PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

'आम्दानी अठन्नी, खर्च रुपैयाँ' : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिएको ऋण तिर्न छैन सजिलो



पहिलोपोस्ट

'आम्दानी अठन्नी, खर्च रुपैयाँ' : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लिएको ऋण तिर्न छैन सजिलो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे। तामझामका साथ गरिएको उद्घाटनसँगै विमानस्थल संचालनमा आउनु सुखद पक्ष हो। तर, यससँगै विमानस्थल निर्माणका लागि लिइएको ऋणको चर्को ब्याजमा घेरिसकेको छ।

विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण नेपालले लिएको थियो। एक्जिम बैंकले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो।

सात वर्ष अघि लिएको ऋणको किस्ता यही वर्षको चैतदेखि बुझाउनुपर्नेछ। ब्याज पनि अरु दातृ निकायजस्तो सस्तो होइन, दुई प्रतिशत महँगो ब्याज चिनियाँ बैंकलाई बुझाउनुपर्छ। नेपालले वार्षिक ३३ करोड रुपैयाँ एक्जिम बैंकलाई ब्याज वापत मात्रै बुझाउनुपर्छ। २० वर्षमा यो ऋण चुक्ता गर्नुपर्ने शर्त छ।

अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋण एक प्रतिशत भन्दा पनि कम हुन्छ। महँगो ब्याज तिरेर निर्माण गरिएको यो विमानस्थलको प्रतिफल आउँला? यो विमानस्थल निर्माणका लागि लिइएको ऋणको ब्याज तिर्न तत्कालै सम्भव छैन।

कुनै पनि परियोजना निर्माण गर्नु अघि त्यसको प्रतिफललाई हेरिने गरिन्छ। तर यो विमानस्थल निर्माण गर्दा प्रतिफल होइन भावनामा आधारित भएर गरिएको तात्कालिन अर्थमन्त्रालयका एक अधिकारीले बताएका थिए।

पूर्वाधारको औचित्यता हेरेर मात्रै ऋण लिने प्रणाली नहुँदाको परिणाम भएको ती अधिकारी बताउँछन्। २२ अर्ब लगानीमा निर्माण भएको यो विमानस्थलमा मझौला र साना विमानले मात्रै उडान गर्न सक्छन्।

ठूला जहाज बस्न नसक्ने यो विमानस्थलमा मझौला र साना विमानले मात्रै अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुन कठिन देखिन्छ। पोखरा विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘क्याटगोरी २’ भनेर राखेको छ। जहाँ जहाजलाई अवतरण गर्न न्यूनतम ३ हजार ८ सय मिटर र उडानका लागि १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। यो विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सो सरहका जहाजले उडान गर्न सक्छन्।

त्यो मात्रै होइन जग्गाको मुआब्जासहित २५ अर्ब भन्दा बढी लगानीमा ६ महिना अघि संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्रै कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। त्यो पनि नियमित सेड्युलमा छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बाध्यकारी व्यवस्था कार्यान्वयनमा ल्याउन खोज्दा पनि त्यहाँ अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चर्को 'एयर कन्जेसन' हुँदा पनि कुनै पनि विदेशी कम्पनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जान तयार छैनन्। यस्तो प्रतिकुल अवस्थामा पोखरा विमानस्थलमा विदेशी कम्पनीले उडान गर्छन् भन्ने विश्वास गर्न नसकिने प्राधिकरणका एक कर्मचारी बताउँछन्।

उनका अनुसार पोखरामा तत्कालै विदेशी कम्पनीले उडान गर्ने देखिँदैन। 'हाम्रै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीले भारत उडान गर्ने भनेका छन्। त्यो पनि पोखराको ट्राफिक हेरेर सेवा दिने हो,' ती कर्मचारीले भने, 'यहाँबाट अन्तर्राष्ट्रिय उडान हुने तत्काल सम्भावना छैन। कसैले चार्टर गरेर आउने बेग्लै कुरा हो।'

यो सबै परिस्थिती हेर्दा पोखरा विमानस्थलको प्रतिफलबाट ऋण तिर्न सकिँदैन। ती कर्मचारीका अनुसार विमानस्थल संचालनका लागि अन्तर्राष्ट्रिय कम्पनीलाई ग्लोबल टेण्डर गरेर चलाउन दिनु हितकर हुन्छ। त्यसरी विदेशी कम्पनीलाई दिँदा पनि ऋण तिर्न सकिने अवस्था रहँदैन। तर उनीहरुले ऋणको केही तिर्नसक्ने आम्दानी भने गर्न सक्ने सम्भावना रहने उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell