PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विवादित लिगमा शंकास्पद साझेदार : झेलको गन्धले सिआइबी हुँदै अख्तियारदेखि आइसीसीसम्मको चासो



मुकुन्द घिमिरे

विवादित लिगमा शंकास्पद साझेदार : झेलको गन्धले सिआइबी हुँदै अख्तियारदेखि आइसीसीसम्मको चासो

काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी टी २० लिग विवादित हुन थालेको खेल घोषणा भएयता नै हो। पटकपटक मिति सरेर सुरु भएको प्रतियोगिताको विवाद मध्यतिर आइपुग्दा उत्कर्षमा पुगेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अघि नेपाल क्रिकेट संघ (क्यान)ले बिडिङ नगरी विदेशी कम्पनी भित्र्याएको र नेपाली क्रिकेट बेचेको आरोप चर्किएको थियो। अदालतमा अझ यो मुद्दा टुंगिएको छैन भने भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सको पछिल्लो गतिविधिले प्रतियोगितामाथि लागेका आरोपलाई अझ बलियो बनाउँदै लगेको छ। बेटिङ पृष्टभूमिको कम्पनीलाई साझेदार बनाएकोमा आलोचना ब्यहोरेको क्यानले कम्पनीको बचाउ गर्दै आएको थियो। नेपाल टी २० लिगमा सेभेनथ्री स्पोर्ट्सले प्रायोजक ल्याएको थियो, वान एक्स ब्याट। न्युज कम्पनी भनिएको यो कम्पनी वानएक्स बेटसँग जोडिएर आलोचना पनि व्यहोरिरहेको छ।

यस्तै विवादकाबिच लिग सुरु भयो। अनि लिगमा जे नहुनु थियो, भयो त्यही। लिगमा 'स्पट फिक्सिङ' देखि बेटिङसम्मका इस्यु एकपछि अर्को गर्दै आइरहेका छन्। विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषयले झनै चर्चा पायो। उसो त श्रम स्वीकृतिकै कागजपत्र नमिलेका कारण शुक्रवारबाट सुरु हुनुपर्ने लिग एकदिन पछि सरेको थियो। लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी अख्तियारमा परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ। अख्तियारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ। लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो।  

खेल एकाएक अपराधतिर लम्किएको आशंका भएपछि गृहमन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको छ। त्यसो त प्रहरी प्रधान कार्यालय नक्सालको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले अहिले खेलमाथि लागेका आरोपबारे अनुसन्धान जारी राखेको छ। डिएसपीको कमाण्डमा सिआइबीको टोली मैदानबाहिर खटिएका छन्। अहिलेसम्म प्रहरीले खेलमा सट्टेबाजी गर्नेलाई पक्राउ गर्नेबाहेक अन्य सबुत प्रमाण हात पारिसकेको छैन।

'फिक्सिङ नै भन्ने प्रमाण अहिलेसम्म हात परिसकेको अवस्था छैन। आवश्यक अनुसन्धान गरिरहेका छौं,' सिआइबीका प्रवक्ता एसपी कमल थापाले भने।

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा नेपाल टी २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाएको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किङ्सबिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो। उनी बाहेक प्रहरीले यसअघि ५ जना भन्दा बढीलाई बेटिङको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

स्पट फिक्सिङमा केही 'क्लु'हरु प्रहरीले हात नपारेको भन्ने होइन। तर त्यसलाई भेरिफाइ भने गरिरहेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसँग प्रहरीले सोधपुछ गरेको छ। बुधबार दिउँसो अध्यक्ष चन्द केही खेलाडीसहित सिआइबीको केन्द्रीय कार्यालय पुगेर प्रहरीलाई केही जानकारी दिएका थिए। प्रहरीले आवश्यक देखिएको खण्डमा अन्य पदाधिकारी र खेलाडीसँग पनि थप सोधपुछ गर्ने भएको छ।

काठमाडौं नाइट्सका एकजना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलासा भएको छ। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एकजना खेलाडीलाई फिक्सिङको अफर आएको खुलासा गरेका थिए।

'अरु टीमको कुरा थाहा भएन, हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो। नियमअनुसार हामीले यो रिपोर्ट एसीयूलाई गरेका थियौं,' उनले भने, 'एप्रोच र फिक्सिङ कुरा फरक हो। कसैले तपाईंलाई जे पनि भन्न सक्छ। अप्रोच गर्‍यो भन्दैमा फिक्सिङ गर्छ भन्ने पनि हुँदैन। रिपोर्ट गरिसकेका छौं। एसीयूले डिक्लेयर पनि गरिसकेको छ,' मल्ले भने।

मल्लले कुन खेलाडीलाई कसरी अफर आयो भन्ने खुलाएनन्। यस सम्बन्धमा प्रहरीले पनि थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै फिक्सिङ टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले 'स्पट फिक्सिङ' को दाबी गर्दै प्रतियोगिता छाडेको सार्वजनिक रुपमा नै घोषणा गरेका छन्। यसले पनि घटनालाई थप कसिलो बनाएको छ। पहिलो लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए। फिक्सिङलाई अझ बलियो बनाउने विषय भनेको सेभेनथ्री स्पोर्ट्सकै पृष्ठभूमि बेटिङ रहेको र यो कम्पनीले भित्र्याएको मुख्य प्रायोजक वानएक्स ब्याटको पृष्ठभूमि स्पष्ट रुपमा बेटिङकै छ। त्यस्तै, 'डाफा न्युज'ले पनि केही टीमलाई स्पोन्सर गरेको देखिन्छ, यो पनि बेटिङ पृष्ठभूमिकै कम्पनी हो।

नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदले पनि नेपाल टी २० मा विकसित घटना क्रमलाई अनुसन्धान गर्न कमिटी गठन गरेको छ। क्यानको आयोजनामा जारी नेपाल टी–२० लिगकामा विदेशी खेलाडीहरुको श्रम स्वीकृती र प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेकोमा गम्भीर ध्यानकार्षण भएको राखेपले जनाएको छ।

राखेपले पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी र विसंगतीबारे ध्यानाकर्षण भएको भन्दै कार्यकारी समितिको बुधवारको बैठकले छानविनका लागि समिती गठन गरेको हो। नेपाल टी २० लिगमा फिक्सिङ, बेटिङ, विदेशी खेलाडीको श्रम स्वीकृति लगायतको विषयमा क्यान आलोचित हुँदै आएको छ।

'परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकको निर्णयले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको छ,' राखेपको विज्ञप्तिमा भनिएको छ। कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकासकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेको राखेपले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राखेपलाई १८ गते पत्र पठाउँदै श्रम स्वीकृतिबिना खेलाडी खेलिरहेको लगायतको उजुरीमा सातदिन भित्र आफ्नो रायसहित कागजात पेश गर्न भन्दै पत्र काटेको थियो।

त्यसबाहेक क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि यसमा चासो दिइसकेको छ। बिहीवार आइसीसीका पदाधिकारीहरुले नेपाल टी २० लिगमा सहभागी खेलाडी, अम्पायरलगायतसँग छलफल गरेका थिए। उनीहरुले क्यानसहित राखेप सदस्य सचिव टंकलाल घिसिङ र नेपाल प्रहरीको सीआईबीसँग पनि छलफल गरेका थियो। बिहीवार राखेपमा घिसिङसँग के विषयमा छलफल भएको थियो त? 'कन्फिडेन्सियल' भन्दै उनीहरुले यो विषय खुलाउन चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell