
काठमाडौं : हालै आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गरेका प्रभु शाहलाई रामवीर मानन्धरले साथ दिने भएका छन्। पूर्व राज्यमन्त्री मानन्धरलाई भेट्न साह मंगलवार उनको निवास माछापोखरीस्थित मानन्धर निवास पुगेका थिए।
भेटमा मानन्धरले आम जनता पार्टीमा संगठित रुपमा नै अगाडि बढ्ने वचन दिएको आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।
‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजीबीच भेटवार्ता भएको हो। उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो। त्यसकै निरन्तरता हो यो। उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ,’ यादवले भने।
२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए। काठमाडौ क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए।