
काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत मंगलवारको खेलको टस हुन सकेको छैन। खेलाडीको पारिश्रमिकको विवादमा खेल रोकिएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले केही बेरमा जवाफ दिने बताइएको छ। क्यानको साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको बुझिएको छ। हाल खेलाडी र क्यानबिच छलफल चलिरहेको छ। प्रतियोगिता भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग क्यानले सम्झौता गरेयता नै विवादमा तानिएको थियो। केही टिमलाई छाडेर अधिकांश टोलीले खेलाडीलाई पारिश्रमिक नदिएको बुझिएको छ।
क्रिकेटमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिनाले फिक्सिङ भएको दाबी गरेका छन्। प्रतियोगितालाई नजिकबाट नियाल्दा फिक्सिङको झलकहरु देखिएको उनको भनाइ छ।
आफूले सम्बन्धित निकायमा यसबारे कुरमा पनि राखेको उनले बताए। जारी लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा आफ्नो कुनै पनि संलग्नता नरहने समेत तिमल्सिनाले घोषणा गरेका छन्।
खेलाडीहरु पनि सम्झौता अनुरुपको रकम नपाए मैदान नउत्रने अड्डी कसेर बसेका छन्। टीयू मैदानमा आजको माहोल फरक छ। टीयू क्रिकेट मैदानमा आयोजक सेभेन थ्री स्पोर्टसका जताततै देखिने कर्मचारी यहाँ छैनन्।
लिग २४ डिसेम्बरदेखि सुरु भएको थियो। आज विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबिच खेल हुनुपर्ने थियो।