
काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने भएको छ। प्राधिकरणले आउँदो जनवरी १२ तारिखमा अन्तर्राष्ट्रिय वायुसेवाका लागि दर्खास्त आह्वान गर्ने तयारी रहेको प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आधिकारीक रुपमा संचालनमा आइसकेको छ। आगामी बिहीबार (जनवरी १२) हामी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि सूचना जारी गर्ने तयारीमा छौं,’ उनले भने,’त्यसको ५६ दिन पछि इच्छुक वायुसेवा कम्पनीले यो विमानस्थलमा नियमित उडान सुरु गर्नेछन्।’
पोखराको नयाँ विमानस्थलमा वायुसेवा कम्पनीहरुले न्यारोबडी जहाजमार्फत उडान-अवतरण गर्न सक्नेछन्।
गत आइतबारबाट औपचारिक रूपमा व्यवयसायिक उडान संचालन सुरु भएको यो विमानस्थलमा यतिखेर बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवाले नियमित उडान गर्दै आएका छन्। प्राधिकरणका अनुसार केही अन्तर्राष्ट्रिय वायुसेवाले पोखराबाट उडानको चासो देखाए पनि अनुमति लिने प्रक्रियामा औपचारिकरूपमा आइसकेका छैनन्।