PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?



लक्ष्मी बलायर

के सन् २०२३ मा शाहरुख र सलमानले बचाउलान् बलिउडको साख, कस्तो रह्यो २०२२?

आज सन् २०२३ को पहिलो दिन। सन् २०२२ लाई फर्केर हेर्दा बलिउड फिल्मको लागि सम्झन लायक वर्ष बन्न सकेन।

कोरोना महामारीले भारतीय फिल्म उद्योग कठिन अवस्थाबाट गुज्रियो। सन् २०२२ को सुरुवातमा कोरोनाको ओमिक्रोन भेरियन्टले असर गरेतापछि फेब्रुअरीको अन्त्यबाट लगातार फिल्महरु रिलिज भए।

२५ फेब्रुअरीमा रिलिज भयो आलिया भट्टको मुख्य भूमिका रहेको ‘गंगुबाई काठियावाडी’। माफिया डन गगुंबाईको जीवनमा केन्द्रित यो फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाउनुका साथै आलियाको अभिनयको उचाई समेत बढाइदियो।

विश्वभर २०९ करोड भारतीय रुपैयाँ कलेक्सन गरेर यो फिल्म बक्सअफिसमा सफल नै ठहरियो। त्यसपछि बलिउड फिल्महरु ‘राधेश्याम’ र ‘बच्चन पाण्डे’  रिलिज भए। तर, यी फिल्मले लगानी समेत उठाउन सकेनन्।

तर, २५ मार्चदेखि रिलिज भएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले हलमा दर्शकको ओइरो लगाइदियो। रामचरण र जुनियर एनटीआर अभिनित यस फिल्मले उत्साहजनक व्यापार गर्न सफल भयो। ११ अर्ब भारु भन्दा बढीको व्यापार गरेको यो फिल्म अहिलेसम्मकै धेरै कमाउने भारतीय फिल्मको चौथो स्थानमा छ।

फिल्म ‘आरआरआर’ पछि यशराज अभिनित फिल्म ‘केजीएफ २’ ले बक्सअफिसमा तहल्का नै मच्चायो। ‘केजीएफ’को सिक्वेल ‘केजीएफ- च्याप्टर २’ ले विश्वभरबाट १२ अर्ब भारतीय रूपैयाँ कमाएको थियो। जुन यसवर्ष भारतकै सबैभन्दा धेरै पैसा कमाउने गर्ने फिल्म हो। साथै, अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने तेस्रो भारतीय फिल्म बनेको छ।

खासमा सन् २०२२ दक्षिण भारतीय उद्योगका लागि फलिफाप वर्ष नै सावित भयो। बक्सअफिसमा साउथका फिल्मले बलिउडलाई ठूलो चुनौती दिए। किनकी सन् २०२२ साउथ उद्योगले बलिउडभन्दा निकै हिट फिल्म दिए। जसमा ‘आरआरआर’ र ‘केजीएफ २’ देखि कान्तारा, ‘बिक्रम’, ‘पोन्नियिन सेलवान-आई’, ‘बिस्ट’, भलिमाई लगायतका फिल्महरु पर्छन्।

तर, सन् २०२२ बलिउड फिल्महरुको लागि भने दुःखद वर्ष सावित भयो। २०२२ को सुरुवातसँगै बलिउड फिल्मबाट भारतीय फिल्म उद्योग कोरोनाअघिकै स्तरमा पुग्ने आशा गरिएको थियो। किनकी सन् २०२२ मा चर्चित स्टारदेखि ठूला बजेटका बलिउड फिल्महरुको प्रदर्शन सूची लामै थियो। तर, बहुप्रतिक्षित र ठूला बजेटका बलिउड फिल्महरु बक्सअफिसमा असफल हुँदा उक्त अपेक्षा पूरा हुन सकेन।

किनकी सन् २०२२ मा आमिर खानको ‘लालसिंह चड्डा’, रणवीर कपुरको ‘शमशेरा’, ऋतिक रोशन-सैफअलीको ‘विक्रम वेधा’ अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘रक्षा बन्धन’ र कंगना रनौतको ‘धाकड’ लगायतका फिल्महरु बक्सअफिसमा फ्लप भए।

त्यसैगरि, यशराज ब्यानरको फिल्म ‘उचाई’ले पनि सोचेअनुसारको कमाई गर्न सकेन। सन् २०२२ को अन्तिमतिर रिलिज भएको रणवीर सिंह अभिनित बलिउड फिल्म ‘सर्कस’ पनि दर्शक नपाएर फ्लपको बाटोमा छ।

यो वर्ष रणवीरको लागि पनि खराब बन्यो। ‘सर्कस’देखि ‘जोएस भाई जोडदार’सम्मका उनका फिल्महरु बक्सअफिसमा नराम्ररी पछारिए।

यद्यपि, केही हिन्दी फिल्महरुले भने लगानी उठाउनुका साथै सफलताको स्वाद चाख्न पाए। जसमा ‘ब्रह्मास्त्र : पार्ट वान-शिवा’, ‘द कश्मीर फाइल्स’, ‘भूल भुलैया २’, ‘दृष्यम २’ र ‘गंगुबाई काठियावाडी’ लगायतका फिल्महरु पर्छन्।

रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ ले ४ अर्ब २९ करोड भारु कमाएको थियो। जुन सन् २०२२ कै सबैभन्दा बढी कलेक्सन गर्ने हिन्दी फिल्म हो।

एक वर्षमा सबैभन्दा फिल्म निर्माण गर्ने फिल्म उद्योग हो बलिउड। तर, पछिल्लो समय भने बलिउड उद्योग संकटको बाटोमा छ।

बलिउड फिल्मको कन्टेन्ट कमजोर हुनाले पनि बलिउड उद्योग धरापमा परिरहेको फिल्म विशेषकको बुझाइ छ। साथै, एमके ग्लोबलका अनुसार नातावाददेखि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप र बलिउड विरोधी सामाजिक सञ्जाल अभियानले पनि फिल्म उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ।

सन् २०२२ मा आमिर खानको ‘लालसिंह चड्ढा,’ अक्षय कुमारको ‘रक्षा बन्धन,’ ऋतिक रोशन–सैंफ अलीको ‘विक्रम वेधा,’ तापसी पन्नुको ‘दोबारा,’ रणवीर कपुरको ‘शमशेरा’ लाई बहिष्कार गर्ने अभियान नै चल्यो। यी फिल्महरु पछि बक्सअफिसमा कमजोर समेत भए। सन् २०२२ को बलिउड फिल्महरुको व्यापारको अवस्थाले बलिउड फिल्ममेकरमा पनि चुनौती थपेको छ।

सन् २०२३ को सुरुवातसँगै अहिले शाहरुख खान र दीपिका पादुकोण अभिनित ‘पठान’ चर्चामा छ। बहिष्कारको निशानामा परेको जनवरी २५ बाट रिलिज हुने यस फिल्मले बलिउडको भविस्य निर्धारण गर्नेछ। त्यसैगरि, सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ र ‘टाइगर ३’ पनि २०२३ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म हुन्। - एजेन्सीको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell