PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

गञ्जागोल नेपाल टी-२० लिग : फर्किएलान् सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया?



मुकुन्द घिमिरे

गञ्जागोल नेपाल टी-२० लिग : फर्किएलान् सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया?

काठमाडौं : मंगलवार बिहान नेपाल टी २० लिगमा तीनवटा नयाँ कुरा विकसित भएर आए। पहिलो लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए। दोस्रो नेपाल टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले 'स्पट फिक्सिङ' को दाबी गर्दै प्रतियोगिता छाडेको जनाए। तेस्रो, काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबिचको खेलमा खेलाडीले पारिश्रमिक नपाएको भन्दै टस नै गर्न मानेनन्। बल्लतल्ल क्यानले पारिश्रमिक उपलब्ध गराउने भन्दै खेलाडी मनायो र ९ ओभरमा छोट्याएर खेल सम्पन्न भयो।

यीमध्ये पहिलो घटनाक्रम थियो, जतिन सम्पर्कविहीन हुनु। उनी भारत गएपछि नेपालमा चलिरहेको टी २० लिग के हुन्छ? भन्ने प्रश्न पक्कै तेर्सियो। जारी लिगअघि कुनै पनि फ्रेन्चाइजीले प्रतियोगिता अघि जर्सी सार्वजनिक गर्दा होस् या कुनै घोषणा गर्दा आफ्नो प्रायोजक सार्वजनिक गरेनन्। खेल चलिरहँदा 'ग्लामर' उद्योगका रुपमा लिइने फ्रेन्चाइजीमा प्रायोजकको अभाव देखियो। प्रायोजक त परको कुरा खेलाडीहरुले आफ्नो टिम मालिक पनि नचिनेको बताए। यसमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगरका कप्तान रोहित पौडेल पनि छन्। रोहितले टिम ओनरसँग 'कम्युनिकेसन ग्याप' भएको स्वीकारे।  ज्ञानेन्द्र मल्लले यसअघिका फ्रेन्चाजिहरुमा टिम ओनरसहित एउटा परिवारको रुपमा रहने गरेको भए पनि हाल त्यस्तो अवस्था नभएको बताए। उनले टिम ओनरलाई 'मिस' गरिरहेको व्यङ्ग्यात्मक लयमा बताए। लिगको अक्सनदेखि प्रचारप्रसारमा आयोजक आक्रामक हुनुपर्ने हो, तर, नेपाल टी २० लिगको अक्सन त बन्दकोठाभित्र भयो नै, लिग सुरु हुनुभन्दा अगाडिसम्म त्यस्तो कुनै प्रचारप्रसारमा चासो कुनै पक्षले देखाएन।

फेरि फर्किउँ जतिनकै प्रसंगमा। क्यान आफैँले स्वीकारेको थियो, जतिन सम्पर्कविहीन भएकोबारेमा। तर, पछि उनी सम्पर्कमै रहेको र भारतमा नेपाल पैसा पठाउन गएको दाबी गर्‍यो। तर, जतिनको फर्कने छाँटकाँट भने देखिएको छैन। त्यसैले क्यान अहिले विलखबन्धमा परेको छ। क्यानले पछिल्लो पटक बुधवार विज्ञप्ति जारी गर्दै 'फिक्सिङ'बारेको घटनालाई अफवाहपूर्ण भएको भन्दै फिक्सिङबारे जानकारी भए प्रमाणसहित एन्टी करप्सन युनिट (एसीयू)मा उजुरी बुझाउन भनेको छ। फिक्सिङबारे यो नालायकीपूर्ण विज्ञप्ति एकातिर राखेर हेर्दा साझेदार कम्पनी भागेको हो या होइन भन्ने क्यानले स्पष्ट पार्न सकेको छैन। भारतमा रहँदै आएका जतिनले नेपालमा 'सेक्युरिटी थ्रेट' भएको र असहयोग भएको आरोप लगाउँदै आएका छन्।

सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया


उनी यदि नेपाल फर्कने हो भने पैसा लिएर फर्कनुपर्ने हुन्छ। मैदानदेखि आयोजनासम्म धेरै रकम खर्चिसक्दा न त आधिकारिक प्रायोजक देखिन्छन् न त दर्शकहरु नै टिकट काटेर मैदान परिसरमा पुगेका छन्। सेभेनथ्री स्पोर्ट्सले क्यान दिनुपर्ने रकमदेखि 'प्राइज मनि'सम्मका कुरालाई थेग्ने गरि उनी नेपाल फर्कनुपर्ने हुन्छ। यसमा उनलाई फाइदा भन्दा नोक्सान नै बढी हुनेछ।

मंगलवारबाट उठेको दोस्रो विषय थियो फिक्सिङको। जसमा एकपछि अर्को घटनाक्रम विकसित भइरहेका छन्। गृह मन्त्रालयले फिक्सिङबारे छानविन गर्न भनेर प्रहरीलाई खटाइसकेको छ।

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के-कसो भएको हो आवश्यक छानबिन गरि जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फिक्सिङको अर्को दर्बिलो आधार भनेको कमेन्टेटर सचिन तिमल्सिनाको दाबी पनि हो। फिक्सिङ भएको हो होइन भन्ने विषय अनुसन्धान पछि खुल्दैजाने विषय हो तर यसमा शंका गर्न सकिने आधार भने प्रशस्त छन्।

जस्तै नेपाली टोलीका कप्तान रोहित पौडेल, विश्वका उत्कृष्ट अलराउण्डर सिकन्दर राजा जस्ता खेलाडी हुँदाहुँदै वेस्ट इन्डिजका लो प्रोफाइल खेलाडीलाई कप्तानी दिनु। सोमपाल कामी जस्ता अनुभवी र स्थानीय फ्रेन्चाइजमा सफल खेलाडीलाई कप्तानी नदिएर आफ्नै देशको सिनियर टीमबाट नखेलेका खेलाडीलाई कप्तानी दिनु पनि शंकास्पद विषय हो। यसमा ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एकजना खेलाडीलाई फिक्सिङको अफर आएको स्वीकार गर्दै त्यसबारे एसीयूमा रिपोर्ट गरिसकेको जनाएका छन्।

यसबारे पूर्वकप्तान पारस खड्काले फिक्सिङ जस्ता विषय नेपाली क्रिकेटमा आउनु दु:खद भएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन्।

फिक्सिङलाई अझ बलियो बनाउने विषय भनेको सेभेनथ्री स्पोर्ट्सकै पृष्ठभूमि बेटिङ रहेको र यो कम्पनीले भित्र्याएको मुख्य प्रायोजक वानएक्स ब्याटको पृष्ठभूमि स्पष्ट रुपमा बेटिङकै छ। त्यस्तै, 'डाफा न्युज'ले पनि केही टीमलाई स्पोन्सर गरेको देखिन्छ, यो पनि बेटिङ पृष्ठभूमिकै कम्पनी रहेको छ। यस्तोमा प्रहरीले पनि अनुसन्धान सुरु गरिसक्दा नेपालमा फसिने भय पनि अलुवालियालाई भएको हुन सक्छ।

यस्तोमा सजिलै जतिन नेपाल फर्किएलान् भनेर विश्वास गर्न कठिन हुन्छ। तर, जतिन र सेभेनथ्री स्पोर्ट्सलाई देखाएर क्यान नेतृत्व भने यसमा पानीमाथिको ओभानो हुन मिल्दैन। सेभेनथ्री स्पोर्ट्सलाई बिडिङ नगराइ नेपाल भित्र्याउने क्यान नै थियो। संसददेखि अदालतसम्म यो विषयले प्रवेश पाउँदा सम्झौताबारे बलियो प्रतिरक्षा गर्ने क्यान नै थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलोपोष्टसँग जतिन आफूहरुको सम्पर्कमै रहेको र पैसाको व्यवस्था मिलाएर फर्कने आश्वासन दिएको बताए।

तर, उनी फर्कनु पर्ने भन्दा फर्कनु नपर्ने धेरै कारण देखिन्छन्। यदि यत्रो ठूलो प्रतियोगितालाई बिचमा पुर्‍याएर 'डिफेन्स' गरेको साझेदार संस्था सम्पर्कविहीन हुँदा खोजेर ल्याउन सक्दैन भने यसको दोष क्रिकेटको आधिकारिक संस्था क्यानमा नै किन नखनिएला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell