PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अमेरिकामा सभामुख चुन्न ५ दिनसम्म निर्वाचन, १५ औं चरणको मतदानबाट केभिन भए निर्वाचित



पहिलोपोस्ट

अमेरिकामा सभामुख चुन्न ५ दिनसम्म निर्वाचन, १५ औं चरणको मतदानबाट केभिन भए निर्वाचित
Photo : Getty Images

अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुखमा रिपब्लिकन केभिन म्याक्कर्थी निर्वाचित भएका छन्। १५ औं चरणसम्म पुगेको मतदानपछि केभिन सभामुखमा निर्वाचित हुन सफल भएका हुन्।

सभामुखका लागि पाँचदिन लगाएर १५ पटक निर्वाचन भएको थियो। आफ्नै दलको सांसदहरुको समर्थन जुटाउन नसक्दा हाउसमा बहुमत हुँदाहुँदै पनि केभिन १४ पटक सभामुख बन्नबाट रोकिएका थिए। हाउसमा रिपब्लिकन पार्टीको २२२ सिट छ। र, सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन चाहिन्छ। तर १४ पटकसम्म उनलाई उनकै सांसदले मत नदिँदा अमेरिकी इतिहासमा पहिलोपटक सभामुख निर्वाचित गर्न १५ पटक मतदान भएको थियो। यसअघि सन् १९२३ मा अमेरिकामा सभामुखको निर्वाचनका लागि ९ पटक मतदान भएको थियो।  १६४ वर्षपछि अमेरिकामा सभामुख छान्न यति धेरै समय लागेको हो।

१५ औं मतदानमा केभिन २१६ मत प्राप्त गर्दै सभामख निर्वाचित भएका हुन्। डेमोक्रेटिक उम्मेदवार हकिम जेफ्रिजले २१२ मत पाए। हाउसमा डेमोक्रेटसँग २१२ सिट छ। डेमोक्रेटहरुहरुले भने मतदानमा सरुवातदेखि नै एकता प्रदर्शन गरेका थिए। ६ जना सांसदहरुले भने कुनै उम्मेदवारलाई मत दिएनन्।

म्याक्कर्थीलाई राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पको समर्थन थियो। तर, ट्रम्पका कट्टर समर्थक सांसदहरु नै म्याक्कर्थीको विरोधमा थिए। जसकारण १४ औं चरणसम्म भएको मतदानमा पनि सभामुख निर्वाचित हुन सकेको थिएन। अन्तिममा ट्रम्प समर्थक सांसदहरुले केभिनलाई मत दिने निर्णय गरेसँगै १५ औं चरणमा उनी सभामुख निर्वाचित भएका हुन्।

निर्वाचित भएसँगै केभिनले शपथ ग्रहणसमेत गरेका छन्। उनले सभाखुको रुपमा पहिलो प्रतिक्रिया दिँदै 'गाह्रो काम सुरु भएको' बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell