अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुख चयन हुन सकेको छैन। ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन्।
हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ। त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो। सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन चाहिन्छ। तर, बहुमत हुँदा पनि रिपब्लिन पार्टीका उम्मेदवार जित्न सकेका छैनन्। कारण उनलाई उनकै दलका सांसदहरुले विश्वास गरेका छैनन् र ११ पटकसम्म भएको निर्वाचनमा मत दिएनन्।
बिहीवारसम्म पटक भएको निर्वाचनमा कुनै परिणाम ननिस्किएपछि शुक्रवार पनि पाँचपटक निर्वाचन भयो। तर, रिपब्लिकन पार्टीका म्याक्कर्थीले आफ्नो मत झनै गुमाएका छन्। बिहीवारसम्म २०७ सांसदको मत जुटाइसकेका उनले ११ औं चरणसम्म आइपुग्दा २०० सांसदको मत पाएका छन्। जसकारण अमेरिकामा सभामुख चयन प्रक्रियामा अन्यौला छाएको छ।
म्याक्कर्थीलाई राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पको समर्थन भए पनि ट्रम्पका कट्टर समर्थक सांसदहरु नै म्याक्कर्थीको विरोधमा छन्। डेमोक्रेटहरु पनि उनको नाममा विश्वस्त हुन नसक्दा यो समस्या थप बल्झिएको हो।
रिपब्लिकन पार्टीले सभामुख चयनका लागि देखिएको समस्याबारे छलफल गर्न आफूहरु तयार रहेको बताएको छ। डेमोक्रेट पार्टीले पनि रिपब्लिकनलाई सहमतिमा आउन भनिसकेको छ। राष्ट्रपति जो बाइडेनले पनि रिपब्लिकनलाई सभामुख चयनमा लचकता अपनाउन भनिसकेका छन्। नयाँ सभामुख चयन नहुँदा केही साता अघि भएको निर्वाचनबाट निर्वाचित हाउसका नयाँ सदस्यहरुको शपथ ग्रहण हुन सकेको छैन। र, तीनदिनयता संसद संचालन पनि हुन सकिरहेको छैन। १६४ वर्षपछि अमेरिकी सदनमा यस्तो अवस्था सिर्जना भएको थियो। त्योबेला ९ पटकसम्म सभामुख निर्वाचनका लागि मतदान भएको थियो।