PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सिद्धार्थ र कोहलपुर राजमार्ग विस्तार : सुरुङ बनाउने देखेर जाइका उत्साही, चिनियाँ एआइआइबी पनि इच्छुक



शुक्र गिरी

सिद्धार्थ र कोहलपुर राजमार्ग विस्तार : सुरुङ बनाउने देखेर जाइका उत्साही, चिनियाँ एआइआइबी पनि इच्छुक

काठमाडौं : सिद्धार्थ राजमार्गको बुटवल-पोखरा र कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशले चासो देखाएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका) र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगानीका लागि चासो देखाएका हुन्।

एआइआइबीको सदस्य नेपाल पनि हो। यो बैंकका सय मुलुक सदस्य भइसकेका छन्। पाँच वर्ष अघि एआइआइबीले नेपालको पूर्वाधार क्षेत्रमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो।

सोही प्रतिवद्धता अनुसार बैंकले यो सडकमा लगानी गर्न चाहेको हो। जाइकाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ। यो बैंकले १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ।

विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलका अनुसार चीन र जापानका ऋणदाताले लगानी गर्न इच्छुक रहेको बताए। उनले एआइआइबीका प्रतिनिधि लगानीका बारेमा छलफल गर्न आउन लागेको जानकारी दिए। पोखरेलका अनुसार जाइकाले यो सडकमा सुरुङमार्ग निर्माण गर्नुपर्ने भएकाले इच्छुक रहेको हो।

‘यसमा सुरुङमार्ग पनि निर्माण गर्नुपर्ने भएकाले जाइका पनि इच्छुक भएको बुझिएको छ’, उनले भने, ‘यो सडकमा सुरुङमार्ग धेरै छन्। यसमा जाइकाले लगानी गर्दा हाम्रो लागि राम्रो हुन्छ।’ जापानले अतिकम विकसित मुलुकमा एक प्रतिशत भन्दा कम ब्याजमा ऋण उपलब्ध गराउँछ।

केही वर्षअगाडि विश्व बैंकले सिद्धार्थ राजमार्गमा पर्ने बुटवल-पोखरा र कोहलपुर-सुर्खेत सडक विस्तारको लागि डिजाइन तथा वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। भारतको एक्जिम बैंक भारतले लगानी भनेपनि धेरै समय लाग्ने देखिएपछि सरकार पछि हटेको थियो।

प्रदेश राजधानी जोड्ने राजमार्ग अन्तर्गतका सिद्धार्थ राजमार्ग बुटवल-पोखरा र कोहलपुर-सुर्खेत राजमार्गको बजेटको स्रोत सुनिश्चितता नभएको भन्दै गत वर्ष बजेट सरेन्डर गरिएको थियो। सरकारले गत वर्ष २०७८/७९ मा ७ अर्ब वैदेशिक लगानीमा निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको थियो। तर, यो राजमार्ग निर्माण गर्न कुन देशलाई दिने भन्नेमा सरकारले निर्णय लिन नसक्दा बजेट सरेन्डर गरिएको थियो। पोखरेलका अनुसार यो वर्ष भने सरकारले सडक विस्तारको लागि बजेट विनियोजन गरेको छैन।

सुरुङमार्गसहित करिब २५ अर्ब लागत

यो राजमार्ग विस्तारको वातावरणीय प्रभाव मूल्यांकन तथा डीपीआर लगभग तयारी अवस्था रहेको पोखरेलले बताए। यो सडक विस्तार गर्दा १ हजारभन्दा धेरै घरटहरा भत्काउन पर्नेछ। यस्तै यो दुवै खण्ड निर्माण गर्न सुरुङमार्गसहित लगभग २५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

बुटवलदेखि पोखरासम्म १५७ किलोमिटर लामो दुरीको सडक रहेको छ। यसलाई यो नयाँ सडकले १५ किलोटरसम्मको दुरी छोटो बनाउने छ। यो राजमार्ग सडक केन्द्रविन्दु देखि दायाँबायाँ २५ मिटर चौडाईको हुनेछ। तर, पोखरा सहरको ४.५ किलोमिटर दुरीसम्म भने जम्मा ३० मिटरको सडक हुनेछ। यस्तै, पुतली बजारको २.५ किलोमिटर भने जम्मा १३ मिटरको हुनेछ।

यो सडक रुपन्देही जिल्लाबाट सुरु भएर कास्कीको पोखरासम्म पुग्नेछ। यस्तै यो सडक खण्डले चुरे हुँदै महाभारत रेन्ज पार गर्नेछ।

यस्तै, गरी बुटवल-पोखरा खण्डमा ८२० मिटरको ५ वटा सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ। डीपीआरको प्रतिवेदन अनुसार सिद्धबाबामा २७० मिटर, मायातरीमा १३० मिटर, स्याङ्जामा १२० मिटर, राकोशीमा १०५ मिटर र भालुपहाडमा १९५ मिटर गरी कुल ८२० मिटरको सुरुङमार्ग निर्माण गर्नुपर्ने छ। यसरी सुरुङमार्गसहित सडक निर्माण गर्दा लगभग १२ अर्ब ९७ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

यसैगरी, डीपीआरमा अर्को सुरुङमार्गसहित एप्रोच सडक पनि निर्माण गर्न सकिने विकल्प रहेको छ। यसमा ४.८३३ किलोमिटरको एप्रोच सडक निर्माण गर्दा १९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसो गर्दा सडकको लम्बाई १३५ किलोमिटर हुन आउँछ।

कोहलपुर-सुर्खेत सडक निर्माणका लागि ६ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यो सडक ८२ किलोमिटरको रहेको छ। यो सुरुङमार्गहरु केही निर्माण गर्नुपर्ने छैन। यो सडक बाँके जिल्लादेखि सुरु भएर सुर्खेतसम्म पुग्नेछ।

यसमा कोहलपुरबाट १३ किलोमिटर दुरीसम्म सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११ मिटर फराकिलो हुनेछ। अन्य स्थानमा भने सडकको केन्द्रविन्दु बाट दायाँबायाँ ७.५ मिटर फराकिलो हुनेछ। यो सडक चुरेको पर्वतीय हिमश्रृंखला हुँदै जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell