
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले ६ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जसका लागि बिनोद भण्डारीले ३८ बलमा २ छक्का र ६ चौकाको सहायतामा सर्वाधिक ४५ रन बनाउँदा हसमतुल्लाह शाहीदीले २७ रन बनाए। त्यस्तै करण केसी २१ रनमा अविजित रहँदा उमैर अलीले १६ रन बनाए। बलिङतर्फ विराटनगरका शाहब आलमले सर्वाधिक ३ विकेट लिँदा केओन जोसेपले २ विकेट तथा राज नानन, विवेक यादव र रोहित पौडेलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले कप्तान रोहित कुमार पौडेलको अर्धशतकीय पारिको सहायतामा १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। विराटनगरका लागि पौडेलले सर्वाधिक ६० रन बनाउँदा प्रदीप ऐरीले ४० रन बनाए। त्यस्तै हुसैन तलत र पृथु बास्कोटाले समान १७ रन बनाए।
बलिङतर्फ फारवेस्टका करण केसी, प्रकाश जैसी, नूर अहमद र हसमतुल्लाह शाहिदीले समान १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
विवादस्पद बन्दै गएको प्रतियोगितामा ८ खेलबाट ६ अंक जोडेको विराटनगरले प्लेअफको सम्भावना जीवित राखेको छ भने २ अंक जोडेर तालिकाको पुछारमा रहेको फारवेस्टको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ।