PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जम्कट्टेल दलको नेता चयन भएपछि पौडेल असन्तुष्‍ट, बधाई दिएर बैठकबाट बाहिरिए



निशा गुरुङ

जम्कट्टेल दलको नेता चयन भएपछि पौडेल असन्तुष्‍ट, बधाई दिएर बैठकबाट बाहिरिए

हेटौंडाः नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले संसदीय दलको नेता चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार र शनिबार चलेको प्रदेश स्तरीय बैठकले दलको नेतामा शालिकराम जम्कट्टेललाई चयन गरेको हो।

दलको नेतामा दाबी गरेका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने असन्तुष्टि व्यक्त गर्दै बैठकबाटै बाहिरिएका छन्। आफू प्रदेश अध्यक्षको हैसियतले प्रदेशको नेतृत्व पाउनुपर्ने पौडेलको दाबी थियो। सहमति नभए निर्वाचनको माग उनले गरेका थिए।

तर, आकांक्षी धेरै भएको भन्दै प्रदेश इन्चार्ज हितमान शाक्यले जम्कट्टेललाई दलको नेतामा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव पारित गरेको थियो।

जमरकट्टेललाई दलको नेता चयन गरेलगत्तै पौडेलले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको एक सांसदले बताए।

‘संसदीय दलको नेतामा जमरकट्टेल चयन भएलगत्तै उहाँ तपाईंहरुलाई धेरै-धेरै बधाई भनेर निस्किनुभयो,’ एक सांसदले भने, ‘उहाँले निर्वाचन प्रक्रियामै जाउँ भनेर प्रस्ताव राख्नुभएको थियो तर, केन्द्रीय नेताहरुको समर्थन जमरकट्टेललाई भएपछि सर्वसम्मत चयन भयो।

पेरिसडाँडाबाट बाहिर निस्किएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका छन्। ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो। छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म मन जितिँदैन केही पनि जितिँदैन। म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ।’

जम्कट्टेल धादिङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् भने पौडेल सिन्धुपाल्चोक १ (ख) बाट निर्वाचित भएका हुन्।

प्रदेश सभा दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। जम्कट्टेल र पौडेलसहित, युवराज दुलाल, तथा गंगानारायण श्रेष्ठले पनि दाबी गरेका थिए।

प्रदेश सभामा माओवादी केन्द्रका २१ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell