विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२२ मा १३ लाख सवारीसाधन बिक्री गरेको छ। सन् २०२१ को तुलनामा यो बिक्री ४० प्रतिशतले बढी हो।
टेस्लाले सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै ४ लाख ५ हजार भन्दा बढी सवारीसाधन वितरण गरेको हो। तर, यो आंकडा वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा केही कम हो। अक्टोबरदेखि डिसेम्बरको अन्त्यसम्म वाल स्ट्रीटले टेस्लाले लगभग ४ लाख ३० हजार कार डेलिभरी गर्ने पूर्वानुमान गरेको थियो।
सन् २०२१ को तुलनामा टेस्लाले गत वर्ष बिक्रीमा सुधार देखिएता पनि यस वर्ष कठिन समय सामना गर्नुपर्ने देखिएको छ। गत अक्टोबरमा इलन मस्कले ट्वीटर खरिद गरेदेखि नै टेस्लाको बिक्रीमा केही गिरावट आएको छ।
मन्दीको पूर्व संकेतलाई मध्यनजर गर्दै यस वर्ष पनि टेस्ला लगायत सम्पूर्ण अटो उद्योगले सुस्त मागको सामना गर्ने अपेक्षा गरिएको छ। विश्व अर्थतन्त्र नै उच्च ब्याज दर, रसिया-युक्रेन युद्ध, बढ्दो मुद्रास्फीतिको चपेटामा परेको छ। जसकारण सम्भावित ग्राहकहरू चिन्तित देखिन्छन्।
टेस्लाले ‘वर्षभरी नै कोभिड र आपूर्ति प्रणाली सम्बन्धी चुनौतीहरू’ सामना गर्नुपर्ने लगानीकर्ताहरूलाई बताएको छ। विश्वको सबैभन्दा मूल्यवान कार निर्माताले 'लजिस्टिक'को समस्याहरूसँग पनि संघर्ष गरिरहेको छ। यसले गर्दा वर्षको चौथो त्रैमासमा टेस्लाले उत्पादन गरेको भन्दा करिब ३४ हजार कम वितरण गरेको थियो।
बिक्रीमा आएको कमी टेस्लाका लागि असामान्य कुरा हो। यसअघि टेस्लाले सँधै उत्पादन गरे जति गाडी डेलिभर गर्न व्यवस्था गरेको थियो।
अक्टोबरमा कम्पनीको प्रमुख कार्यकारी इलन मस्कले यो समस्या समाधान गर्न काम भइरहेको बताएका थिए।
यसैबिच टेस्लाले फोर्ड र जनरल मोटर्स जस्ता पुराना मोटर निर्माता कम्पनीहरूका साथै अमेरिकाको रिभियन र लुसिड तथा चीनको बिवाईडि र निओ जस्ता बजारमा नयाँ प्रवेश गरेका कम्पनीहरूबाट पनि प्रतिस्पर्धाको सामना गरिरहेको छ। कम्पनीले २०२२ को चौथो त्रैमासिक र पुरै वर्षको वित्तीय नतिजा २५ जनवरीमा सार्वजनिक गर्नेछ।