11.jpg)
काठमाडौं : कांग्रेस विश्वकपको एम्बाप्पे भएको प्रतिक्रिया दिएका महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम ओभरमा गम्भीरता नपुगेर क्षति व्यहोरेको बताएका छन्। शुक्रवार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि शर्माले उक्त भनाई राखेका हुन्।
संसदको पहिलो दल बने पनि कांग्रेस प्रतिपक्षमा पुगेपछि नेतृत्व र महामन्त्रीहरु आरोपप्रत्यारोपमा उत्रिएको थियो। यही तिक्तता मेट्दै देउवा र कांग्रेसका दुई महामन्त्री शर्मा र गगन थापाले आज देउवासँग भेट गरेका हुन्। पार्टीको सभापति र महामन्त्री भेट्नु सामान्य भएको उल्लेख गर्दै शर्माले अब नयाँ ढंगले अघि बढ्नेसमेत बताए। ‘एउटा राजनीतिक दलको सभापति र महामन्त्रीबिचको भेट सामान्य नै रहनुपर्ने हो। यसअघि पनि निरन्तर छलफल भएकै हो,’ शर्माले भने, ‘क्रिकेटको अन्तिम ओभरमा यदि गम्भीरता पुगेन भने जुन क्षति हुन्छ हामीले ब्यहोरिसक्यौ।
फेरि पनि नयाँ ढंगले अघि बढ्नुको विकल्प हामीसँग छैन।‘
शर्माले महामन्त्री को पाइलटजस्तो भएको उल्लेख गर्दै जहाज दुर्घटना हुँदा पाइलटले को पाइलाटलाई दोष दिन नमिल्नेसमेत बताए।
‘हाम्रो केन्द्रीय समिति २८ गते बस्दैछ। भोलि संसदीय दलको बैठक बस्दैछ। सभापतिज्युलाई हामीले आफ्नो दृष्टिको राख्यौ यसरी दुर्घटनामा पुग्नु हुँदैन थियो। हामीले सावधानी अपनाउन सकेनौ। हामीले पनि आत्मलोचित गर्यौं। हामीले पनि पर्याप्त हस्तक्षेप गर्न सकेनौै भनेर’ महामन्त्री शर्माले भने, ‘तर पनि सेफ ल्यान्डिङ भयो पाइलटलाई प्रशंसा हुन्छ। दुर्घटना भयो भने को पाइलटलाई दोष लगाउनतिर लाग्यो भने राम्रो हुँदैन। महामन्त्री भनेको कोपाइलट हो।‘
छलफल संसदमा प्रभावकारी भूमिका निभाउन, आउँदै गरेको केन्द्रीय समिति बैठक र २५ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे केन्द्रित भएको शर्माले बताए।
शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर नगरेकोसमेत दाबी गरे। ‘एकताबद्ध भएर जजसको कमजोरी भएको हो त्यसलाई केलाएर अघि बढ्ने हो। कुनै दलको नेतालाई प्रधानमन्त्री पदमा प्रस्ताव राखेको छैन,’ उनले भने, ‘हामी संस्थागत रुपमा कतैबाट त्यो भएको छैन। कतै चिया खाएको ठाउँमा कसैले भनेको भए अर्कै कुरा। यो सरकार अभीकी अभी भत्काउने भन्ने कुरामा कांग्रेस लागेको छैन।‘