PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

‘बैंकिङ कसुर’को हब बन्दै काठमाडौं, प्रत्येक वर्ष प्रहरीमा उजुरीको चाङ थपिँदै



सविन ढकाल

‘बैंकिङ कसुर’को हब बन्दै काठमाडौं, प्रत्येक वर्ष प्रहरीमा उजुरीको चाङ थपिँदै

काठमाडौं : आर्थिक अपराधको श्रृंखला ह्वातै बढेको छ। प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै झन्डै गत वर्षको आर्थिक अपराधको हाराहारीमा पुगेको छ। बैंकिङ कसुरमा मुद्दा बढेर गएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

चालु आर्थिक वर्षको पाँच महिनामा देशभर ३ हजार ८ सय ५० वटा बैंकिङ कसुरमा मुद्दा दायर भएका छन्। जसमा २ सय ३९ जना मानिस समात्न प्रहरी सफल भएको छ।

अघिल्लो आर्थिक वर्षमा देशभर ५ हजार ३ सय ८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा १५ जना विदेशीसहित ४ सय ३६ जना मानिस मातिएका थिए। आर्थिक अपराधका घटना बढेकाले यसलाई न्यूनीकरण गर्नु अहिले चुनौती भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकबहादुर राई बताउँछन्।

‘ग्राफले आर्थिक अपराध बढेको देखाएको छ। यो हाम्रो लागि पनि चुनौतीको विषय पनि हो,’ डीआइजी राईले भने।

आर्थिक अपराधमध्ये सबैभन्दा धेरै चेक अनादरका घटना प्रहरी कहाँ पुग्ने गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिले पनि दैनिक १०/१२ वटा केस चेक अनादरसम्बन्धी हुने गरेका छन्।

चेक अनादरलाई अदालतले बैंकिङ कसुरमा नचलाउन भन्दै फैसला समेत दिएको थियो। चेक अनादर केस फौजदारी दायित्व हुने वा नहुने भन्नेमा अदालतले नै फैसला फेरिरह्यो। तर, त्यो दीर्घकालीन लागू हुन सकेन।

२०७६ असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बर बहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक अनादर मुद्दा बैंकिङ कसुरमा चलाउन नमिल्ने व्याख्या गरेको थियो। त्यसपछि प्रहरीलाई केही समय यस्ता केसको अनुसन्धान गर्नबाट छुटकारा मिल्यो।

चेक अनादरमा पीडित र पीडकबिच मिल्न चाहेमा मिल्न सक्ने कानुनी व्यवस्था नै छ। त्यही अनुसार महान्यायाधिवक्ता कार्यालयले २०७७ चैत २६ गते परिपत्र जारी गर्दै चेक बाउन्सलाई मिलापत्रमा टुङ्ग्याउन परिपत्र जारी गरेको थियो। त्यसपछि केही घटना मिलापत्रमा समेत भए।

गत बैशाखमा न्यायाधीश आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, सुष्मालता माधेमाको इजलासले चेक अनादरलाई बैंकिङ कसुर रहनेगरि फैसला सुनाएको थियो। त्यसैले अहिले पनि प्रहरीमा चेक अनादरका मुद्दा लिएर मानिस पुग्ने गरेका छन्।

पछिल्लो वर्ष देशभर बैंकिङ कसुरका अपराध बढ्दै गएको छ। आर्थिक वर्ष २०७३/७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए। तर, आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा यो सङ्ख्या २५ गुणाले वृद्धि भएर २ हजार ३७३ पुगेको थियो।

आर्थिक वर्ष २०७४/७५ मा ७७६ वटा बैंकिङ कसुरका घटना भए। जसमा काठमाडौं उपत्यकाभित्र मात्रै ४८८ वटा मुद्दा दर्ता भएका थिए। यी मुद्दाहरूमा ३१५ जना पक्राउ परे। जसमा तीन जना विदेशी नागरिकसमेत थिए।

आर्थिक वर्ष २०७५/७६ मा ३ हजार १६७ वटा मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७६/७७ झन् मुद्दा दर्ताको सङ्ख्या बढेर गयो। काठमाडौं उपत्यकामा २ हजार ९१० सहित देशभर ३ हजार ३०९ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक अपराधको हब काठमाडौं!

काठमाडौं उपत्यका जनसङ्ख्या र अन्य हिसाबले पनि अपराध सबैभन्दा धेरै हुनेमा पर्छ। त्यस्तै, आर्थिक अपराधसँग जोडिएको बैंकिङ कसुरका अपराध पनि अन्य जिल्लाहरू भन्दा काठमाडौंमा नै सबै भन्दा धेरै हुने गरेको छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दायर भएका छन्। चालु आर्थिक वर्षको पाँच महिनामा २ हजार ७ सय २ वटा मुद्दा दायर भएका छन्।

जबकि पुरै सुदूरपश्चिम प्रदेशमा जम्मा ३ वटा मुद्दा दायर भएका छन्। कर्णाली प्रदेशमा २०, लुम्बिनीमा २ सय १५, गण्डकीमा १ सय ७६, वाग्मतीमा ९१ वटा मुद्दा दर्ता भएको छ।

मधेश प्रदेशमा भने उपत्यकाका तीन जिल्लापछि सबैभन्दा धेरै ३ सय ९१ वटा मुद्दा दायर भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकबहादुर राईले जानकारी दिए। एक नम्बर प्रदेशमा २ सय ४९ वटा मुद्दा दायर रहेका छन्।

आर्थिक कारोबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा हुने भएकाले प्रविधि र अन्य कुराले पनि यहाँ सबैभन्दा धेरै आर्थिक अपराध हुने गरेको पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

चालु आर्थिक वर्षको पाँच महिनामा मात्र होइन यसअघिका अघिल्ला वर्षहरूमा पनि काठमाडौं उपत्यकाभित्र नै अन्य जिल्लाको तुलनामा आर्थिक अपराध भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। गएको आर्थिक वर्ष २०७८/७९ मा देशभर ५ हजार ३ सय ८३ वटा बैङ्किङ कसुरका मुद्दा दायर हुँदा काठमाडौं उपत्यकामा मात्र ४ हजार १ सय ४९ वटा मुद्दा दायर भएका थिए। जुन कुल मुद्दामा ७७ प्रतिशत हो।

सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा जम्मा २ वटा मात्र मुद्दा दायर भएका थिए। कर्णाली प्रदेशमा ५ वटा, लुम्बिनीमा १ सय ३८ वटा, गण्डकीमा १ सय ५७ वटा, वाग्मतीमा ८७ वटा, मधेश प्रदेशमा ५ सय ५६ वटा र प्रदेश १ मा २ सय ८४ वटा मुद्दा दायर भएका थिए।

अघिल्ला आर्थिक वर्षमा पनि काठमाडौंमा हुने आर्थिक अपराध/बैंकिङ कसुरका मुद्दाको सङ्ख्या कुल सङ्ख्यामा ६० प्रतिशत भन्दा बढी देखिएको छ। आर्थिक अपराधका घटनामा विदेशी नागरिकको संलग्नता समेत देखिन्छ।

बैंक ठगी, एटीएम प्रकरणमा सबैभन्दा धेरै विदेशी मुछिएका छन्। गएका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा बैंकिङ कसुर मुद्दामा १ हजार २ सय ९५ जना मानिसलाई प्रहरीले मुद्दा चलाएको थियो। जसमा ४९ जना विदेशी नागरिक रहेका छन्। आर्थिक अपराधमा प्रविधि बुझेका र पढेलेखेका मानिसकै धेरै संलग्नता देखिने गरेको छ।

काठमाडौं उपत्यकाभित्र नै सबै भन्दा ठूला (रकमको आकार) आर्थिक अपराध भएका छन्। सहकारी ठगीदेखि बैंकिङ घोटालासम्मका आर्थिक अपराधमा कलाकारदेखि पूर्व सांसदसम्म पीडित र पिडक भएका घटना धेरै छन्। सफल भए करोडौँ रुपैयाँ फाइदा हुने समाती हाले कानुनको फाइदा उठाउँदै थारै धरौटीमा रिहा हुने अपेक्षाले पनि मानिस आर्थिक अपराधको चङ्गुलमा फस्दै गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell