![बराबरीमा रोकियो सिटी, शीर्षस्थानमा अग्रता बढाउँदै आर्सनल](https://pahilopost.com/assets/upload/contentthumb/tag_reuters.com,2022_newsml_UP1EICV1CYNOA_1202091049_768x432_.jpg)
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन्। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २४ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा गरेको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एभर्टन खेलमा फर्कन सफल भयो। ६४ औं मिनेटमा डेमराइ ग्रेले गोल फर्काउँदै खेल बराबरी ल्याए।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिग लिडर आर्सनलले ब्राइटोनलाई हरायो। फाल्मर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि ४-२ गोलअन्तरले जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। खेलको दोस्रो मिनेटमै बुकायो साकाको गोलमा अग्रता बनाउको आर्सनलका लागि ३९ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा पहिलो हाफमा आर्सनल दुई गोलले अघि रह्यो। त्यस्तै ४७ औं मिनेटमा इड्डी एनकेटीअले आर्सनलका लागि तेस्रो गोल गरे। यता ब्राइटोनका लागि काउरु मिटोमाले ६५ औं मिनेटमा र इभान फर्ग्युसनले ७७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गरे। तर, यसबीचमा आर्सनलका गाब्रियल मार्टिनेलीले ७० औं मिनेटमा गोल थप्दा नतिजा आर्सनलले ४-२ गोलअन्तरले आफ्नो पक्षमा पार्यो।
जितसँगै आर्सनलले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। १६ खेलबाट ४३ अंक जोडेर आर्सनल शीर्षस्थानमा छ भने समान खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। त्यस्तै १७ खेलबाट ३४ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा छ।