PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्षको वचर्श्व



पहिलोपोस्ट

सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्षको वचर्श्व

काठमाडौं : नेपाली कांग्रेसको प्रदेशहरुको संसदीय दलको नेता चयनमा संस्थापन पक्षले वर्चश्व जमाएको छ। केन्द्रमा सभापति शेरबहादुर देउवा निर्वाचित भएसँगै प्रदेशमा पनि संसदीय दलको नेता चयन शुरु भएको थियो।

कांग्रेसले बुधवार सातै प्रदेशमा संसदीय दलको नेता चयन सकाएको छ। जसमध्ये कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा सर्वसम्मत हुँदा अरु प्रदेशमा भने निर्वाचन भयो। केन्द्रमा पनि सभापति देउवा ६४ मत पाउँदै निर्वाचित हुँदा डा शेखर कोइराला पक्षका गगन थापाले २५ मत पाए। थापा महामन्त्रीसमेत हुन्।

प्रदेश १ मा संस्थापनकै थापा

प्रदेश नम्बर १ को प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलका नेतामा पार्टी संस्थापन पक्षका उद्धव थापा चुनिएका छन्। समानुपातिक कोटामा झापाबाट प्रदेश सांसद भएका थापा अत्यधिक मत प्राप्त गर्दै दलको नेता चुनिएका हुन्।

थापा पार्टीको प्रदेश सभापतिसमेत हुन्। शुक्रवार भएको निर्वाचनमा थापाले १८ मत हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी रहेका केदार कार्कीले ९ मत प्राप्त गरे।

प्रदेश १ को आन्तरिक मामिला मन्त्रीसमेत रहेका कार्की डा. शेखर कोइराला पक्षका हुन्। अर्का उम्मेदवार एवं पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले २ मतमात्र प्राप्त गरे।

मधेशमा पनि संस्थापन पक्षका यादव

कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्। बिहीवार दिउँसो जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।

कांग्रेस प्रदेश सभापति समेत रहेका यादवले १८ मत प्राप्त गर्दै संसदीय दलमा निर्वाचित भए। उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र पाएका छन्। यादव नेता विमलेन्द्र निधि निकट हुन्।

यद्यपि, संसदीय दलको नेतामा भिड्न उनले डा शेखर कोइराला पक्षमा आएका थिए। संस्थापन छाडेपछि उनलाई निधिलेसमेत साथ छोडेको बताइन्छ।

वाग्मतीमा बहादुरसिंह लामा

वाग्मती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। बुधवार भएको निर्वाचनमा लामाले २१ मत प्राप्त गरे भने बाँनियाले १६ मत पाए।

वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद् छन्। संस्थापन पक्षका दुबै नेता भिडन्तमा उत्रिएपछि बहादुरलाई संस्थापनइतरले सहयोग गरेको थियो। संस्थापनइतरको त्यही ५ मत बहादुरका लागि जित निश्चित गर्ने मत बन्यो।

केन्द्रीय सदस्यसमेत रहेका बहादुरलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा प्रकाशशरण महत, नेताहरु मोहनबहादुर बस्नेत र मोहन आचार्यलगायतको साथ थियो।

गण्डकी सुरेन्द्र पाण्डे

कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए।

संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले २७ सिट जितेको छ।

कर्णालीमा शाही

कर्णाली कांग्रेसको संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्। शुक्रवार बसेको कर्णाली कांग्रेस संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। उनलाई संसदीय दलको नेताको अर्का आकंक्षी राजीवविक्रम शाहीले दलको नेताका लागि प्रस्ताव गरेका थिए।

लुम्बिनीमा डिल्ली चौधरी

लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षकै डिल्लीबहादुर चौधरी चयन भएका छन्। सोमवार लुम्बिनी कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन्। दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित भएका चौधरी हाल प्रदेशसभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री छन्। यसअघि, उनी प्रदेशसभाको लेखा समितिका सभापति थिए।  

सुदूरपश्चिममा शाह

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। बुधवार भएको संसदीय दलको निर्वाचनमा शाहको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुरत रावतले बताए।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहका प्रस्तावकमा बहादुर सिंह थापा थिए भने समर्थक प्रकाश देउवा। दुबैले साथ दिएपछि शाह सर्वसम्मत निर्वाचित भएका हुन्। शाह केन्द्रमा प्रकाशमान सिंह निकट मानिन्छन्।

संसदीय दलको नेतामा शाहसँगै थापा, दिवानसिंह विष्ट, शिवराज भट्ट, देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell