PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

जनकपुरविरुद्ध काठमाडौंलाई सानदार जित दिलाएका सुनम गौतम भन्छन् : मल्लले रन बनाउनुभन्दा टिमले जित्नु ठूलो कुरा हो



मुकुन्द घिमिरे

जनकपुरविरुद्ध काठमाडौंलाई सानदार जित दिलाएका सुनम गौतम भन्छन् : मल्लले रन बनाउनुभन्दा टिमले जित्नु ठूलो कुरा हो

काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई पराजित गर्‍यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंलाई ९० रनको फराकिलो जित दिलाउन महत्वपूर्ण भूमिका रह्यो सुनम गौतमको।

केही महिनाअघि काठमाडौँमा नवौ राष्ट्रिय खेलकुद हुँदा एनआरएनएको कप्तानी गरेका गौतम अस्ट्रेलियामा बस्दै आएका खेलाडी हुन्। २०१२ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनी उतैका प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका छन्।

सेप्टेम्बर महिनामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा वर्षाले सबैभन्दा बढी बाधा गरेको खेल थियो क्रिकेट। यसैका कारण गौतमले खुलेर प्रदर्शन गर्ने अवसर पाएनन्। यसपाला नेपाल टी-२० मा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जुटेका छन्। यसपाला मौसम ठीक छ, खेल जमेको छ। त्यसैले त आइतवारको खेलमा ४७ बलमा ४ चौका र ४ छक्काको सहायतामा सर्वाधिक ६२ रन बनाउँदै काठमाडौं १८० रनको विशाल स्कोर खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे उनले। जारी प्रतियोगितामा ११६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १३ औं स्थानमा छन् गौतम।

'सुरुमा कन्डिसन अलि गाह्रै थियो। ब्याट्सम्यानहरु विकेटमा सेट हुन जरुरी थियो। तीन विकेटपछि अलि समय लिएर खेले राम्रो हुन्छ भनेर खेल्यो र यो आइडियाले काम पनि गर्‍यो,' जनकपुरविरुद्धको खेलबारे गौतमले भने, 'सबैजना पोजेटिभ छन्। रन हान्न सजिलो छैन। चिन्ता गर्नुपर्ने विषय केही छैन। टी २० मा एकदुई जनाले हान्यो भने पुग्यो।'

हरेकजसो खेलपछि आफूलाई सकारात्मक म्यासेजहरु आइरहेको उनले सुनाए। आजको खेलमा अलिकति समय दिएर खेल्ने योजना पहिल्यैबाट रहेको उनले बताए।

'पछिल्लोपटक राम्रो गरेका थियौं। त्यतिबेला (नवौँ राष्ट्रिय खेलकुदमा) पानीले गरेर जित्न सकेनौं। यो प्रतियोगिताले मलाई के गरौं भन्ने छ। वर्कआउट गरिरहेका छौं,' शीर्षक्रममा ब्याटिङ गर्दाको दबाबबारे चर्चा गर्दै उनले भने, 'म भन्दा पछाडि रायन, अजमतुल्ला जस्ता खेलाडी छन्। माथि केही भइहाल्यो, डट-बल बढी भयो भने पनि धेरै फरक पर्दैन। उनीहरुले कभर गर्न सक्छ। त्यसैले टपअर्डर ब्याट्सम्यानलाई दबाब छैन।'

उनको टोली काठमाडौं नाइट्सका कप्तान हुन् नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल। उनको लय भने जारी प्रयोगितामा जमिरहेको छैन। पछिल्ला ५ खेलमध्ये ३ वटामा डक-आउट भएका मल्लले एउटा खेलमा १ र एउटामा १३ रन जोडेका छन्।

टिमको लिडर खराब फर्मबाट गुज्रिरहँदा टिममा कस्तो प्रभाव परेको होला? गौतम जवाफ दिन्छन् : उसले बढी रन या कम रन बनाउनु भन्दा पनि ठूलो कुरा टिमले जित्नु हो।

'ज्ञानेन्द्र मल्ल धेरै अनुभवी खेलाडी हुन्। उसलाई थाह छ उसले के गरिरहेको छ। उसले जहिल्यै जुनियरहरुलाई मोटिभेट गर्छ। र, टिमले जितिरहेको छ। यो ठीकै भइरहेको छ,' उनले भने, 'हामीलाई केही समस्या छैन। रन भनेको आज लाग्छ भोलि लाग्दैन। यो क्रिकेटको एउटा पार्ट हो। उसले कडा मेहेनत गरिरहेको छ, त्यसले अर्थ राख्छ।'

काठमाडौंको जित

नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुरमाथि ९० रनको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो।

सुरुवाती ब्याटिङ गरेको काठमाडौंका लागि सुनम गौतमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६२ रन बनाउँदा रायर बर्ल ६१ रनमा अविजित रहे। त्यस्तै एलेक्स ब्लेकले २० रन बनाउँदा अजमतुल्लाह ओमरजाइले १० रन बनाए।

बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिँदा शरफुद्दिन अस्रफ र ट्रेभोन ग्रिफ्फितले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरका शीर्षक्रमका ब्याट्सम्यानले रन बनाउन संघर्ष गरे। कप्तान तथा ओनर ट्रेभोग्रफ्लित र चाडविक वाल्टन डकआउट हुँदा ओपनर खड्ग बोहोरा १० रनमा पभेलियन फर्किए। त्यसपछि पनि मध्यक्रमका ब्याट्सम्यानले रन जोड्न संघर्ष गरे। शारफुद्धिन् असरफले सर्वाधिक ३७ रन बनाउँदै जनकपुरलाई सम्मानजन स्कोरतर्फ डोहोर्‍याउँदा सोमपाल कामीले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ काठमाडौंका अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा अजमतुल्लाह ओमरजाइले २ तथा कमलसिंह ऐरी, अनिल खरेल र बसीर हमिदले समान १ विकेट लिए।

अंकतालिका

अंकतालिकामा काठमाडौं ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। शीर्षस्थानमा १० अंक जोडेको लुम्बिनी अलस्टार रहँदा दोस्रो स्थानमा ८ अंक जोडेको जनकपुर रोयल्स छ।

त्यस्तै चौथो र पाँचौँ स्थानमा समान ४ अंक जोडेका विराटनग र पोखरा रहँदा २ अंक जोडेको फारवेस्ट युनाइटेड तालिकाको पुछारमा छ।

'प्वाइन्ट टेबलमा सकेसम्म माथिभन्दा माथिजाने योजनामा छौं। एउटा दुईवटा म्याचबाहेक अरुमा टिम राम्रो छ। वान गेम एट अ टाइट सोचेर अघि बढी रहेको छौं,' गौतमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell