
काठमाडौं : कम्बोडियाको ग्रान्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परि मृत्यु भएका निराकार पाण्डेका परिवाससँगै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेट गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटमा निराकारका बुवा अग्नि पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरेका थिए।
भेटमा प्रचण्डसँगै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए।