
काठमाडौं : एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका-४ गुलरिया सीमा ईलाकाबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षीय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले लोड अवस्थामा राखिएको पेस्तोल र ७ राउन्ड गोलीसहित सोमवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आरएफआईको एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होस्टाईलभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको उनले बताए।
साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेट समेत बरामद भएको छ। पक्राउ परेका उनलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाइएको छ।
यसअघि, सोही जिल्लाको महागढी नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षीय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएका थियो।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पाठएकोमा बाटोमा नै मृत्यु भएको थियो। उक्त घटनापछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा जाँचलाई कडाइ गर्दै आएको छ।