PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

साफ विजेता फेरिँदा नेपाल फेरि उपविजेता, अनि खेलमा चर्को राजनीति : २०२२ मा कस्तो रह्यो नेपालको खेलकुद क्षेत्र?



मुकुन्द घिमिरे

साफ विजेता फेरिँदा नेपाल फेरि उपविजेता, अनि खेलमा चर्को राजनीति : २०२२ मा कस्तो रह्यो नेपालको खेलकुद क्षेत्र?

काठमाडौं : सन् २०२२ हामीबाट बिदा भएको छ। यो वर्षलाई फर्केर हेर्दा नेपाली खेलकुदमा धेरै उतार चडाव भए। नवौँ राष्ट्रिय खेलकुद पोखरामा सम्पन्न भयो भने महिला साफ च्याम्पियनसिप काठमाडौंमा सम्पन्न भयो यही वर्ष।

विभिन्न संघहरुमा नयाँ नेतृत्व आएपनि राजनीतिक खिचातानीले सबैजसो खेलकुद संघदेखि राष्ट्रिय खेलकुद परिषद्सम्मलाई जकडिरह्यो। एक महिना भन्दा बढी समय त कतारमा सम्पन्न फिफा विश्वकपले नेपालीहरुको पनि ध्यान तान्यो।

क्रिकेटमा निकै विवाद र आलोचना ब्यहोरेको नेपाल टी २० लिग जारी छ। फुटबल संघको लिगको चर्चा परिचर्चा चलिरहेको छ। भलिबल संघ, फुटबल संघलगायतका खेलकुद संघमा नेतृत्व फेरिँदा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसम्म पनि अदालत धाए।

के-के भयो यो वर्ष नेपाली खेलकुदमा?

नवौँ राष्ट्रिय खेलकुद

निर्धारित समयमा हुने/नहुने भन्ने चर्चाका बिच पटक-पटक स्थगित भएको नवौँ राष्ट्रिय खेलकुद अक्टोबर महिनामा सम्पन्न भयो। तर, व्यवस्थापकीय कमजोरीका कारण खेलकुद आलोचनामा परिरह्यो।

पौडी, एथ्लेटिक्स लगायतका खेलका कीर्तिमाननै विवादमा परे। फुटबलमा एनआरएनए र प्रदेश १ को विवाद चुलिँदा एनआरएनए बाहिरिनु पर्‍यो। कबड्डीमा रेफ्रीहरुबिच नै झगडा पर्‍यो। त्यसको बावजुत नयाँ सम्भावना बोकेका खेलाडीहरु सम्भावना लिएर आए। कीर्तिमानहरु पनि त्यतिकै बने। 

राष्ट्रिय खेलकुदको उपाधिमा आर्मीको एकलौटी वर्चस्व रह्यो। आर्मीले कुल १७२ स्वर्णसहित ३७१ वटा पदक जित्दा दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६५ स्वर्णसहित २१९ पदक जित्यो।

फुटबल र भलिबलमा नयाँ नेतृत्व

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल भलिबल संघले यसपालाको चुनावमा नयाँ नेतृत्व चयन गरेका छन्। एन्फाको नेतृत्वमा अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका पंकजविक्रम नेम्बाङले पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएका थिए।

त्यस्तै, भलिबल संघमा अघिल्लो कार्यकालमा महासचिव रहेका जितेन्द्र बहादुर चन्दले निरोज मास्केलाई हराउँदै अध्यक्ष बनेका थिए।

फुटबल/क्रिकेटमा ‘अस्थिर’ प्रशिक्षक

नेपाली फुटबल र क्रिकेट प्रशिक्षकविहीन जस्तो अवस्थामा छ। फुटबलमा अब्दुल्लाह अलमुताइरीको बहिर्गमनपछि नेपालले बंगलादेश र पाकिस्तानसँग घरेलु मैदानमा खेलेको छ।

दुवै देशसँगको खेलमा नेपालको नतिजा भने सकारात्मक आयो तर प्रशिक्षकको अस्थिरताले भने दीर्घकालीन नोक्सानी देखिएको छ। बंगलादेशसँगको खेलमा एन्फाले प्रदीप हुमागाईँलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो भने पाकिस्तानसँगको खेलमा प्रवेश कटुवालले प्रशिक्षण सम्हालेका थिए।

एन्फाले मुख्य प्रशिक्षकका लागि विज्ञापन त खोलेको छ तर कहिलेसम्म नेपाली टोलीले प्रशिक्षक पाउँछ भन्ने निर्क्योल भने छैन।

त्यस्तै अवस्था छ क्रिकेटमा पनि। यही महिना नामिबिया टूरपछि भारतीय प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिए। खेलाडीसँगको मनमुटाव र नतिजा दिन नसकेपछि उनले राजीनामा दिएको बताइएको छ।

उनी नेपालमा करिब ४ महिना बसे। त्यसअघि पुबुदु दासानायके, डेभ ह्वाटमोर र उमेश पटवालले नेपालको प्रशिक्षण सम्हाले पनि उनीहरुको कार्यकाल ८ महिना भन्दा लामो हुन सकेको थिएन।

साफमा नेपाल फेरि उपविजेता, तर फेरिएको विजेता

दक्षिण एसियाली फुटबल साफमा नेपालको छवि हो सदाबहार उपविजेता। लगभग सँधैजसो फाइनल पुगेर भारतसँग पराजय ब्यहोर्दै उपविजेतामा खुम्चनु नेपालको नियती बन्दै आएको छ।

तर, यसपाला काठमाडौंमा नेपाल उपविजेता बन्दा कथामा केही ‘ट्वीस्ट’ थियो। नेपालले सदाबहार विजेता र उपाधिको प्रवल दाबेदार भारतलाई त सेमिफाइनलमै हराउन सफल भयो तर फाइनल खेलमा बंगलादेशसँग पराजित हुन पुग्यो।

यसपाला साफमा धेरै कीर्तिमान टूटे/बनिए। सबैभन्दा ठूलो कीर्तिमान समूह ‘ए’मा बंगलादेशले बनाएको थियो। साफ च्याम्पियनसिपको पाँच पटकको विजेता रहेको भारतलाई पहिलो पटक हराएर।

अहिलेको संस्करणसम्म आइपुग्दा भारतले ब्यहोरेको यो पहिलो हार थियो। सेमिफाइनलमा बंगलादेश विजेता र भारत उपविजेता बनेर प्रवेश गर्दा नेपाल समूह ‘बी’को विजेता बन्दै यात्रा तय गरेको थियो।

सेमिफाइनलको समीकरण अनुसार नेपालले सेमिफाइनलमा भारतसँग खेल्नु पर्ने भयो। साफ च्याम्पियसिपमा यसअघि सन् २०१६ मा नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो।

सोही संस्करणमा मात्र हो नेपाल फाइनलमा नपुगेको। संयोग त्यतिबेला पनि नेपाली टोलीका प्रशिक्षक कुमार थापा नै थिए। र, यसपाला भारतसँग सेमिफाइनल खेलाउने जिम्मेवारी थापाकै काँधमा थिए।

यसपाला इतिहास फेरियो। साफ इतिहासमै पहिलो हार ब्यहोरेको पीडा नभुल्दै भारतले ब्याक टू ब्याक हार ब्यहोर्न पुग्यो। नेपालले साविक विजेता भारतलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। सेमिफाइनल चरण सकिँदा स्पष्ट भयो : यसपटक साफ महिला च्याम्पियसिपमा नयाँ च्याम्पियनको आगमन हुँदैछ।

साफले नयाँ च्याम्पियन त पायो तर त्यो नेपाल नभएर बंगलादेश थियो। फाइनलमा बंगलादेशले नेपालले ३-१ गोलले हराउँदै इतिहास रचेको थियो। साफले नयाँ विजेता पाउँदा नेपाल भने सदावहार उपविजेतामै खुम्चियो।

सन्दीप लामिछाने प्रकरण र रोहित कप्तान

नेपाली क्रिकेट टोलीको कप्तान रहँदै सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी पर्‍यो। केन्या सिरिज खेल्न गएको बेला उजुरी परे पनि उनी त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न गए। तर, नेपाल प्रहरीले इन्टरपोलसम्म सन्दीपको खोजी गर्न सूचना जारी गर्ने भएपछि उनी नेपाल फर्किए।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगे। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।

रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। उनको मुद्दा अझै अदालतमा छ।

सन्दीपको बहिर्गमनसँगै नेपाली टोलीको कप्तानको जिम्मेवारी रोहित पौडेलले पाएका छन्।

लिगको लफडा

२०२२ को फेब्रुअरीमा अघिल्लो सिजन सकिएको थियो। लगातार दुई सिजनमा च्याम्पियन बन्न सफल भयो मछिन्द्र क्लब।

लगत्तै नेपाल सुपर लिग आयोजना गराउने तयारी थियो। तर, ‘ए’ डिभिजन क्लबहरु खुलेर विरोधमा लागेपछि सुपर लिग हुन सकेन।

त्यसको केही महिनामा एन्फाको नेतृत्व फेरियो। जसले फेरि सुपरलिग आयोजना गराउन सम्झौता गर्‍यो, १७ करोड २१ लाखमा।

‘ए’ डिभिजन लिगको सन्दर्भमा एन्फा र लिग क्लबहरुबिच डबल राउण्ड लिग प्रणालीमा पुस २६ गतेबाट सुरु गर्ने भन्ने तयारी थियो। तर, यसअघि नै एन्फाले तयारी खर्चबापत दिने रकम उपलब्ध नगराएको भन्दै ९ वटा क्लबले एन्फालाई पत्र लेख्दै लिग खेल्न नसकिने जानकारी दियो। बिहीवारको बैठकले निर्धारित मितिमा नहुने पक्का त गर्‍यो नै सामाजिक सञ्जालामा नेतृत्वहरुको दोषारोपण सुरु भएको छ।

एन्फा नेतृत्वले क्लबले खेल्न नचाहेको भनेर देखाउने र क्लबले एन्फाले आयोजना नगराएको भनेर देखाउँदै झारा टार्ने प्रबृति नयाँ होइन। यसको प्रत्यक्ष मारमा परेका छन् खेलाडीहरु।

अघिल्लो लिग सकिएयता दुई दर्जन बढी खेलाडी विदेश भासिइसकेका छन्। जसमा नेपाली जर्सी लगाएर खेलिरहेका युवा खेलाडीको संख्या पनि त्यतिकै छ।

अर्कोतर्फ खेलाडीहरु एन्फा नेतृत्व र क्लबको रबैयालाई लिएर खुलेरै आलोचनामा उत्रिएका छन्। राष्ट्रिय टोलीका अञ्जन विष्ट, अनन्त तामाङ, विशाल राईलगायतका खेलाडीलले खुलेरै आलोचना गरिरहेका छन्।

खेलाडी संघले पनि एन्फाको ध्यानाकर्षण गराइरहेको तथा एन्फाले क्लबलाई र क्लबले एन्फालाई दोषारोपण गरिरहँदा लिग भने अन्योल बन्यो गएको छ।

अर्कोतर्फ केही क्लबहरुले भने खेलाडी अनुबन्धनमा तीव्रता दिएका छन्। नवप्रवेशी चर्च ब्वाइज र संकटा क्लब यसमा अघि देखिएका छन्।

क्रिकेटमा खस्किएको प्रदर्शन

विश्वकपको रोडम्यापका रुपमा रहेको क्रिकेट विश्वकप लिग २ मा नेपालले पछिल्ला ६ खेलमा जित निकाल्न सकेन। पछिल्लो पटक जुलाइमा स्कटल्याण्डलाई हराएयता लिग २ मा नेपालले जित निकालेको छैन। भलै, लिग २ भन्दाबाहेक कमजोर वरीयताको केन्यालाई हरायो।

घरेलु मैदानमा यूएईविरुद्ध सिरिज जित्यो। तर, यही हप्ता नामिबिया सिरिजमा जितविहिन बन्दै फर्किएको नेपाललाई टिमको अस्थिरताले गिजोलिरहेको छ।

नेपाली क्रिकेटमा अस्थिरताको कथा जोड्दै लैजाने हो भने लामो हुन्छ। २०७६ सालको असोज महिनामा दशक बढी नेपाली टोलीको नेतृत्व गरेका पारस खड्काले कप्तानी छाडेयता नै तीन जना कप्तान नेपालले पाइसकेको छ। अर्थात कप्तानका हिसाबले हरेक वर्ष नेपाली टोलीले एक नयाँ कप्तान पाउँदै आएको छ।

तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा परेपछि युवा खेलाडी रोहित पौडेलले कप्तानी सम्हालेको धेरै भएको छैन। लामिछाने कप्तानीमा आउनुअघि र आएपछि टिमभित्रको गुटबन्दी छरपष्ट भयो।

उनीपछि पौडेलको कप्तानीमा आन्तरिक विवाद समाधान हुने विश्वास लिइए पनि त्यस्तो भएन। अझ प्रशिक्षक र खेलाडीबिचका विवादहरु बाहिरिएका थिए।

सन् २०१४ को टी २० विश्वकप खेलेको नेपालले त्यसयता विश्वकपमा छनोट हुन सकेको छैन। एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग २ मा कमजोर प्रदर्शनसँग नेपालको एकदिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ। लिग २ को शीर्ष दुईमा पर्ने सम्भावना त सकिएको छ नै नेपालभन्दा एक स्थानमात्र अघि रहेको यूएई पनि ९ अंकले अगाडि छ।

शीर्षस्थानको स्कटल्याण्डले ४६ अंक जोड्दा ४४ अंक जोडेको ओमन दोस्रो, ३७ अंक जोडेको नामिबिया तेस्रो, ३५ अंक जोडेको अमेरिका चौथो, २७ अंक जोडेको यूएई पाँचौँ तथा १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीको ५ अंक छ।

विवादका बिच नेपाल टी २० लिग

पटक-पटक मिति सरेको नेपाल टी २० डिसेम्बर २४ बाट सुरु भएको छ। तर, पटक-पटक विवादमा तानिएको यो प्रतियोगिताले क्यानले दाबी गरेको जस्तो चर्चामा आउन भने सकेन।

टीयू क्रिकेट मैदानमा दर्शक नपुगेपछि टिकट शुल्क निःशुल्क बनाउनु पर्ने अवस्थामा आयोजक पुग्यो। अझ विदेशी खेलाडीको श्रम स्वीकृति, साझेदार संस्था सेभेनथ्री स्पोर्टससँग क्यानको सम्झौता लगायतको विषयले सदनदेखि अदालतसम्मै स्थान पायो। यो सम्झौता बारेको मुद्दा अझै अदालतमा विचाराधीन छ।

नेपाल टी २० लिग गर्ने नेपाल क्रिकेट संघले निर्णय गरेयता नै एभरेस्ट प्रिमियर लिगसँगको विवाद सुरु भएको थियो। क्यान र इपीएलको मुद्दा अहिले पनि अदालतमा छ।

क्यानले नेपाल टी २० लिगमात्र नेपालको लिग हुने र अरु लिगले क्षेत्रिय मान्यतामात्र पाउने स्पष्ट गरेपछि ‘इपीएल’का संस्थापक अमिर अख्तर क्यानविरुद्ध खुलेरै लागेका थिए।

अझ क्यानले ‘बिडिङ’ नगराएको, विवादास्पद भारतीय कम्पनी ल्याएर क्यानले आफ्नो क्षेत्राधिकार र कानुनबाहिरको काम गरेको भन्ने आरोप लगाएको छ।

यो विषयले अदालतदेखि संसदसम्म प्रवेश पाइसकेको छ। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले ‘चतुर बहादुरले चतुर्‍याइ गरेर क्रिकेटको बन्ध्याकरण’ गरेको भन्दै संसद्मा आवाज उठाएपछि क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ‘जनप्रतिनिधिले क्रिकेटमा दलाली गर्दै आएकालाई साथ दिनु नहुने’ भन्दै बचाउ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell