PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

खर्च घटाउन १८ हजारभन्दा बढी रोजगारी कटौती गर्दै अमेजन



पहिलोपोस्ट

खर्च घटाउन १८ हजारभन्दा बढी रोजगारी कटौती गर्दै अमेजन
Photo: reviewjournal.com

सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनले १८ हजारभन्दा बढी रोजगारी कटौती गर्ने भएको छ। प्रभावित कामदारहरूलाई जनवरी १८ देखि सूचित गरिने अमेजनका प्रमुख कार्यकारी एन्डी जेस्सीले कर्मचारीहरूलाई दिएको एक नोटिसमामा भनेका छन्

यो कटौती कम्पनीको लगभग ३ लाख कर्पोरेट कार्यबलको ६ प्रतिशत हो। नोभेम्बरमा अमेजनले रोजगारी कटौतीको एक चरण सुरु गरिरहेको बताएको थियो तर उसले कति कटौती गर्नेछ भन्ने आँकडा दिएको थिएन।

‘हामी प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न काम गरिरहेका छौं र प्याकेजहरू प्रदान गर्दैछौं जसमा छुट्टिएवापतको भुक्तानी, संक्रमणकालीन स्वास्थ्य बीमा तथा बाह्य रोजगार नियुक्तिको लागि सहयोगलगायत छन्,’ जेस्सीले भने।

उनले थपे, ‘अमेजनले विगतमा पनि अनिश्चित र कठिन अर्थतन्त्रको सामना गरिसकेको छ, त्यो आगामी दिनमा पनि कायम रहनेछ।’

जेस्सीले प्रभावित कर्मचारीहरू कुन क्षेत्रका हुन् भनेर स्पष्ट पारेनन्, तर उनले कर्मचारीहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग कुराकानी गर्ने बताए।

उनले ‘रोजगारी कटौती’ अमेजन स्टोर तथा अमेजनको ‘पिपल, एक्सपेरियन्स, र टेक्नोलोजी टिम’बाट हुने समेत खुलाए। दुई महिनाअघि कम्पनीले व्यापार सञ्चालनको वार्षिक समीक्षामा खर्च घटाउनमा ध्यान दिने बताएको थियो।

अमेजनले यसअघि नै कर्मचारी नियुक्ति रोकिसकेको छ भने गोदाम विस्तार गर्न पनि रोकेको थियो। कम्पनीले आफ्नो व्यवसायका केही अंगहरु बन्द गर्ने तथा व्यक्तिगत डेलिभरी रोबोट जस्ता परियोजनाहरू रद्द गर्ने कदमहरू पनि चालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell