PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, निराश बने पर्यटन व्यवसायी



रमेश पराजुली

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, निराश बने पर्यटन व्यवसायी

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै अन्तर्राष्ट्रिय उडान र अवतरण रोकीएका छन्।  चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।

यात्रु नभएपछि हप्तामा तीन दिन उडान गर्दै आएको जजिराले हुस्सुलाई कारण देखाउँदै उडान रोकेको छ। त्यस्तै, हिमालयन एयरलायन्सले गत कात्तिक १७ गते बाट सुरु गरेको चार्टर्र उडान पनि अहिले रोकिएको छ। भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिबिलिटी दुई सय मिटर हाराहारीमा पुग्छ। घाम लागेको बेला आन्तरिक उडान भएपनि घाम नलागेको समयमा उडान नै नहुने अवस्था छ।

गौतमबुद्ध विमानस्थलमा आवश्यक उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) जडान भएपनि कार्यान्वयन नहुँदा विमानस्थल प्रभावित बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दाहालले जानकारी दिए। उनका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन्। जजिराले डिसेम्बरसम्म उडान स्थगित गर्ने जानकारी दिए पनि मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने उनले बताए। मौसमकै कारण आन्तरिक उडान पनि नियमित हुन नसकेको उनको भनाई छ।

आइएलएस एक सटिक रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। अरु बेला १ हजार ५ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा आइएलएसको सहयोगमा ८ सय मिटरसम्मको भिजिबिलिटीमा हवाइजहाज अवतरण गराउन सकिने विमानस्थलका प्रमुख दाहाल बताउँछन्। गौतमबुद्ध विमानस्थल क्याट–२ को लागि पनि तयार गर्न सक्ने गरी लगानी गरिएको छ। पछि क्याट–२ मा लैजान सहज होस् भन्ने उद्देश्यले सोसम्बन्धी केही उपकरण तथा बत्तीहरु अहिले नै जडान गरिसकिएको छ। आइएलएस प्रणाली कार्यान्वयन गर्दा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकोले भारतको स्विकृति आवश्यक पर्ने विमानस्थलका महाप्रबन्धक दाहालको भनाइ छ।

विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्रले पनि यस क्षेत्रमा उल्लेख्य लगानी गरेका छन्। तर, पूर्ण रुपमा विमानस्थल सञ्चालनमा नआउदा यहाँका निजी क्षेत्रलाई चिन्ता थपिएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानले अन्तर्राष्ट्रियस्तरको प्रविधिहरु हुँदा पनि विमानस्थल नियमित सञ्चालन हुन नसक्नु सबैका लागि दुःखद भएको बताए।

‘उपलब्ध सुविधा प्रयोग गर्न नसक्दा अहिले विमानस्थल बन्द रहेको छ। केही प्राविधिक कारणले यति धेरै लगानी भइसकेको प्रविधिलाई रोक्नु हुँदैन,’ उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने पर्यटकको संख्या बढ्नेमा पर्यटन व्यवसायी विश्वस्त थिए। तर, छोटो समयमै उडान रोकीएपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ। लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्। पर्यटक आउने मुख्य सिजनमै हवाई उडान अवरुद्ध हुँदा पर्यटन व्यवसायी निराश छन्।

हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट संघ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तले बताइन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकलाई लक्षित गरी यहाँ थुप्रै तारे होटलहरुमा लगानी गरिएको भएपनि यसको नियमित सञ्चालन अनिश्चित बन्दा व्यवसायीहरुमा लगानी डुब्ने चिन्ता थपिएको सिद्धार्थ होटल एशोसियनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गुनासो गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटर लामो रनवे छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको हो। आठ सय बिघा क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण सम्पन्न भएसँगै ०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

यहाँबाट जेठ २ देखि हालसम्म १५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। यो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थलमा अवतरण गरेका छन् भने १८ हजार २५ जनाले यहाँबाट उडान सेवा लिएका छन्।

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell