
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
केही बेर अघि मात्रै पार्टी सभापति शेरबहादुर देउवा सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेका थिए। देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि आज पहिलोपटक दलको बैठक बस्न लागेको हो। त्यसैमा सहभागी हुन देउवा कांग्रेस संसद एवम् श्रीमती आरजु राणा देउवासँगै सिंहदरबार पुगेका हुन्।
संसदीय दलको बैठकमा सहभागी हुन कांग्रेस सांसदहरु अहिले सिंहदरबार पुगिरहेका छन्। बैठक आज १ बजे बस्ने भनिएको थियो। त्यसैले केही सांसदहरु समयमा नै बैठकस्थल पुगेका थिए। तर देउवा ढिला आउँदा बैठक समयमा सुरु हुन नसकेको हो। देउवा नआउँदा सांसदहरु घाम ताप्दै भलाकुसारीमा व्यस्त थिए।
देउवा र आरजु कार्यालय पुगे लगत्तै बैठक सुरु भएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने जनाइएको छ।
२६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ। यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीसँग समेत छलफल गरेका थिए।