PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

छिङ काङको विदेश मन्त्रालयमा इन्ट्रीसँगै चर्चामा 'उल्फ वारियर डिप्लोमेसी'



विधुर ढकाल

छिङ काङको विदेश मन्त्रालयमा इन्ट्रीसँगै चर्चामा 'उल्फ वारियर डिप्लोमेसी'
Photo: https://news.cgtn.com/

सांघाई: बेइजिङले नयाँ विदेश मन्त्रीको रुपमा अमेरिकाका लागि चिनियाँ राजदूत छिङ काङलाई अगाडि सारेको छ। चिनियाँ जनकंग्रेसको स्ट्यान्डिङ कमिटीको बैठकले विदेश मन्त्री वाङ यीको स्थानमा छिङलाई नयाँ विदेश मन्त्रीको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो। 

उनको नियुक्तिसँगै बेइजिङको 'उल्फ वारियर डिप्लोमेसी'को चर्चा सुरु हुन थालेको छ। 

५६ वर्षीय छिङले विदेश मन्त्रीमा वाङ यीलाई प्रतिस्थापन गरे पनि वाङ अझै पनि स्टेट काउन्सिलरको रुपमा रहने र उनले कूटनीतिकको इन्चार्जको रुपमा भूमिका खेल्ने चिनियाँ ब्रोडकास्टर सीसीटीभीले जनाएको छ। 

चिनियाँ राष्ट्रपति सि चिनफिङका विश्वासिला पात्रको रुपमा छिङलाई लिइन्छ। उनलाई चीनले अमेरिकासँगको सम्बन्ध जटिल अवस्थामा पुगेका बेला गत वर्ष वासिङटनमा राजदूतको रुपमा पठाएको थियो। 

गत अक्टोवरमा सम्पन्न सीपीसीको २०औं नेशलनल कंग्रेसबाट छिङ सीपीसीको केन्द्रीय कमिटी सदस्यमा बढुवा भएका थिए। त्यस्तै वाङ २४ सदस्यीय पोलिटव्यूरोमा बढुवा भएका थिए। ७४ वर्षे वाङले अब याङ जेइचीलाई प्रतिस्थापन गर्ने छन्। याङ जेइची राष्ट्रपति सिका प्रमुख कूटनीतिक सल्लाहकार हुन्। 

छिङ विदेश मन्त्रीमा बढुवा भएसँगै वाङ अब राष्ट्रपति सिका प्रमुख कूटनीतिक सल्लाहकारको भूमिकामा देखिनेछन्। छिङ चिनियाँ विदेश मन्त्रालयभित्र खरा कूटनीतिज्ञको रुपमा चिनिन्छन्। अमेरिकासँग सन् २०२१ मा कूटनीतिक तनाब चर्किँदै जाँदा २०२१ को जुलाईमा उनलाई राजदूतको रुपमा त्यहाँ पठाइएको थियो। 

वासिङटन पुगेसँगै छिङले सिनचियाङ र हङकङको मानव अधिकार मामिलामा चिनियाँ मत स्पष्ट रुपमा राखेका थिए। साथै उनले ताइवान मामिलामा चिनियाँ चासोलाई स्पष्ट राख्दै अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको समयमा भ्रमण रोक्न सक्रिय थिए। 

उनी यसअघि चीनको विदेश मन्त्रालयका सहमन्त्री भइसकेका थिए। त्यस्तै छिङ चीनको विदेश मन्त्रालयको प्रवक्तामा दुई पटक जिम्मेवारी निर्वाह गरेका थिए। पहिलो २००५ देखि २०१० र २०११ देखि २०१५ सम्म। प्रवक्ताको पहिलो कार्यकाल 'लो प्रोफाइल' रहेका उनी बेइजिङमा सि चिनिफिङ प्रशासन आएपछि दोस्रो कार्यकालको अन्त्यतिर 'उल्फ वारियर'को रुपमा उदाएका थिए। 

युरोप र लण्डनमा समेत काम गरिसकेका छन्। 

यसैबीच नवनियुक्त विदेश मन्त्री छिङसँग अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा उनले संवादलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन्। 

बेइजिङबाट बढुवाको सन्देश पाएको अर्को दिन छिङले ट्वीट गर्दै ब्लिङ्कनसँग संवाद भएको र चीन अमेरिका सम्बन्धको सुधारका लागि नजिक रहेर काम गर्न चाहेको बताएका छन्। 'गुड वाई' भन्नका लागि विदेशमन्त्रीलाई टेलिफोन गरेको बताएका छन्। 

अमेरिकी विदेश मन्त्री ब्लिङ्कन छिट्टै बेइजिङको भ्रमण गर्ने तयारीमा छन्। सम्भवत् यही जनवरीमा नभए फ्रेब्रुअरीमा उनको भ्रमण हुने अनुमान गरिएको छ। नोभेम्वरमा बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सिको वार्ताका क्रममा ब्लिङ्कनको भ्रमणबाट सहमति भएको थियो।

उनको भ्रमणका लागि अमेरिकी विदेश मन्त्रालयको पूर्वी एसिया तथा प्यासिफिक मामिला हेर्ने उपमन्त्री रिक वाटर्स र चीन  र ताइवानका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक लाउरा रोजलवेर्गर निरन्तर चिनियाँ पक्षसँग सम्पर्कमा छन्।  

के हो बेइजिङको उल्फ वारियर डिप्लोमेसी?
छिङ काङको नियुक्तिसँगै चर्चामा बेइजिङको 'उल्फ वारियर डिप्लोमेसी' छ। कूटनीतिक वृत्तमा मौन रहने चीन विशेषगरी सि चिनफिङ प्रशासनमा खरो रुपमा जवाफ दिन थालेको छ। पश्चिमाहरु सि प्रशासन मातहत चिनियाँ कूटनीतिज्ञहरुले 'दबाबपूर्ण कूटनीति' अंगालेको बताउँदै आएका छन्। 

सन् २०२० को डिसेम्वरमा बेइजिङस्थित पश्चिमा मुलुकका कूटनीतिज्ञहरुले 'से नोट टु चाइनाज उल्फ वारियर डिप्लोमेसी' भन्न थालेका थिए। युरोपीयन युनियनकी राजदूत कोकोलास चापुइसले अमेरिकीसहित पश्चिमा देशका राजदूतहरुलाई चीनको उल्फ वारियर डिप्लोमेसीलाई 'नो' भन्नुपर्ने भन्दै आह्वान गरेकी थिइन्। 

पश्चिमा सामाजिक सञ्जाल प्रयोग नगर्ने, बाहिर खासै अन्तर्वार्ता तथा विचार नदिने चिनियाँ कूटनीतिज्ञहरु एकाएक सि प्रशासनसँगै बाहिर सुनिन थाले। यसैलाई पश्चिमाहरु 'उल्फ वारियर' डिप्लोमेसीको संज्ञा दिन थालेका हुन्। 

सि को पहिलो कार्यकालको अन्त्य तिर यसको सुरुवात भएको मानिन्छ। तर यसको व्यापक प्रयोग भने २०२० पछि हुन थालेको हो। कोभिड-१९ विरुद्ध चीन लडिरहेको बेला पश्चिमाहरु कोभिड-१९ लाई लिएर चीन विरुद्ध अभिव्यक्ति दिइरहेका थिए। एकाएक त्यसको प्रतिकारमा चिनियाँ कूटनीतिज्ञ पनि उभिन थाले। 

२०२० को सुरुवातमा विश्वभर रहेका चिनियाँ दूतावास र राजदूतको नाममा ट्वीटर अकाउन्ट खोलियो। त्यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता पनि ट्वीटरमा सक्रिय हुन थाले। उनीहरु सामाजिक सञ्जालमार्फत पश्चिमा आरोपको काउन्टर दिन थाले। 

२०२० को मेमा विदेशमन्त्री वाङले 'सुनियोजित अपमान'का विरुद्ध लाग्ने भन्दै कूटनीतिज्ञहरुलाई त्यसमा पूर्ण सहयोग गर्ने घोषणा गरे।  

त्यसपछि चिनियाँ कूटनीतिज्ञहरुको टोनमा परिवर्तन आउन थाल्यो। 

कहाँबाट आयो यो शब्द? 
'उल्फ वारियर' २०१५ मा रिलिज भएको ब्लकबस्टर मुभी हो। यसले त्यतिबेला ७६ मिलियन डलर बक्स अपिस कलेक्सन गरेको थियो। यो फिल्ममा चीनको स्वार्थ रक्षाका लागि देश भित्र र बाहि सत्रुसँग लड्ने पात्रलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ। सन् २०१७ मा उल्फ वारियर २ रिलिज भयो यो फ्लिम चीनको त्यतिबेलाको धेरै कमाई गर्ने चिनियाँ फिल्म हो। यो फिल्मको कथा चिनियाँ जनमुक्ति सेनाको टुकडी वरिपरि घुमेको छ। यो टोली अफ्रिका पुगेर चिनियाँ सर्वसाधरणको ज्यान जोगाएको फिल्ममा देखाइएको छ। 'हजार माइल्स टाढा नै किन नहोस जसले चीनविरुद्ध लाग्छ त्यसले भोग्छ' भन्ने ट्यागलाइन नै राखिएको छ फिल्ममा।

यस फिल्मलाई कूटनीतिमा सन् २०१९ को मध्येतिरबाट जोड्न थालिएको हो। त्यतिबेला सन् २०१९ मा पाकिस्तानस्थित दूतवासका तत्कालीन कन्सुलर चाओ लिचियानले ट्वीटरमार्फत अमेरिकी सरकारविरुद्ध प्रतिक्रिया दिन थालेका थिए। 

त्यसको एक वर्षपछि उनी चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता बनेर बेइजिङ पुगे। त्यस्तै सन् २०२० को अन्त्यतिर झाओले एक ट्वीट गरे जसमा अष्ट्रेलियाली सेनाले गला काटिएका बच्चाको डिजिटल पमा बनाइएको तस्विर देखाइएको थियो। 

अष्ट्रेलियाका प्रधानमन्त्री चीनलाई सार्वजनिक रुपमा माफी माग्न चेतावनीसमेत दिएका थिए। 

त्यसको भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयले माफी माग्न अस्वीकार गर्‍यो।  यो घटनाले चीन-अष्ट्रेलिया सम्बन्धमासमेत असर पर्‍यो। 

त्यति मात्र नभएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता नेपालमा एमसीसी पारित हुने बेला अमेरिकाविरुद्ध वाकयुद्धमा नै उत्रिएका थिए। अमेरिकाले 'दबाबपूर्ण' कूटनीति अंगीकार गरेको भन्दै निन्दा गर्दै ट्वीट गर्नुका साथै सार्वजनिक रुपमा अभिव्यक्तिसमेत दिएका थिए। 

चिनियाँ विदेश मन्त्रालयमा अहिले यस्तै युवा तथा जुझारु कूटनीतिज्ञ जम्मा भएका छन्। चिनियाँ कुटनीतिमा उल्फ वारियर डिप्लोम्याट्को पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने छिङ विदेश मन्त्रीमा नियुक्त हुँदा उनको टिममा युवा 'उल्फ वारियर'को टिम छ। यो टिमले चीनको कूटनीतिलाई कसरी अगाडि बढाउने हो हेर्न भने बाँकी नै छ। -



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell