PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

प्रधानमन्त्रीले सेवा चुस्त गर्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्धको सूचना



पहिलोपोस्ट

प्रधानमन्त्रीले सेवा चुस्त गर्न निर्देशन दिएकै दिन पासपोर्ट वितरण अवरुद्धको सूचना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिए। जसमा राहदानी वितरणलाई चुस्त नबनाएकोप्रति कर्मचारीसँग असन्तुष्टि पोखे।

३० बुँदे निर्देशनको बुँदा १० र १६ मा राहदानीको विषय पनि सम्बोधन गरिएको छ। बुँदा १० मा भनिएको छ, ‘अहिले तपाइँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ।‘

बुँदा १६ मा प्रधानमन्त्री कडा रुपमा प्रस्तुत भएका छन्। ‘अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने "नो अब्जेक्सन सर्टिफिकेट", सरकारी अस्पतालमा विरामकोउपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ,’ प्रधानमन्त्रीको निर्देशनमा भनिएको छ, ‘म कसैलाई दण्डित गर्न चाहन्नँ। तर हामीसँग सीमित विकल्प छन्। त्यो भनेको नतिजा देखिने कार्यसम्पादन हो र नभएका जिम्मेवार पदाधिकारी दण्डको भागी हुने हो।‘

प्रधानमन्त्रीको निर्देशन आएको केही बेरमै राहदानी विभागले पासपोर्ट विभागको सिस्टममै समस्या देखिएको भन्दै सूचना जारी गर्‍यो। यतिमात्र हैन अर्को सूचना नआएसम्म पासपोर्ट लिन नआउन समेत सेवाग्राहीसँग आग्रह गर्‍यो। दुई दिनअघि बाट पासपोर्ट वितरणमा खराबी आएको भन्दै विभागले सूचना जारी गरेको हो।

सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ। यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले बताएकी छिन्।

राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ। नियमित रुपमा रहदानी आवेदनका लागि भने ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell