
हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा निर्देशन दिएकै दिनमा मकवानपुरमा राहदानी विवरण कार्य स्थगित भएको छ। आज सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बस्नुपरेको समस्या समाधान गर्न निर्देशन दिएका थिए।
प्रचण्डले निर्देशन दिएकै दिन मकवानपुरमा राहदानी विवरण गर्ने कार्य स्थगित गरिएको हो। 'सिस्टम'मा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य स्थगित गरिएको जनाएको छ।
जारी सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विद्युतीय राहदानी प्रणाली सम्बन्धी मिति २०७९–०९–१९ गतेदेखि राहदानी विभागको अनलाईन सर्भरमा समस्या उत्पनन्न भएकोले अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा सेवाग्राहीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
मकवानपुर जिल्लामा दैनिक १५० जनाभन्दा बढीले राहदानीका लागि अनलाइनमार्फत आवदेन दिने गरेका छन्।