PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

१९ किलो लेदो सुन बोकेर नेपाल आएका सुडानी युवाको बयान, ‘नेपालबाट सुन भारत लैजाने योजना थियो’



पहिलोपोस्ट

१९ किलो लेदो सुन बोकेर नेपाल आएका सुडानी युवाको बयान, ‘नेपालबाट सुन भारत लैजाने योजना थियो’

काठमाडौं : करिब १७ किलो सुनसहित विमानस्थलबाट पक्राउ परेका सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला सराफलदिनको बयान सुरु भएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दोभासे प्रयोग गरी बयान लिन सुरु गरेको हो।

भन्सारले विश्वभाषा क्याम्पसबाट दोभासे बोलाएको छ। सुडानको राहदानी बोकेका मोहम्मद अरेबिक भाषा मात्रै बोल्ने गरेका छन्। कार्यालयले अरबी भाषा जान्ने मान्छे बोलाएर बयान सुरु गरेको हो।

मोहम्मदसँग सोमवारदेखि बयान सुरु गरिएको कार्यालयका एक कर्मचारीले बताए। बयानमा मोहम्मदले सुन भारत लैजान ल्याएको बताएका छन्। तस्कर समूहले सुन ओसारपसार गर्नका लागि एक जना मात्रै नभएर फरक-फरक भरिया प्रयोग गर्ने गरेको पनि खुलाएका छन्।

बयानमा सहभागी एक कर्मचारीले भने, ‘मोहम्मद सामान्य नागरिक नभएर सुन तस्करीका लागि प्रयोग भएको देखिएको छ, तस्करी समूह बिसौं पटकमा फसेको बयानबाट बुझिएको छ।’

ती कर्मचारीका अनुसार सुन भारत लैजानका लागि ल्याइएको खुलेको छ। त्रिभुवन विमानस्थल भन्सार कटाए स्थलमार्ग हुँदै भारत लैजाने उद्देश्यसहित सुन ल्याइएको खुलेपछि मोहमद पहिले पनि कहिले कहिले नेपाल आएका रहेछन् भन्ने सूची खोजी भइरहेको छ।

नेपालबाट भारत जानका लागि खुला सिमानाका कारण सहज आवत/जावत गर्न सकिन्छ। यसैको आत्माबलमा पटक पटक नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्ने गरिन्छ।

नेपालबाट भारत सुन तस्कर गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि दर्जनौं पटक सुन ओसारपसार गर्नेहरु पक्राउ परेका छन्।

मोहम्मदले पुस ८ गते सेतो तरल पदार्थ बनाएर बेल्ट जसरी कम्मरमा बाँधेर सुन ल्याएका थिए। उनलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालय चेकजाँच गर्दा सुन बरामद भएपछि पक्राउ गरिएको हो।

उनी १५ दिनको टुरिष्ट भिसामार्फत नेपाल आएका थिए। उनी फ्लाइ दुबई (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए। शुक्रवार उक्त फ्लाइट करिब २:१५ मा ल्याण्ड भएको थियो। ‘वाक थ्रु’मार्फत फ्लाइटमा आउनेहरुको चेकजाँच हुने गर्छ। विमानस्थलमा खटिएका व्यक्तिलाई देखेपछि उनी डराएका थिए भने ‘वाक  थ्रु’मा साइरन समेत बजेको थियो।

त्यसपछि उनको थप चेकजाँच गर्ने क्रममा सुन ल्याएको भेटिएको हो। उनी कर्मचारी देख्दा डराएपछि शंका गरिको थियो। चेकजाँच गर्दा १ हजार ९ सय ग्रामका १० वटा प्याकेट बनाएर कम्मरमा बेल्ट जसरी बाँधेको भेटिएको थियो।

करिब १९ किलो लेदो सुन भएको राष्ट्र बैंकले पुष्टि गरेको छ। तर, सुनमा केकस्ता तरल पदार्थ मिसाइएको हो भन्ने प्रष्ट भइसकेको छैन। जाँचमा २ किलोभन्दा बढी जर्ती काटिएकाले सुनको वजन करिब १७ किलो हुन आउने राष्ट्र बैंक स्रोतले जनाएको छ। यसको रिपोर्ट राष्ट्र बैंकले मंगलवार मात्रै दिने भएको छ।

बयान सकिएपछि तस्कर समूहमाथि थप अनुसन्धान गरिनेछ। त्यसपछि मुद्दाको कारबाही अघि बड्ने छ।

पछिल्लो समय भन्सार कार्यालयले तस्करबाट ठूलो परिमाणको सुन बरामद गरेको हो। यो सुन नेपाली बजार भाउ अनुसार १७ किलो सुन १४ सय ५२ तोला हुन आउँछ। सोमवारको बजार भाउ अनुसार यसको मूल्य १४ करोड ७७ लाख ६९ हजार पर्न आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell