PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?



पहिलोपोस्ट

बलिउड फिल्म ‘एनिमल’ किन छाडे विपिनले?

काठमाडौं : अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन्। ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको कार्कीले जनाए।

अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको कार्कीले सुनाए।

‘उहाँहरुले ५ दिनभित्र मुम्बई आउनु भन्नुभएको थियो। तर म अहिले फिल्मको सुटिङमा व्यस्त छु। म सेट छोड्न चाहन्नँ किनकी पहिले पनि मेरो कारण फिल्मको सुटिङ रोकिएको थियो,' विपिन भन्छन्, 'प्रसादलाई अगाडि बढाउनुपर्छ भनेर मैले काम नगर्ने निर्णय गरेको हुँ। नेपाली फिल्मलाई माया गर्नु कलाकारको दायित्व पनि हो।’ 

सहमतिमै फिल्म नगर्ने निधो गरेको उनको भनाई छ। ‘उहाँलाई मैले २५ दिन कुर्न भनेको थिए। तर उहाँहरुले निर्धारित समयमै सुटिङ सक्नुपर्ने भएकाले नपर्खिने बताउनुभयो। जसकारण सहमतिमै फिल्म नगर्ने निधो गरेका हौ। बरु उहाँको अर्को फिल्ममा भविष्यमा काम गर्न सकिने कुरा भएको छ।’

गत महिना पनि एनिमलको सुटिङका लागि मुम्बई पुगेका विपिन सुटिङ नगरी नेपाल फर्किएका थिए। सुरुमा फिल्मको सुटिङ गत अगष्टमै सकिने भनेपनि आफूले छ पटक काठमाडौं–मुम्बई आउजाउ गर्नुपरेको उनले सुनाए। सबै स्टारहरु भएको सिन भएकाले पनि समय नमिलेको उनी सुनाउँछन्।

सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको फिल्ममा रणवीर कपुर, अनिल कपुर, बबी देओल, तृप्ती डिमरी र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell