PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो



रमेश पराजुली

पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ।

दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४० वर्षीया गुना कुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

त्यस्तै, दुर्घटनामा परी घाइते हुनेहरुमा बस चालक रैनादेवी छहरा गाउँपालिका-८ कै ३२ वर्षीय चेत बहादुर दर्जी, सोही ठाउँकी २२ वर्षीया श्रेया राना, १९ महिनाका दिपसन राना, २५ वर्षीया चुमा घर्ति, ४१ वर्षीय राम बहादुर बस्नेत, २२ वर्षीय सुर्य बहादुर रेश्मी, ७२ वर्षीया पुर्णकला दर्जी, ६० वर्षीया यमकली रास्कोटी रहेका छन्।

त्यस्तै, सोही ठाउँकी ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी गाहा, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाहा, ९ वर्षीया अप्सना रास्कोटी, ६५ वर्षीया पबित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया वर्षा भन्ने लिमकली पाण्डे, ३ महिनाकी आर्या पाण्डे र ७३ वर्षीया श्यानिकला बस्नेत रहेका छन्।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीवार राति सालझण्डी-ढोरपाटन सडकखण्डमा दुर्घटना भएको थियो। घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बस सडकबाट सय मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको डीएसपी थापाले बताए।

प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेहरुलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र एडमन सीटी हस्पिटलमा ल्याइएको उनले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell