PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ठूलो भाग खोज्दा कांग्रेसले गोजीकै गुमायो : एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई, ‘अहिले हामी केही पनि गर्नेवाला छैन’



प्रकाश भण्डारी

ठूलो भाग खोज्दा कांग्रेसले गोजीकै गुमायो : एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई, ‘अहिले हामी केही पनि गर्नेवाला छैन’

काठमाडौं : पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता गठबन्धन बनेपछि नेकपा (एकीकृत समाजवादी) आन्तरिक छलफलमा छ। सरकारलाई समर्थन गर्ने कि नगर्ने? अब कसरी अगाडि लैजाने पार्टीलाई? यस्ता प्रश्नहरुलाई प्रष्ट पार्न चाहन्छ एकीकृत समाजवादी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेपछि पुरानो समीकरण भत्किएर नयाँ समीकरण बन्यो। बदलिएको राजनीतिबारे जिल्ला अध्यक्ष, स्थायी कमिटी हुँदै एकीकृत समाजवादीले पोलिटब्युरो सदस्यसँग छलफल गरिरहेको छ। एकीकृत समाजवादीले मंगलवारसम्म पोलिटब्युरो बैठकमा छलफल गर्दैछ।

अध्यक्ष माधवकुमार नेपालले नेता/कार्यकर्ताका सुझावहरु सुनिरहेका छन्। कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिएको एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा भने ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेन। एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबनेपछि पार्टीभित्रै अब एमाले, माओवादी, जनता समाजवादी पार्टी,नेपाल (जसपा)लगायतसँग एकता गरेर अघि बढ्नुपर्ने विचारहरु व्यक्त भइरहेका छन्। सरकारलाई समर्थन गर्ने र नगर्न दुवैथरी विचार एकीकृत समाजवादीका नेताहरुले बैठकमा राखिरहेका छन्। यसैबारे एकीकृत समाजवादीकी उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य जयन्ती राईलाई हामीले सोधेका छौं :

अहिलेको सरकारलाई एकीकृत समाजवादीले समर्थन गर्छ?

अहिले हामी केही पनि गर्नेवाला छैनौं। किनभने समर्थन गर्छौं भनेर हामी जाने कुरा त भएन नि। यहिलेसम्म त्यस्तो सत्तारुढ दलले भनेका पनि छैनन्। हामी उनीहरुको रणनीति कार्यक्रम कस्तो हुन्छ हेर्छौं। देश, जनताप्रतिको कस्तो हुन्छ सरकारको धारणा? हामी प्रतिको व्यवहार कस्तो हुन्छ? यो आधारमा हुन्छ समर्थन गर्ने नगर्ने कुरा। हतारमै जाने कुरा छैन।

माओवादीकेन्द्रसँग पार्टी एकताका लागि त निर्णय नै भएको थियो पहिला। अब के गर्नु हुन्छ?

अहिले त्यो त धेरै पर भइगो नि। त्यतिबेला वातावरणले पनि हामी नजिक नजिक थियौं। अब त हुदैँन।

एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने कुरा पनि आएका छन् तपाईँको पार्टीमा त?

गर्दै नगर्ने भन्ने कुरा त के हुन्छ र? तत्कालका लागि हुदैन। यतिबेला समय पनि भएको छैन। तयार पनि भएका छैनन्। उनीहरु पनि तयार छैनन। हामी पनि आफ्नो नीति कार्यक्रम विचार मिल्यो भने त जो सँग पनि मिलेरै जाने हो। तत्काल भन्ने वित्तिकै एकता हुदैन।

जसपासँग पनि एकताका लागि पहल भएको थियो नि?

छलफल त सबैसँग भइराखेकै छ। अहिले हामी एकदमै बैठकमा केन्द्रित भइरहेका छौ। त्यसैले डिसिजन गर्छ, के गर्ने भन्ने कुरा।

चुनावी समीक्षा पनि गर्नुभयो होला। के कति कारणले पराजित भइयो चुनावमा?

त्यसमा त अलिकति हाम्रो पनि कमजोरी छ। भोट पनि माग्दै मागेनन् समानुपातिककाले। १०/१५ हजार मत पुर्‍याउनु सानो कुरा पनि थिएन। गठबन्धनमा पनि अप्ठेरो स्थिति थियो। आफ्नै ढंगले पनि जान सकिन्थ्यो त्यसमा ख्याल गरिएन कि। यस्तो स्थिति आउँछ भन्ने कुरा कसैले आँकलन नै गरेन नि।

नयाँ गठबन्धन गर्नेबारे प्रचण्डले नेपाललाई थाहै नदिनुभएको हो र? कि थाहा पाएर पनि चुपचाप बस्नुभएको हो?

अध्यक्ष बिरामी हुनुभयो। त्यसबिचमा प्रचण्डसँग भेटघाट कुराकानी हुन पाएन। नयाँ गठबन्धन गरौं भन्ने प्रस्ताव पनि गर्नु भएको होइन। जान्छु भनेर जानुभयो एक्कासी। सरसल्लाह नगरी जोडिहाल्नु भएको त हो नि। तर किन? कसरी? भन्ने कुरा भएको थिएन। हाम्रो सरसल्लाह भएर भएको होइन। यसमा त कांग्रेसले पनि जान्नुपर्थ्यो। उनीहरु पनि हाम्रै भर्‍याङ बनाएर माथि चढेका हुन्। ठुलो भाग खोज्दाखेरी आफ्नै गोजीको पनि गुमायो।

पछिल्लो राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले के भन्नुभयो त पार्टीका नेता/कार्यकर्तालाई?

त्यसबारेमा त क्लियर नै छ नि। हामी तत्काल हामी सरकारमा जादैँनौं। पार्टी निर्माण गर्छौं। त्यसपछि परिस्थिति बन्यो। उहाँहरुलाई पनि आवश्यकता पर्‍यो भने। र मुलुकमा वाम एकता आवश्यक भयो भन्ने ठान्नुभयो भने हामी त बोलेकै छौं हाम्रा दस्तावेजमा लेखेकै छौं। त्यतिबेला हामीलाई कुनै आपत्ति हुने छैन। एउटा पार्टी अर्कोमा लिने त होइन नि त। त्यसमा त विचार/भावनाहरु मिल्नुपर्‍यो। सबैकुरा मिल्नुपर्‍यो। एकातिर एउटा र अर्कोतिर अर्कैकुरा गरेर त हुदैँन। फेरि भोलिपल्टै फुटेर आउनुपर्ने स्थिति हुन्छ।                                                                          



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell