छ उनको आमाबारेको बुझाइ थाहा पाउन।
कर्णालीमा आफूले अनुभव गरेका कुरा सुरक्षाका रमाइलै छन्। ‘हामीलाई र्याप गरेको जस्तो लाग्छ,’ कर्णालीको लवज मन पर्छ सुरक्षालाई।
फिल्मको सुटिङमा कर्णाली पुग्दा ‘काठमाडौंका मान्छे पनि दुःखी हुँदा रहेछन्’ भनेर कर्णालीकी महिलाले सुनाएको शब्दलाई सुरक्षाले सुनाउँदा रोचक सुनिन्छ। त्यहि भएर पनि होला डाक्टर नवराजको किताबले सुरक्षालाई पनि रुवायो।
कर्णालीका आमाका यति भावुक कथा भन्ने केसी आफैं को हुन्? किन लेखे यस्तो किताब? यसका धेरै खालका जवाफ त डाक्ट केसीसँगै होलान्। यति त ढुक्कले भन्न सकिन्छ- उनी बाल चिकित्सक हुन्। कर्णालीका कथा उनले देखेका मात्रै होइन्न भोगेका पनि छन्, कति मानवताका नाताले कति चिकित्सकका नाताले। किनकी उनी कर्णालीवासी नै परे, सुर्खेतबाट अनुभव गरे कर्णालीका व्यथा। किनकी उनी सुर्खेती हुन्।
उनीसँग सुनाउनका लागि अनेक अनुभव थिए होलान। तर, उनको एउटा कुरा घत लाग्ने नै छ- संसारमा यति धेरै मान्छेहरु छन् जसको अन्तिम लक्ष्य माटोसम्म पुग्ने मात्रै हो। हामीमध्ये कतिलाई आकाश चढौँला माथि-माथि जाउँला भन्ने हुन्छ, ती सबै बोनस हो जीवनको।
अघि डाक्टर अरुणाले भनेझैँ ड्यासमा बसेका बाबुरामलाई पुस्तकले थप्पड हान्यो कि हानेन। तर, नवराजका शब्दले मन भने अमिलो पक्कै बनाउँछ।