PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सानेपामा कांग्रेस प्रवक्ता महतलाई प्रश्नैप्रश्न : पाँचै वर्ष प्रतिपक्षमा बस्ने कि मौका पाउनसाथ सत्ता ढालिहाल्ने? देउवाको बचाउ, गगन - विश्वप्रकाशको खण्डन



नेत्र तामाङ

सानेपामा कांग्रेस प्रवक्ता महतलाई प्रश्नैप्रश्न : पाँचै वर्ष प्रतिपक्षमा बस्ने कि मौका पाउनसाथ सत्ता ढालिहाल्ने? देउवाको बचाउ, गगन - विश्वप्रकाशको खण्डन
फाइल फोटो

काठमाडौं : मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस पहिलो ठुलो दल बन्यो। पाँच दलीय गठबन्धनसँग तालमेल गरेर चुनावमा उत्रेको कांग्रेस निर्वाचन परिणामलगत्तै आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा लाग्यो। तर मंसिर १० गते एकाएक ८९ सिट भएको कांग्रेस प्रतिपक्षमा पुग्यो। गठबन्धनको साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहित सात दलको समर्थनमा सत्ताको नेतृत्व सम्हाल्न पुगे।

उक्त घटनालगत्तै रन्थनिएको कांग्रेस संस्थापन केही समययता चुपचाप छ भने संस्थापनइतरले नेतृत्वको कमजोरी देखाइरहेको छ। यही विषयमा आफ्नो धारणा राख्न बुधवार कांग्रेसले पत्रकार सम्मेलन गर्‍यो।

सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धन जोगाउँछु भनेर जोड दिने माओवादी अध्यक्ष प्रचण्ड नै अन्तै लागेकोमा अचम्म माने। ‘संविधानको रक्षा गर्दै स्थिरता र समृद्धिको लागि काम गर्ने प्रतिबद्धता प्रचण्डजीबाट आएको थियो। उहाँ किन गठबन्धन छाडेर नेतृत्व प्राप्तिका लागि जानुभयो?’ महतको प्रश्न थियो।

यो विषयमा आगामी दिनमा विस्तारै खुल्दै आउनेमा आफू विश्वस्त रहेको उनको भनाई रह्यो। माओवादीकै विश्वासमा कुनै विकल्प नबनाएर कांग्रेस बसेको महतले दाबी गरे। ‘हामी कांग्रेस कहीकतै पनि विचलित भएनौं। हामीले कहीकतै वैकल्पिक समर्थन जुटाएर नेतृत्व गर्ने प्राथमिकता दिएनौं। यस अवस्थामा गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन। गठबन्धन बचाउने बारेमा सेकेन्ड प्लानबारे सोच्ने हामीलाई समय भएन,’ प्रवक्ता महतले भने।

‘प्रचण्ड गठबन्धनको आयू छोटिन्छ’

एमालेसहितको समर्थनमा बनेको अहिलेको गठबन्धनको आयु छ लामो नजानेसमेत महतको भनाई रह्यो। विभिन्न रुपरंगका पार्टीहरु सरकारमा भएकोले आफूलाई यस्तो आशंका लागेको उनले बताए।

‘गठबन्धनको सरकार बन्न सकेन। वैकल्पिक गठबन्धनको सरकारको सरकार बनेको छ। यो अवसर केन्द्रित गठबन्धन हो। यसमा राजतन्त्र चाहिनेदेखि लिएर राजतन्त्र कुनै हालतमा हुन्न। गणतन्त्र चाहिन्छ भन्नेसम्म र संघीयता चाहिन्छ, चाहिन्छ र चाहिँदै चाहिँदैन भन्ने विभिन्न दिशा र रुपरंगका पार्टीहरु एक ठाउँ भएर बनेको छ,’ प्रवक्ता महतले भने, ‘विचारमा एकता छैन। दृष्टिकोणमा एकता छैन। प्रतिस्पर्धा महत्वपूर्ण जिम्मेवारी कसले पाउनेमा छौ। कन्टेन्टभन्दा प्रेजेन्टेसनमा ज्यादा लागेकाहरुको सरकार बनेको छ। यो गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना हामीले देखिराख्य छौ।‘

कांग्रेस सत्तामा नभएपनि प्रतिपक्षमा रहेर जनताको काममा लागिरहने प्रतिबद्धता उनले सुनाए। ‘जुनबेला सम्म कांग्रेस प्रतिपक्षमा रहन्छ। हामी सशक्त रुपमा उत्रन्छौ। जनताको आवश्यकता, राष्ट्रिय स्वार्थ, विकास र रोजगारीका विषयलाई हामी सशक्त ढंगले उठाउँछौ,’ महतले भने। यसो त प्रवक्ता महतले पछिल्लो समय कांग्रेसमा व्यक्ति केन्द्रित प्रतिस्पर्धा बढ्न थालेको उल्लेख गर्दै अब त्यस्तो नहुनेसमेत बताए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘कांग्रेस अब व्यक्तिकेन्द्रित नभएर विषय र लक्ष्य केन्द्रित भएर काम गर्छ।‘

ठूलो दल भएर पनि सत्ताको नेतृत्व नपाउँदा शुभेच्छुकलाई दुख लागेको आफूले बुझेको प्रवक्ता महतको भनाई थियो। पार्टी सभापतिले अब पार्टीमा गर्न बाँकी कामहरु थाल्न निर्देशन दिइसकेको अवस्थामा अबको निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी अघि बढ्नेसमेत महतले बताए।

‘नेपाली कांग्रेस शुभेच्छुकले अनायसजस्तो नहुँदाखेरि के भयो निराशाजस्तो सेट ब्याक भएजस्तो भए पनि हामी यो चुनौतिलाई अवसरमा निर्माण गर्छौ। आउँदो निर्वाचनम हामी एक्लै बहुमत ल्याउने तयारीमा हामी लाग्छौ,’ महतले भने, ‘केन्द्रीय समितिमा गठबन्धन कायम किन भएन भन्नेबारेमा बृहत् समीक्षा हुन्छ। त्यसको आधारमा हामी अघि बढ्छौ। पार्टी सभापतिले विभिन्न कारणले पूर्णता नपाएको भ्रातृ संगठन केन्द्रीय समितिलगत्तै पूर्णता दिने भनिसक्नुभएको छ।‘

आफ्नो भनाई सकाएपछि प्रवक्ता महतले फ्लोर ओपन गरे। त्यसपछि पत्रकारहरुले प्रश्न वर्षाए। संस्थानपन पक्ष र संस्थापनइतरको आरोपप्रत्यारोपबारे सोधिएको प्रश्नमा महतले सभापतिको देउवाको बचाउ गर्न भ्याए भने दुई महामन्त्रीको खण्डन।

यस्तो थियो सवालजवाफ :

गठबन्धनको आयो लामो समय जाँदैन भन्नुभयो नि, यसको आधार के हुन्?

यो गठबन्धन लामो समय टिक्छटिक्दैन, उहाँहरुमै निर्भर छ। पदको प्रतिस्पर्धा छ। जस्तोखाले गठबन्धन बनेको छ, यसले आशंका जन्माएको छ।

वाग्मतीलगायत केही प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पहल भइरहेको हो?

उहाँहरु केन्द्रमा कसरी एक ठाउँमा रहनुहुन्छ। त्यसले पनि प्रदेश सरकार गठनमा प्रभाव पर्छ। हामी नजिकबाट परिस्थितिलाई हेरिरहेका छौ।

सरकारको आयु लामो हुँदैन भन्नु भयो, अनि सशक्त प्रतिपक्ष पनि बस्छु भन्नुभयो, पाँचै वर्ष प्रतिपक्षमा बस्छ कि मौका पाउनसाथ सत्ता ढाल्नुहुन्छ?

हामी सशक्त प्रतिपक्षको भूमिकामा हुनेछौं। हामी तोडफोडमा उत्रदैनौ। संसदलाई महिनौ बन्धनमा राख्ने काम हामीबाट हुँदैन। संसदमा हाम्रो उपस्थिति पनि बढेको छ। ठुलो दल भएकोले हाम्रो भूमिका महत्त्वपूर्ण हुनेछ।

संसदीय दलको निर्वाचन भइरहँदा सबैलाई मिलाउन सक्ने व्यक्ति सभापति देउवा एकमात्र हुन् भन्नुभएको थियो, तर अहिलेको सिनारियो त फेरियो नि, केही पश्चाताप छ?

प्रतिकुल अवस्थामा काँग्रेस गठबन्धन बनेको हो। निर्वाचनको बेला पनि गठबन्धन टुटाउने प्रयास भएको थियो। निर्वाचन परिणाम हेर्दा अहिलेको परिवेशमा उहाँको नेतृत्व नै ठीक हो भन्ने हाम्रो ठहर हो। देउवाको ठाउँमा अरु भएको भए के बच्थ्यो त? सधैं नेतृत्वबाट सफलता हासिर गर्दामात्रै हामी त्यसमा वाहवाही गर्ने फेरि सफलता हासिल नभए आलोचनामा ओइरिहाल्ने। यो पनि उपयुक्त होइन। भन्ने मलाई लाग्छ। केन्द्रीय सम्पादन समितिको निर्णय नै काँग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने थियो। सर्वसम्मत। पार्टीभित्र जुन आलोचना भइरहेको छ उहाँहरुबाटै दुईटै पद राष्ट्रपति र प्रधानमन्त्री छाड्नुहुन्न भन्ने कुरा आइरहेको थियो। त्यसलाई पनि हामीले मध्यनजर राखौं। कहिलेकही विश्वास गर्दा जसले विश्वास तोड्छ त्यसमा सबै नियन्त्रण हुँदैन। त्यस रुपमा पनि हामीले हेर्नुपर्छ।

बालुवाटारमा गठबन्धन बचाउन अन्तिम प्रयास चलिरहेको बेला तपाईं र पार्टी उपसभापति पूर्णबहादुर खड्काबिच भनाभन भएको हो?

सभापतिसँग वा अरुसँग भनाभन भयो भनेर आएको कुरा सरासर कपोलकल्पित हो। म संलग्नै छैन। म संलग्न नभएको विषयमा फलानोले गर्दा यस्तो भयो। उस्तो भयो भन्ने चै कपोलकल्पित कथा सिर्जना गर्न सक्नेबाट यो आएको कुरा बाहिर आयो। त्यसबारेमा मैले पनि भनिसकेको छु।

तपाईले गठबन्धन भत्किनुमा प्रचण्डलाई दोष दिनुभयो, तर कांग्रेसभित्रै ठुलो मत छ कि यो संस्थापन पक्षकै कमजोरी छ?

सबभन्दा ठुलो दलले नेतृत्व नै दाबी गर्नुहुँदैन भन्नु अनुचित हैन र? कार्यसम्पादनले सर्वसम्मत निर्णय गर्छ कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर। हाम्रा पार्टीका साथीहरु यति गतिशिल छौ कि सानोसानो कुरालाई लिएर बाहिर नै अभिव्यक्ति दिन्छन्। नेतृत्वको भेटघाट पहुँचबाहिर नै भन्ने कुरा त छैन नि। जिम्मेवार पदाधिकारी व्यक्तिहरु टास्कफोर्सकै सदस्यहरुले नेतृत्वलाई दोष दिएर बोलाएन भन्नु त्यति उचित लाग्दैन। जसले छाडेर जान्छ उसैलाई अनुचित भन्नुपर्ला नि।

सेकेन्ड बेस्ट अल्टरनेटिभमा पनि जानुपर्थ्यो भन्ने कुरा पार्टीमा चलिरहेको छ पार्टीमा। त्यो विषयमा चिन्तित पार्टीका जिम्मेदार साथीहरुले त्यो जिम्मेवारी पुरा गर्नुपर्थ्यो। कहिलेकही जजमेन्टमा इरर आउँछ।

एकछिनको लागि मानौ प्रचण्डजीकै नेतृत्वमा सरकारमा गएको भए एकथरी घनघोर आलोचना हुन्थ्यो नै। नेपाली कांग्रेसले ८९ सिट ल्याएर ३२ सिट ल्याउने पार्टीको नेतृत्वमा पुच्छरजस्तो जाने भन्थे होला नि?

संस्थापन पक्षलाई अझ बलियो बनाउन प्रदेश प्रदेशमा भेला बोलाउनुभएको रहेछ?

कोही कसैको भेला भएको छैन। नीतिगत रुपमा पार्टीका केन्द्रीय सदस्य साथीहरुले आफ्नो कुरा राख्ने भेट्ने होला। सामूहिक भेला भएको छैन।

नीति महाधिवेशन कहिले हुन्छ? दुई महामन्त्रीले त विज्ञप्ति नै निकाल्नुभयो?

यसमा विज्ञप्ति निकाल्नुपर्ने केही कुरै छैन। माग गरिरहनुपर्ने कुनै कुरै छैन। उहाँहरु कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ। त्यसबेला समयको पावन्दीले गर्दा त्यहीबेला नीति महाधिवेशन गर्ने भन्ने भएको हो। पार्टी नेतृत्वले गर्ने हो। केन्द्रीय समिति बैठकपछि यसबारे यसबारे सम्बोधन होला।

नेतृत्व ताकिरहेका पार्टी सभापति अहिले डेरामा पुग्नुभाछ, तपाई त देउवाको विश्वापात्र, उहाँले के भन्नुहुन्छ यो विषयमा?

म पार्टीको विश्वासपात्र हो।

विश्वासमा हामीले आँकलन गरेकोजस्तोमात्र हुँदैन। त्यस्तै परिस्थिति आयो। यसबाट विचलित हुनुपर्ने अवस्था छैन। वि विल कमब्याक। हामी स्ट्रोङ भएर अघि बढ्छौ भन्ने उहाँको हौसलापूर्ण कुरा नै छ।

कमब्याक चाहि पाँच वर्षपछि कि पाँच वर्षभित्रैमा?

त्यो त हेर्दैजाउँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell