PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्ड सरकारबारे एकीकृत समाजवादी : 'धोकेबाज'लाई समर्थन गर्न नहुने झलनाथको भनाई, माधव नेपाल भने अप्ठेरोमा



पहिलोपोस्ट

प्रचण्ड सरकारबारे एकीकृत समाजवादी : 'धोकेबाज'लाई समर्थन गर्न नहुने झलनाथको भनाई, माधव नेपाल भने अप्ठेरोमा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केही दिन यता आन्तरिक छलफलमा छ। छलफलका मुख्य विषय हुन् - नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने? एमालेसँगको पार्टी एकता के गर्ने? यस्ता विभिन्न पाँच प्रश्नमाथि एकीकृत समाजवादीका नेताले अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिइरहेका छन्। 

शुक्रवार भर्चुअल माध्यमबाट जिल्ला अध्यक्षको सुझाव सुनेका नेपालले दुई दिन शनिवार र आइतवार स्थायी कमिटीका नेताहरुको धारणा सुने। आज सोमवार भने पोलिटब्युरो सदस्यले सरकारलाई समर्थन गर्ने/नगर्ने तथा पार्टी एकताबारे नेपाललाई सुझाव दिइरहेका छन्। एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले बैठकमा नेताहरुले धारणा राखिरहेको जानकारी दिए। स्थायी कमिटीको बैठकमा नेताहरुले विभिन्न धारणा राखेका छन्। 

सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरुले सरकारलाई समर्थन गर्न नहुने र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन्। नेता मुकुन्द न्यौपाने लगायतका नेताहरुले भने अहिलेको सरकार वामपन्थी नै भएकाले समर्थन गर्नुपर्ने बताइरहँदा दोस्रो तहका केही नेताहरुले पार्टी एकता तत्काल एमालेसँग नहुने धारणा राखेका छन्। एकीकृत समाजवादी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय पार्टी नबन्दा र माओवादी केन्द्रले एमालेसँग सहकार्य गर्दा अप्ठेरोमा छ।  

प्रचण्डले नेपाललाई भेटेरै सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावपछि नेपाल भने अप्ठेरोमा परेका छन्। नेपालले ठोस प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरेको एकीकृत समाजवादीका नेताहरु बताउँछन्। सरकारलाई समर्थन गर्नेबारेमा ठोस प्रस्ताव नआएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। नेपाललाई एमालेले राष्ट्रपति बनाउन छलफल चलाएको भन्ने चर्चाहरु झुटा भएको एकीकृत समाजवादीका नेताहरु बताउँछन्। 

आतवारको बैठकपछि उपममहासचिव जगन्नाथ खतिवडाले आफूलाई नेपाललाई एमालेले राष्ट्रपति बनाउँछ भन्ने विश्वास नभएको बताएका थिए। 'माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हावामा आयो हावामै गयो,' खतिवडाको भनाइ थियो। एकीकृत समाजवादीका केहि नेताहरुका अनुसार नेपाल लगायतका नेताहरु सरकारमा सहभागी हुन सकारात्मक छन् तर त्यसका लागि सरकारले कस्तो अफर गर्छ भन्ने कुरिरहेका छन्। जसलाई नेपालले ठोस प्रस्ताव भनिरहेका हुन्। 

एकीकृत समाजवादीसँग १० जना स्वतन्त्र सांसद छन्। तर एकीकृत समाजवादीले समानुपातिकमा १० प्रतिशत मत ल्याउन नसकेपछि राष्ट्रिय पार्टी हुन भने सकेन। प्रचण्डले एकीकृत समाजवादीको समेत समर्थन लिन खोजिरहेका छन्। अहिले उनलाई सात दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेपाल (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी १६६ जना तथा तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरण साह र अमेरशकुमार सिहंको समर्थन छ। प्रतिनिधि सभाको पुस २५ गतेको अधिवेशनमै विश्वासको मत लिने प्रचण्डले तयारी गरिरहेको सत्ता गठबन्धनका नेताहरुले बताइरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell