PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चिसो बढेपछि स्थानीय तहले धमाधम दिन थाले विद्यालय बिदा



रासस

चिसो बढेपछि स्थानीय तहले धमाधम दिन थाले विद्यालय बिदा
फाइल : फोटो।

दोधारा चाँदनी : कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ।

एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएसँगै नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ। यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ।

यता, विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि सप्तरीको राजविराज नगरपालिकाले पनि आगामी दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा यही पुस २१ र २२ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनको आदेशानुसार विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै सो अनुरोध गरिएको उल्लेख छ।

यसैबिच, तराई-मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ। एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई-मधेशका जिल्लामा जाडो बढेको हो। तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै घरपालुवा जनावरलाई पनि थप असर परेको छ।

बिहान ९-१० बजेसम्म बाक्लो कुहिरो र चिसो हावाका कारण झनै समस्या भइरहेको छ। बेलुका र रातिको समयमा चिसो बढेका कारण झन समस्या हुने गरेको पाइएको छ। विगतभन्दा यो वर्ष फरक तरिकाले कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ।

बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो। एक-दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell