PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

देउखुरीमा लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, सभामुख र उपसभामुखको निर्वाचन कहिले?



पहिलोपोस्ट

देउखुरीमा लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, सभामुख र उपसभामुखको निर्वाचन कहिले?

बुटवल : लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको छ। दाङको राप्ती उपत्यका (देउखुरी)मा सोमबारदेखि पहिलो अधिवेशन सुरु भएको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो दिन दुई बैठक सम्पन्न भएका छन्। अधिवेशनको पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो।

शेचरनले प्रदेशसभाको पहिलो कार्यकालले लुम्बिनी प्रदेशमा सफलतापूर्वक धेरै काम गरेको बताए। उनले सरकारले राजधानी व्यवस्थापन गर्नेदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय उल्लेख गर्दै सरकारका कामको प्रशंसा गर्दै अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए।

सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ। बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरुले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेश सभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघसंस्थाले गरेको सहयोगको चर्चा गरे। उनले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै भुल्न नहुने बताए।

बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए। माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गरे। प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकिकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाका तारा थापाले बोल्दै आगामी प्रदेशसभाको कार्यकालले प्रदेशसभाप्रतिको वितिष्णा अन्त्य गर्नेमा ध्यान पुग्नु पर्ने र कानुन निर्माणमा जोड दिनु पर्ने बताएका थिए।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुखको जिम्मेवारी सम्हाल्ने छन्। अधिवेशन सुरु भएपछि अब सभामुख र उपसभामुख चयनको लागि निर्वाचन हुनेछ। प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। प्रदेशसभाको अबको बैठक माघ ३ गते मंगलबार बस्ने जेष्ठ सदस्य भुसालले जानकारी दिए। त्यही दिन नै सभामुख र उपसभामुखको निर्वाचन प्रकृया सुरु हुने उनले बताए। राजनीतिक दलबिच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन्। प्रदेशसभामा नेकपा एमाले २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४, नागरिक उनमुक्ति पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ३, जनमत पार्टी ३, जनता समाजवादी पार्टी (जसपा) ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र ३ सांसद छन्। यसअघि २०७४ मा लुम्बिनी प्रदेशसभामा ५ दलको प्रतिनिधित्व रहेकामा यस पटक १० दलको सहभागिता रहेको छ। प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell