PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

७५ वर्षे ‘माइ डियर’ रामबाबु : ‘एनिमेटेड’ बालगीतमार्फत जोडिँदै नाति पुस्तासँग



लक्ष्मी बलायर

७५ वर्षे ‘माइ डियर’ रामबाबु : ‘एनिमेटेड’ बालगीतमार्फत जोडिँदै नाति पुस्तासँग

मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म

काले भन्छन् मलाई तर मान्छे गोरो म

‍सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन्

म त अझै गोठमा, छैन हाँसो ओठमा

चर्चित नेपाली बालगीत ‘मेरो गाउँ ज्यामिरे’ को सुरुवाती अंश हो यो। रेडियोमा यही गीतसुनेर हुर्केकाहरुलाई आज पनि यो गीतले बाल्यकालमा फर्काइदिँदो हो। म पनि यही गीत सुन्दै हुर्केँकी। भर्खरै ओस्करका लागि सिफारिसमा परेको ‘ऐना झ्यालको पुतली’ फिल्ममासमेत यो गीत सुन्न सकिन्छ।

सानोमा धेरैले गुन्गुनाएको यो बालगीतका रचनाकार हुन्, रामबाबु सुवेदी। अहिले यिनै सर्जकसँग भेट्न पाउँदा मख्ख छु म पनि।

रामबाबु प्राय:लाई ‘माइ डियर’ भन्दै सम्बोधन गर्छन्। त्यसैले धेरैले उनलाई ‘माइ डियर सर’ भनेर चिन्छन्। न्वारनको नाम थियो झलनाथ, बोलाउने नाम बाबुराम। पछि सबैले उनलाई रामबाबु भनेर बोलाउन थाले। अहिले - माइ डियर रामबाबु।

आइतबार बिहान घामसित उठें म

हातमुख धोएर पढ्न बसें म

सोमवार बिहानै आमासित उठें म

कापीकलम लिएर लेख्न बसें म

सानोमा यी गीत नपढ्ने को होला र? कक्षा २ यही बालगीत घोकाएरै सातै बार कण्ठ गरेकी हुँ।

धेरैको मनमनमा बसेको यस्तो गीत कसरी लेखियो होला? जान्ने मन कसलाई नहोला? यही कुरा मैले पनि सोधे रामबाबुलाई।

रोचक किस्सा झिकिहाले उनले। २०४२ ताका रामबाबु बूढानीलकण्ठ स्कुलमा नेपाली पढाउँथे। त्यतिबेला स्कुलको प्रसिद्धि देशभर फैलिएको थियो।

७५ कटेका सुवेदीले पुराना दिन सम्झिए, ‘कक्षा ४ मा सबै विद्यार्थीलाई सातबारबारे पढाए र याद गर्न भनेँ। अरुले याद गर्न सके। तर जुम्लाका एक जना विद्यार्थीले भने बार याद गर्नै सकेनन्।’

त्यसपछि ती बालकलाई नयाँ तरिकाबाट सिकाउने सोचसहित उनले तयार पारे  : सात बार, सातै दिन। ती बालकसहित सबैलाई सुनाए र ‘ब्ल्याक बोर्ड’मै लेखे। त्यसपछि जुम्लाका ती बालक सात बारमा पोख्त बने।

पत्रपत्रिकामा पनि छापियो यो गीत, अनि चर्चित भयो। विसं २०५२ देखि कक्षा २ को पाठ्यक्रममा राखियो यो गीतलाई। हाल भने यो गीत पाठ्यक्रमबाट हटिसकेको छ। जसको सट्टा ‘पुस्तकका पानामा’ राखिएको छ। पाठ्यक्रमबाट झिकेपनि आइतवार बिहानैको अझै खोजी हुन्छ। विद्यालयका शिक्षकशिक्षिका यही गीत 'सर्च' गर्दै सुनाउँछन्। विद्यार्थीलाई घोकाउँछन्, नचाउँछन्।

मेरो गाउँ ज्यामिरे तयार पार्नुको रहस्य पनि खोले उनले।

शिक्षक छँदा गाउँगाउँ पुगेर बुढानिलकण्ठका स्कुलको छात्रवृतिका लागि विद्यार्थी खोज्नु उनीहरुको काम थियो। यसै क्रममा उनी पनि इलाम पुगे। परीक्षा लिएर फर्किँदा उनले चौतारामा स्कुल जाने उमेरका १०/१२ जना बालबालिका देखे।

जसमध्येका एक बच्चालाई उनले सोधेछन्,‘बाबु तिम्रो नाम के हो? सुवेदीले तीनपटक सोध्दा पनि ती बालकले केही जवाफ फर्काएनन्। बरु अर्केले भनिदिए,‘काले हो यसको नाम। अनि गाउँ चाँहि ज्यामिरे।’

‘हेर्दा गोरो र चिटिक्क परेकाको नाम काले। रमाइलो लाग्यो मलाई। त्यसपछि त्यही ज्यामिरे अनि कालेलाई जोडेर यो गीत तयार पारेँ,’सुवेदीले भने।

आमाको लोककथा सुनेर साहित्यमा रुचि

कास्कीको हंसपुरमा जन्मेका रामबाबुले सात वर्षकै उमेरमा बुवा गुमाए। बुवा गुमाएपछि परिवारको सबै जिम्मेवारी उनकी आमाकै काँधमा आयो। दुई बच्चा हुर्काउन गाह्रो भएता पनि छोराछोरीलाई पढाउने ठूलो चाहना थियो उनमा। पण्डितकी छोरी भएकाले लोककथाहरु कन्ठै थिए। त्यसैले उनी राति सुत्दा दुबैलाई लोककथाहरु सुनाउँथिन्। आमाको लोककथा सुनेर हुर्केका उनी आमालाई नै साहित्यिक यात्राको पहिलो गुरु मान्छन्।

‘मेरी आमाको लय मिठो थियो। घरमा बैनी पार्वती, म र आमामात्र थियौँ। आमाले बैनी र मलाई लोकलयमै सुताउनुहुन्थ्यो। आमाको कथा सुन्दासुन्दा साहित्यप्रतिमा रुचि जागेको हो’, उनले सुनाएँ।

सांस्कृतिक रुपले धनी हंसपुरमा भजन, चुट्का, सोरठी र दोहोरी भाकाहरु निकै सुनिन्थे। जसले उनको कलाप्रतिको मोह बढ्दै गयो। माधव घिमिरे, लेखनाथ पौडेल र धर्मराज थापाजस्ता कविताहरु कण्ठस्थ पार्थे उनी। पछि भने आफैँ साना कविताहरुलेख्न थालेका हुन् उनले।

काठमाडौं आएपछि…

१३ वर्षकै उमेरमै बिहे गरेका उनी एसएलसी सकाएर विसं २०२० मा काठमाडौं आए। ‘आइए’ भर्ना भए। पढ्दै २०२२ सालदेखि साहित्यिक यात्रा अघि बढाए। त्यतिखेर बनारसबाट प्रकाशित भानूदय पत्रिकामा उनको ‘प्रभात’ शीर्षकको कविता छापियो। त्यो उनको 'करियर'को पहिलो प्रकाशित कविता हो।

त्यसपछि २०२४ सालमा संयुक्त कवितासंग्रह दुई धारा प्रकाशित गरे। त्रिचन्द्र कलेजबाट स्नातक गरेका उनले ३० सालदेखि भने फर्पिङ स्कुलमा शिक्षकको रुपमा पढाए। बालबालिकालाई पढाउँदा पढाउँदै बाल साहित्यिकप्रतिको उनको मोह बढ्न थाल्यो। विसं २०३६ सालमा उनी बुढानिलकण्ठ स्कुलमा आबद्ध भएपछि त उनले बालकवितासंग्रह ‘भ्यागुतो र बाच्छी’ प्रकाशित गरे। त्यसपछि खण्डकाव्य 'लू सुन' र ‘कमिनी आमा’ समेत निकाले।

२०३८ सालमा बालकोसेली पत्रिकाको स्थापना भइसकेको थियो। त्यो नेपालका प्रथम बाल साहित्यकार शान्तदास मानन्धरद्वारा प्रकाशित जेठो पत्रिका समेत हो। शान्तदासले बालसाहित्यमा गाडेको जगका कारण आफूलाई सहज भएको ठान्छन् रामबाबु।

२०४१ सालमा बालकोसेलीलगायत पत्रपत्रिकामा ‘जमुनीको छोरो’ प्रकाशित भयो। जसले सुवेदीलाई नयाँ पहिचान दिलायो। शिक्षकका रुपमा चिनिएका उनीपछि बालसाहित्यकारका रुपमा पनि चर्चित बने। जमुनीको छोरोबाट पाएको प्रतिक्रियाले उनी थप उत्साहित भए। त्यसपछि २०४२ सालमा ‘आइतबार बिहानै’ गोरखापत्रमा प्रकाशित भयो, जुन एक बालगीत मात्र बनेन, सात बार याद गर्ने सुत्र बन्यो। पत्रपत्रिकामा प्रकाशित भइसकेपछि यस बालगीतको खोजी हुन थाल्यो। अन्तत: २०५२ सालमा यस गीतलाई कक्षा २ को नेपाली पुस्तकको पाठ्यक्रममा राखियो।

पहिले पत्रिकामा एउटा कविता प्रकाशन गरेपछि १५ रुपैयाँ पाउने गरेको उनी सम्झन्छन्। सुवेदीले २०५६ सालमा साझा बालसाहित्य पुरस्कारसमेत पाए।

सुवेदीका घान्द्रुक झलल, पानी पानी, भँगेरी, नेपाल आमा, आमाजस्ती गुरुमा, म हुँ फलाम, बगैँचाकी चरि, सहिदकी छोरी,इलमी र अल्छे, आफ्नै आमा जाती, जूनकिरी लगायतका ४ सय बालसामाग्रीहरु प्रकाशित भइसकेका छन्।

तर, आफूलाई बालगीत ‘जमुनीको छोरो’ नै चिनाएको बताउँछन् उनी। ‘मलाई चर्चा दिने बालगीत 'ज्यामिरे' नै हो। अनि दोस्रोमा चाँहि 'आइतबार बिहान' पर्छ। आइतबार उपयोगिताले बढी प्रयोग भएको हो। बार सिकाउन पनि सजिलो भएर विद्यालयको पनि बढी झुकाव भयो। तर, मलाई चिनाउने जमुनीको छोरो नै हो। अनि व्यापकता दिने भने आइतवार बिहान हो,’उनले भने।

दरबारसँगको सम्बन्ध

सुवेदीले बूढानीलकण्ठ स्कुलमा तीन दशक बिताए। सोही क्रममा उनी दरबारसँग पनि नजिक भए। तत्कालिन राजा वीरेन्द्र शाहका छोराछोरीलाई दरबारमै पढाउने शिक्षकको आवश्यकता पर्‍यो। जसमा सुवेदीलाई नेपाली राम्रो पढाउँछ भनेर छनोट गरियो। २०४० देखि २०५८ सालसम्म लगातार दरबारमा पढाउन गएको उनी स्मरण गर्छन्।

‘मैले दरबारमै गएर श्रुति, निराजन र दीपेन्द्रलाई नै पढाएको थिएँ। बूढानीलकण्ठको जागिरसँगै बिहान र साँझ दरबार गएर पठाउँथे। एउटालाई पढाएको महिनाको ५ हजार तलब थियो,’उनले भने।

दीपेन्द्र र निराजन ‘ओ लेभल’ पढ्न बेलायत जाँदा आफू पनि सँगै गएको सुवेदी सुनाउँछन्। ‘त्यो बेला राजाका छोराहरु विदेशमा ‘ओ लेभल’ पढ्न जान्थे। दीपेन्द्र र निराजन बेलायतको इटोन कलेज पढ्न जाँदा नेपाली पढाउनको लागि म पनि दुईपटक पुगेको थिएँ। दुबैको लगाएर म २ वर्ष बेलायत बसेको छु। महिनाको ३ हजार डलर तलब थियो। जुन पैसाले मैले सोह्रखुट्टेमा ८ आना जग्गा किनेको थिएँ।’

‘एनिमेटेड’ बालगीतमा जोड

प्रविधिको विकाससँगै हरेक विषय 'डिजिटलाइज्ड' हुँदैछ। रामबाबुलाई पनि छुटिन मन लागेन प्रविधिसँग। एकदिन युट्युबमा उनले आफ्नै बालगीतमा भिडियो बनेको देखे। भ्युज पनि लाखौं थियो। तर, उनको नाम भने कहिँकतै उल्लेख थिएन। त्यसपछि उनलाई लाग्यो,‘मेरा यति धेरै बालगीत छन् किन आफैँ अगाडि नसर्ने?’

त्यसपछि उनले युट्युबमा अरु बालसामाग्री खोजे। जसमा प्राय हिन्दी र अंग्रेजीमात्र भेटाए। ती भिडियोमा करौडौं भ्युज थियो। बालबालिकाका लागि तयार पारिएका भिडियोमा भ्युज देख्दा उनलाई पनि युट्युबमा जोडिने हुटहुटी बढ्यो।

‘युट्युब हेर्दा हिन्दी बालगीत र कथाहरु मात्रै भेटिने। नेपाली बालसाहित्यका सामाग्री त एकदम कम। विदेशी बालगीतमा निकै राम्रो भ्युज थियो। युट्युबमा नेपाली बालगीत नभएकै कारण हाम्रा बच्चाहरुले हिन्दी हेर्न बाध्य नहुन् भनेर यो काम अघि सारेको हुँ,’उनले भने।

बालसाहित्यलाई पनि डिजिटल प्लेटफर्ममा ल्याउन आवश्यक रहेको बताउँछन् उनी। ‘युट्युब हेरिसकेपछि अब बालसाहित्य लेखेर मात्रै हुँदैन भन्ने कुरा बुझें। किनकी आजभोलिका बच्चाहरु किताब पढ्नभन्दा डिजिटल डिभाइसमा झुम्मिन्छन्। फेरि युट्युबमा संसारभरिबाट नै हेर्न सकिन्छ। आफैसँग भएका बालगीतलाई किन नयाँ माध्यममा नपस्किने भनेर भिडियो बनाउँदै युट्युबमा अपलोड गर्न थालें।’

२०७७ सालमा ‘रामबाबु सुवेदी’ युट्युब च्यानल एकाउन्ट खोले उनले। अनि सुरु भयो बालसाहित्यको डिजिटल यात्रा। सुरुमा अपलोड गरे - आफ्नै आमा जाती। कुन्ती मोक्तानको स्वर रहेको गीतको भिडियोमा स्कुले छात्राहरुको नृत्य छ। सुरुमा हालेका भिडियो खासै मन पराएनन् दर्शकले। तर पनि उनी निराश भएनन्।

‘'एनिमेटेड' भिडियोले पो बालबालिकालाई तान्छ त, ’ यही सुने उनले अनि ‘जमुनीको छोरो’ को एनिमेटेड भिडियो बनाए। साथै चलेका गायकगायिकालाई बालगीतमा स्वर भर्न लगाए। उनका बालगीतमा अञ्जु पन्त, बेनुका राई, मेलिना राई सम्मका स्वर छन्। एउटा ऐनिमेटेड भिडियो बनाउन नै लाखौँ खर्च हुने उनी सुनाउँछन्। रामबाबुलाई यो अभियानमा उनका विद्यार्थीहरुले पनि साथ दिएका रहेछन्।

लगातारको प्रयासले दुई/तीन वर्षपछि बल्ल उनको कामले लय समात्न थालेको छ। हालसम्म सुवेदीले युट्युबमा लगभग तीनदर्जन भिडियोहरु राखिसकेका छन्। जसमा एनिमेटेड भिडियोमात्रै १७ वटा छन्। यो आलेख तयार पार्दासम्म उनको युट्युबमा सब्सक्राइबर २४ हजार पुगिसकेको छ। युट्युबमा भ्युज राम्रो आएसँगै थोरै भएपनि डलर आउँदा मख्ख छन् सुवेदी।

‘बिस्तारै मेरो काम सफल हुँदैछ। अहिले भ्युज पनि राम्रो आउँदैछ। कुनै भिडियोमा त मिलियन भ्युजसमेत आइसकेको छ। युट्युबले पनि थोरै भए पनि डलर दिन थालेको छ। जुन पैसाले एउटा फाउन्डेसन खोलेर बालबालिकाको लागि अझै काम गर्न मन छ,’  उत्साहित हुँदै सुवेदीले भने।

बालबालिकालाई साहित्यको आवश्यकता भए पनि सरकारले यस क्षेत्रमा खर्च नगरेकोमा दुखेसो पोख्छन् उनी।

‘साहित्यमा सरकारले खर्च नै गरेको छैन। सडक बनाउन करौडौको बजेट छुट्याइन्छ। तर,साहित्यमा खर्च गर्न नै गाह्रो मान्ने गर्छन्। मैले चुनावताका सबैका घोषणापत्र पढे। तर, कुनैमा पनि कला साहित्यलाई सम्बोधन गरेको भेटिनँ। हाम्रो नेपालमा कला/साहित्य नेताहरुको दिमागमै हुँदैन,’ उनले भने।

सुवेदी अहिले पनि बालगीतको रेकर्डदेखि छायाङ्कनको दौडधुप गरिरहन्छन्। साथै उनी लेखनमा पनि सक्रिय छन्।

आराम गर्नुपर्ने उमेरमा यस्तो दौडधुप?

उनको जवाफ थियो, ‘मेरो जीवन नै बालसाहित्य हो। जीवनमा अब केही दिने हो भनेर मैले यो यात्रा तय गरेको हुँ। त्यसैले केही दिन्छु भनेर लागेपछि पैसाको वास्ता नहुँदो रहेछ। आफूसँग भएको पैसा अब बालबालिकाकै लागि खर्च गर्न मन छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell