- बेदवहादुर खड्का
चितवनको राप्ती र नारायणी नदीमा घडियाल गोही पाइन्छ। दुवै नदीमा चितवन राष्ट्रिय निकुञ्जले नियमित रुपमा घडियाल अनुगमन गर्छ। २०७८ को पुसमा निकुञ्ज भित्रका दुवै नदीको करिब २०० किमी तटीय क्षेत्रमा घडियाल गोहीहरुको पूर्ववत अनुगमन गर्ने कार्य तय गरिएको थियो। नदीहरुमा घडियाल गोहीहरुको अनुगमन म निकुञ्ज सेवामा रहँदा गरेजस्तै गरी गोठाले शैलीमा गर्ने भन्ने थियो। डुङ्गाको प्रयोग गरी नदीमा देखिने घडियाल तथा मगर गोही, सोंस, कछुवा, जलपंक्षी र अन्य जलचरहरुको संख्या र तिनीहरुको गतिविधीवारे तथ्याङ्क संकलन गर्नुलाई गोठाले शैली मानिन्छ। अनुगमनको सिलसिलामाडुँगा चालक र अनुगमनकर्ता नदीको पानीको वहावसंगै डुङ्गावाट तलतिर सफर गर्ने र जहाँ रात पर्यो त्यही नदी बगर वा नजिकै किनारका गाँउमा बास बस्नु पर्दथ्यो।
२०७७ पुसदेखि निकुञ्जको सेवाबाट अवकाश पाईसकेको कारणले माथि उल्लेखित कार्य म एक्लैले गर्न सक्ने अवस्था थिएन। २० वर्षभन्दा बढी चितवन राष्टिय निकुञ्जको सेवामा कार्यरत रहँदा घडियाल गोहीसँग मेरो धेरै सामिप्यता रह्यो। त्यस बखत घडियाल गोहीको संरक्षण, अनुगमन तथा प्र्रजनन्मा मलाई राम्रै ज्ञान र सीप हासिल भयो। घडियाल गोहीको बृहत्तर हित र संरक्षणकालागि अवकाशपश्चातः पनि मलाई घडियाल प्रजनन् तथा अनुसन्धान केन्द्रमा ज्ञान र सीप हस्तान्तरण गर्ने जिम्मेवारी दिएर २०७८ मंसिरमा एक वर्षकालागि पुनः पठाईयो। यसको मूख्य उद्देश्य भनेको घडियाल गोही संरक्षणमा खटिने अधिकारीहरुलाई अनुगमन, उद्धार र पालन पोषणको ज्ञान र सीप हस्तान्तरण गर्नु थियो। उक्त उद्देश्य परिपूर्तीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुरोधमा म एक वर्षको लागि खटिएको थिएँ। घडियाल अनुगमन र ब्यवस्थापन कार्यमा मेरो वर्षौंको ज्ञानको अनुसरण गरी नारायणी र राप्ती नदीमा रहेका घडियाल अनुगमन कार्य र प्रजनन केन्द्रमा रहेका गोही तथा कछुवाहरुको ब्यवस्थापनलाई चुस्त राख्न प्रजनन केन्द्र व्यवस्थापनले खासै चासो राखेन। मेरो साथमा नदीहरुमा गएर घडयिाल गोहीको अनुगमन कार्य गर्न कोही पनि तयार भएको देखिएन। जिम्मेवार निकाय चितवन राष्टिय निकुञ्जले पनि उक्त कार्यकालागि कर्मचारीहरु खटाएन। अतः जाँतोलाई भन्दा हातालाई खसखस भने जस्तो महसुस भयो। यहाँ बिंडभन्दा पनि तावा तात्नु पर्ने थियो तर तावा नताते पनि बिँड तातेर एक पटकका लागि त केही गरिहालुं भन्ने मनसायले दुई जना डुङ्गा चालक लिएर अनुगमन कार्यका लागि हिंडे म।
नदीमा डुङ्गावाट गोहीको अनुगमन गर्दै नवौ दिनमा नेपाल भारत सिमाना स्थित त्रिवेणी पुग्यौं र समय केही बाँकी रहेकाले माथितिर फर्किने विचार गर्यौ। डुङ्गामा नदीको तलतिर जाँदा त सजिलै गएका थियौ त्यस दिन। नदीको माथितिर फँर्कदा त डुङ्गा माथितिर ठेल्दै–ठेल्दै ल्याउनु पर्ने भएकाले केही कठिन भयो। नदीको त्यस क्षेत्रमा दायाँ–वायाँ अनकण्टार जङ्गल पनि थियो। कठौना भन्ने स्थानमा आइपुग्दा घाम अस्तायो।साँझ परिसकेकोले बासको चाँजोपाजो मिलाउनु जरुरी भयो। अघिल्ला दिनहरुमा जस्तै त्यस दिन पनि बास बस्न नदी किनारको बगरमा रहेको जरा फिजारिएको रुख नजिकै सुख्खा वालुवा रहेको ठाँउ भेटियो। तर त्यस बगरको बालुवामाा बाघका ताजा पाइला छपक्कै भेटियो। रातभर मुढा जोतेर आगो बालेपछी बाघ आउदैन भन्ने विश्वासले यसअघि कैयौंपटक बाघको पाइला भएकै स्थानमा पनि रातमा बास बस्ने गरिन्थ्यो र बाघ आएको पनि कहिल्यै थाहा पाइएन।
त्यसदिन वनको बाघले नखाए पनि मनको बाघले खान्छ भन्ने मानसिकताले गाँज्यो र त्यहाँ बास बस्न मन लागेन। त्यसैको सामुन्ने नदीको विचमा बनेको चिसो ढुङ्गे बगरमा बास बस्यौं। ढुङ्गे बगरमुनि कलकल पानी बगेको सजिलै सुनिन्थ्यो र ठाउँ पनि चिसो थियो। त्यही बालुवामाथि कालो प्लाष्टिक टाँगेर आगो बालेर राती बास बस्यौ। ढुङ्गामाथि ढाड विझाए पनि थकानले होला एक निन्द्रा मज्जाले सुतियो। हामीले बासको लागि अस्विकार गरेको ठाँउमा राती बाघ करायो। अब घट्ना सम्झेर डर लाग्न थाल्यो, निभ्न लागेको आगोलाई ठासठुस पारेर आगो बालियो र त्यसपछि भने बाघ पनि कराउन छाड्यो। आगोको रापको आनन्द लिदै एक आपसमा कुरा गर्दै ओछ्यानमा पल्टियौ तर घट्ना सम्झेर निन्द्रा भने लागेन र तन्द्रामै एकैचोटी बिहान भएछ। म यस अगावै निकुञ्जमा कार्यरत रहँदा पनि घडियाल अनुगमनमा जाँदा संधै नदी बगरमै बास बसिन्थ्यो। रातभर मुढाको आगो बालेर बालुवमा सुत्ने गरिन्थ्यो। आगोको रापले तातेको सुख्खा बालुवामाथि सुत्दा निन्द्रा पनि मिठो आउँथ्यो सायद दिनभरको थकानले होला।बालुवामाथिको सुताईमा ढाडसमेत बिझाउँदैन थियो।
कठौनास्थित नारयाणी ढुङ्गे बगरको बास
निकुञ्जको जागिर आफ्नै कर्मचारी र अन्य सरोकारवाला सबैलाई चित्त बुझाउन सक्ने खालको हुँदैन। सबैको सजिलोमात्र हेर्ने हो भने निकुञ्जमा जैविक विविधता नै बाँकी रहँदैन। निकुञ्जमा निकुञ्जको कामदेखि खुशीभन्दा पनि बेखुसी हुने धेरै हुन्छन्। म दिनरात, झरी नभनी २० औं वर्षसम्म नदीमा रहेका घडिायालकोपछिलागें। निकुञ्जप्रति रुष्ट हुनेहरुबाट बच्न म पनि सरकारी पोशाकभन्दा पनि स्थानीय माझी भेषमा नदी बगरमा हुन्थे र कसैले पनि मलाई कर्मचारी भनेर सजिलै पहिचान गर्न सक्दैनथे।
२०७८ को गोठाले शैलीको घडियाल अनुगमनमा २३४ वटा घडियाल नदीमा फेला परेका थिए जसमा ५ वटा वयस्क भाले थिए। त्यो संख्या भनेको न्यूनतम संख्या हो किनभने बगरमा घाम तापेका घडियालमात्र अनुगमनमा देख्न र नोट गर्न सकिन्छ। नदीको पानीभित्र रहने घडियालको संख्या भने यस अनुगमनमा उल्लेख छैन। घडियाल अनुगमन गर्नु भनेको नदीको अनुगमन गर्नु र वरपर हुन सक्ने अवान्छित गतिविधिहरुमाथि निगरानीसमेत गर्नु हो। मैले विगतमा निकुञ्ज सेवामा रहंदा यस्तै शैली अपनाएर अनुगमन गर्ने गर्दथे र अनुगमनबाट आएका तथ्यांकहरुको विष्लेषण गरी निकै उपयोगी जानकारीहरु प्राप्त भएका छन्। ति अध्ययनका नतिजाहरु समेटिएका दर्जनौ लेखहरु अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशन भएका छन्।
सरकारीसेवाबाट अवकाश पश्चातको यो मेरो निकुञ्ज बसाईमा कर्मचारी वृत्त पहिलेजस्तै काम गर्नुपर्ने हो कि भनेर झस्केको भान भयो। घडियाल अनुगमन कार्यमा जान विभिन्न बहानाबाजी बनाएर कोही पनि सरिक भएको देखिएन। कार्यरत सरोकारवालाहरु सरकारी कर्मचारीले अनुगमनको कार्यक्षेत्र दायराभित्र नरहेको शैलीको अभिव्यक्ती दिएको देखियो। निकुञ्जमा अधिकृतहरुले पैदल गस्ती गर्ननै आवश्यक नठान्नु दुर्भाग््यको कुरा हो। पैदल गस्तीको अभावका कारण गैंडाहरुको कंकाल महिनौपछि मात्र भेटिएको पाइन्छ। पैदलै हिँडेर गस्ती गर्दा कर्मचारीहरुलाई धेरैनै सकसहुने त पक्कै हुन्छ। तर पनि पैदल गस्ती धेरै प्रभावकारी हुने हुँदा त्यसलाइ घनिभूत रुपमा संचालन गर्नु अपरिहार्य छ। हाम्रा अग्रजले संरक्षणमा गरेको दुःखमेहनतको जगले आज हामी विश्वसामु चिनिन पुगेका छौ ।बाउले जोगाएको हुर्मत जोगाउने जिम्मेवारी स्वत छोराछोरीको हुने गर्दछ। अग्रजहरुले समेत आफ्नो शासनकालमा वन, वन्यजन्तु र खोलानाला, नदीहरुमाथि न्यायोचित ब्यवहार नगरेका भए विश्वसामु जैविक विविधता कायम हुन सक्ने अवश्य थिएन। उनीहरुले पनि भेडा गोठालाको जस्तै नदीका घडियाललगायत अन्य जलचर एवं जलपंक्षीहरुको अवस्था चुस्तदुरुस्त राख्न धेरै विचार पुर्याउने गरेको देखिन्छ।
अनुगमनको क्रममा खिचिएको जलपंक्षीको फोटो
जाँतालाई भन्दा हातालाई मात्र खसखस भएको जस्तो महसुस भएपछि काम गर्ने उपयूक्त वातावरण देखिएन। अतः मलाई दिइएको जिम्मेवारी अधुरैछाडि घर फर्किन बाध्य भएँ। घडियाल अनुगमन र ब्यवस्थापनको मेरो लामो अनुभव हस्तान्तरण गर्ने मेरो अभलिाषा अधुरै रह्यो। घडियाल संरक्षणमा पहिले हामीले जस्तो सामान्य सरकारी सुवधिामा काम नगरे पनि थप सुवधिाको ब्यवस्था गरेर त्याग, तपश्या र निष्ठा कायम गरी अनुगमन, ब्यवस्थापन र अन्य कार्यहरु निरन्तर राख्न आवश्यक देख्दछु। नत्र भने घडियालको भविष्य अन्धकारमय हुने निश्चित छ।
घडियाल ब्यवस्थापन र अनुगमनमा अभिरुचि घटनुको कारण पनि खोज्न आवश्यक छ कि जस्तो पनि लागेको छ। कुनै भेडा गोठालालाई उस्को भेडागोठमा के कति माऊ, बच्चार ब्याठ भेडाको संख्या र अवस्था थाहा भए जस्तै निकुञ्जका कुन नदीको कुन कुन ठाँउमा र कहाँ कहाँ घडियाल छन र तिनको अवस्था के छ भनेर जानकारी राख्न अत्यन्त आवश्यक छ।
घडियाल प्रजनन् केन्द्रवाट नदीमा शालिन्दा घडियाल छोड्ने गरिन्छ। तिनीहरुको वितरण अवस्थाको बारेमा हामी किन अनभिज्ञ छौ?यस भन्दाअघि घडियाललगायत नदीमा रहने सबैखाले जलचरको अवस्था चुस्त–दुरुस्त रेकर्ड गरिन्थ्यो। नदीमा गए पो यी सब कुरा थाहा लाग्दछ। थाहै नभए जलचरको अल्पकालिन र दीर्घकालिन संरक्षणका रणनीतिहरु कसरी तय गर्न सकिएला र?
संरक्षणको गुरुमन्त्र हामीले बिर्सदै गएको मलाई महसुस भैरहेको छ। चुस्तदुरस्त र नियमित अनुगमन नभएकै कारण खोरमा पालेका घडियाल र अर्नासमेत हामीले गुमाउनु परेको देखेको छु। मुखमा बेरिएको जाल लिएर हिँडेको घडियाल देख्दासमेत जालमुक्त गर्न पहलको सट्टा आँखा चिम्लेर हिंडेको सुन्नु परको छ। तर संरक्षणका सैद्धान्तिक कुराहरु गर्नभने हामीलाई वकिलले समेत जित्न सक्दैन। संरक्षणको वकालत गर्नु राम्रो पक्ष पनि होला तर हाम्रा संरक्षित क्षेत्रहरुमा हाम्रै निगरानीमा रहने वन्यजन्तुहरुको संख्या र अवस्था एक गोठालाले आफूले पालेका भेडाहरुको जीवनशैलीको बारेमा फरर भनेजस्तै भन्न नसक्ने भए कस्तो वन्यजन्तु विज्ञ भैयो त?
अन्तराष्ट्रिय ख्यातीप्राप्त वन्यजन्तु विज्ञसंग वैज्ञानिक ढङ्गबाट समेत संवाद गर्नु पर्यो भने हामी पछी हट्छौ। हामी कस्ता वन्यजन्तु विज्ञ? अन्य प्रशासनिक कार्यालयका कर्मचारीहरुलाइ पनि आफ्ना कार्यालयबाट सम्पादित कामबारेमा जानकारी रहने गर्दछ भने के हामीलाइ पनि निकुञ्जका विभिन्न स्थान र जिवजन्तु वनस्पति र तिनको अवस्थाबारे हरदम जानकारी हुन आवश्यक छ। यो कुराकोलागि पेशामा माया, त्याग र तपस्या अपरहिार्य छ।
-खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन र संरक्षणमा चासो राख्छन्।