फ्रान्सको चार्ली हेब्दो पत्रिकाले इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीमाथि व्यङ्ग्य गर्दे कार्टुन प्रकाशन गरेको छ। इरानमा हाल हिजाब क्रान्ति भइरहेको छ। महिलाले आफ्नो हिजाब जलाउँदै प्रदर्शन गरिरहेका छन्। विश्वभर यो घटनाले प्राथमिकता पाउँदा चार्ली हेब्दोले कार्टुन प्रकाशन गरेको हो।
इरानले भने कार्टुनलाई 'अपमानजनक' भन्दै फ्रान्सेली राजदूत निकोलस रोशलाई बोलाएको छ। इरानले फ्रान्सलाई यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ।
चार्ली हेब्दोले हिजाब विरोधी विषयलाई लिएर खामेनीको आलोचना गरेर धेरैपटक कार्टुन प्रकाशन गरेको छ। इरानका विदेश मन्त्री हुसेन अब्दुलाहयनले कार्टुन प्रकाशन गर्ने अपमानजनक कामलाई नबिर्सने जनाएका छन्। उनले फ्रान्स सरकारलाई आफ्नो सीमाभन्दा बाहिर नजान चेतावनी पनि दिएका छन्।