PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोभिड-१९ पछि बढ्यो आयुर्वेदिक उपचारतर्फको आकर्षण



रासस

कोभिड-१९ पछि बढ्यो आयुर्वेदिक उपचारतर्फको आकर्षण
Photo: medicaldialogues.in

चितवन : कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्।

सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन्। यस्तै, औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन्।

आव २०७६/७७ मा आठ हजार सात सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७/७८ मा १२ हजार छ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो।

अधिकारीले भनिन्, ‘पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन्।’

सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ। अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ।

यसैगरी, प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६:३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मंगलवार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ।

केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको अधिकारीले बताइन्।

आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले एक सय ३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए। उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ। त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन्।

अमला, हर्रो, बर्रो, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ। उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ। उपकरण खरिदका लागि दुई करोड रुपैयाँ र कच्चा पदार्थ खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको उनले जानकारी दिए।

केन्द्रले बिहीवार पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका-१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए।

केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए। उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell