PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

३२ सिट भएका प्रचण्डलाई नपत्याएका देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेकै हुन्?



प्रकाश भण्डारी

३२ सिट भएका प्रचण्डलाई नपत्याएका देउवाले लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेकै हुन्?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। अन्तिम समयमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर  नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् प्रचण्ड।

राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुस १० गते प्रचण्डले बुझाएको सांसदको हिसाब हेर्ने हो भने प्रधानमन्त्रीमा विश्वासको मत पाउन प्रचण्डले केही गर्नै पर्दैन। एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सहित ७ दल र ३ स्वतन्त्र सांसद गरि कूल १६९ जना सांसदको हस्ताक्षर बुझाएर प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

तर, अहिले प्रचण्डलाई कसैगरी विश्वासको मत नपुग्नने गरी कांग्रेस अघि बढेको चर्चा पनि उत्तिकै छ। आफू नेतृत्वको गठबन्धनलाई धोका दिएर प्रधानमन्त्री बनेका प्रचण्डलाई २६ गते नै रोक्न कांग्रेसले विभिन्न दलका शीर्ष तहका नेतासँग भेटघाट जारी राखेको छ।

बिहीवारमात्र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव महाराजगञ्जस्थित देउवा निवास पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा अहिले महाराजगञ्जस्थित डेराको घरमा बसिरहेका छन्। त्यहीँबाट देउवाले सरकारमा चाँडै ‘कमब्याक’ हुने हौसला प्रदान गरिरहेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन्।

‘विचलित हुनुपर्ने अवस्था छैन। ह्वी विल कमब्याक। हामी स्ट्रोङ भएर अघि बढ्छौं,’ देउवाको भनाई उद्धृत गर्दै बिहीवार पत्रकार सम्मेलनमा महतले भनेका थिए।

महतले सोही दिन गठबन्धनको आयु छोटिन सक्ने बताएका थिए। ‘यो गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना हामीले देखिराख्य छौं,’ उनको भनाई थियो। आयु छोटिने आधारहरु के के हुन् त? यसबारे भने महतले मुख खोलेनन्।

यही मेसोमा कांग्रेस सभापति देउवाले प्रचण्डलाई रोक्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको बताइएको छ। राप्रपा सांसद ध्रुवबहादुर प्रधानले पनि यो अफरबारे पुष्टि गरेका छन्। शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको सर्वदलीय बैठकपछि अनौपचारिक कुराकानीका क्रममा प्रधानले यसबारे मुख खोलेका हुन्।

‘प्रधानमन्त्रीमा अफर गर्न कांग्रेसका केही मान्छे आएका थिए। तर हामीलाई प्रधानमन्त्रीमा अफर गरेको आभाष मिलेको छैन,’ प्रधानले भने। राप्रपा अध्यक्ष लिङ्देनलाई भेट्न को पुगेका थिए? यसबारे भने प्रधानले केही खुलाएनन्।

राप्रपालाई प्रधानमन्त्रीको अफर गरेकोबारे विषय कांग्रेसले अस्वीकार गर्दै आएको छ। ३२ सिट भएका प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्ने कांग्रेसले १४ सिटेलाई उक्त पद अफर गर्ला त? कांग्रेसका पदाधिकारीहरु उल्टै प्रश्न गर्छन्।  

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि आफ्नो पार्टी अहिले नै सत्ता ढाल्ने खेलमा नलागेको दाबी गरे। ‘हामी समीकरण बनाउने र भत्काउने खेलमा छैनौं,’ बैठकपछि लेखकले भने।

प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएपछि कांग्रेसले शुक्रवारको केन्द्रीय समिति २८ गतेको लागि सारेको छ। कांग्रेसले आफ्नो रणनीति तय गर्न भोलि शनिवार संसदीय दलको बैठक डाकेको छ। प्रमुख सचेतक लेखकले पार्टीलाई सशक्त बनाउने आन्तरिक तयारीमा कांग्रेस लागेको तर्क गरे।

‘हामी समीकरण बनाउने र भत्काउनेमा छैनौं। पार्टीलाई सशक्त बनाउने आन्तरिक तयारीमा छौं। भोलिदेखि संसदीय दलको औपचारिक बैठक सुरु हुन्छ,’ लेखकले भने।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने प्रचण्डले हस्ताक्षर गरेका सांसदको भन्दा बढी पक्षमा मत पाउने दाबी गरे। सत्तामा निरन्तरता दिने दाउमा बसे पनि अन्तिम समयमा सहयात्रीबाटै धोका पाएर बालुवाटारबाट बाहिरिएका देउवाले के गर्लान्? यसको नतिजाका लागि भने २६ गतेको विश्वासको मतको परिणाम नै कुर्नुपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell