
सांघाई : कोभिड-१९ नियन्त्रणसम्बन्धी नियम खुकुलो भएसँगै चिनियाँ जनसंख्या यतिबेला वार्षिक यात्रामा निस्किएको छ। चीनको नयाँ वर्षको रुपमा रहेको ‘वसन्त पर्व’का लागि मानिसहरु आफ्नो गृहनगर तिर लागेका छन्।
यो यात्रा वार्षिक रुपमा हुने विश्वकै सबैभन्दा ठूलो मानव यात्रा हो। शनिवारदेखि बसन्त पर्वका लागि यात्रा सुरु भएको छ। यस वर्ष वसन्त पर्व जनवरी २१ मा परेको छ। मानिसहरु आफ्नो काम गर्ने थलोदेखि गृहनगरतिर प्रस्थान गर्नका लागि रेल स्टेसन र विमानस्थलमा लाम लागिरहेका छन्।
यस वर्षका लागि ४० दिन लामो वसन्त पर्वको छुट्टी जनवरी ७ शनिवारदेखि सुरु भएको छ। यो छुट्टी फेब्रुअरी १५ सम्म चल्ने छ।
शनिवार मात्र ६० लाख बढीले रेल यात्रा गरेको र १० हजार बढी यात्रुहरु आन्तरिक उडान मार्फत यात्रा गरेको ग्लोबल टाइम्सले जनाएको छ।
यसअघि नै कोभिड-१९ कै कारण विश्व विद्यालयहरुले डिसेम्बरदेखि नै सेमेस्टरको वार्षिक परीक्षा अनलाइनबाट गर्ने गरी विद्यार्थीहरु बिदा गरिसकेका छन्।
अघिल्ला २ वर्ष चिनियाँ जनताहरु वार्षिक यात्रामा निस्किन पाएका थिएनन्। कोभिड-१९ विरुद्ध चिनियाँ सरकारले लिएको ‘शून्य कोभिड’ नीतिका कारण उनीहरु आफ्नो गृह नगर जान पाएका थिएनन्।
तर, परिस्थिति बदलिएको छ। चीन शून्य कोभिड नीतिबाट पछि हटेको छ। यस वर्ष वसन्त पर्वको बेला करिब २ अर्ब १० करोड यात्रा हुने अपेक्षा गरिएको छ। जुन गत वर्ष भन्दा ९९.५ प्रतिशतले बढी हुने छ।
यस पर्वका बेला सबैभन्दा बढी मानिस याङ्जी नदी डेल्टा क्षेत्रले स्वागत गर्छ। यो ४० दिने यात्रामा त्यहाँका रेलमार्गले ६ करोड यात्रुलाई सेवा दिने छ जुन गत तीन वर्षकै धेरै हो।
त्यस्तै, क्वाङदोङ क्षेत्रमा रेलमार्गमार्फत २५.४ मिलियनले यात्रा गर्ने अपेक्षा गरिएको छ। त्यसका लागि क्षेत्रीय रेल सञ्चालकले थप रेलको व्यवस्था गर्ने तयारी गरिरहेको सिन्ह्वाले जनाएको छ।
डिसेम्बर ७ देखि चीनले कोभिड-१९ सम्बन्धी पुरानो नीतिलाई परिवर्तन गेको छ। जनवरी ८ आइतवारदेखि कोभिड-१९ को व्यवस्थापनलाई ख वर्गमा राखेर चीनले व्यवस्थापन गर्दै छ।
यसले यात्रुलाई सहज बनाउनेछ। लक्षणबिनाका कोभिड-१९ संक्रमितले पनि यात्रा गर्न पाउने छन्। त्यस्तै, विदेशी यात्रुलाई पनि थप सहज प्रवेशको व्यवस्था गर्दै छ।
यो अवधिमा एयर चाइनाले मात्र ५८ हजार ६३३ उडानलाई निश्चित गरेको छ। जुन गत वर्ष भन्दा ७५.९ प्रतिशतले बढी भएको कम्पनीलाई उदृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।
एयर चाइनाले दैनिक एक हजार ४४५ उडान भर्दै छ। हवाइ उडान मार्फत यात्रा गर्नेको संख्या २०१९ को तुलनामा ७३ प्रतिशत पुग्ने बताइएको छ।त्यस्तै, चाइना रेलवेले यस अवधमा ६ हजार ७७ वटा रेल चलाउने छ।
पछिल्लो व्यवस्था अनुसार चीनको यात्रा मन्त्रालय र अन्य १३ वटा निकायले निर्देशिका जारी गर्दै यसको व्यवस्थापनका लागि पहल थालेका छन्।
उत्तरी क्षेत्रमा हिउँ पर्ने र चिसो हुने हुँदा त्यसको व्यवस्थापन, यस अवधिमा रेलमार्गको व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको छ। साथै चीनको राज्य परिषद्ले यात्रायात क्षेत्रका कामदारहरुका लागि स्वास्थ्य सेवा र उपचारमा प्राथमिकता दिन निर्देशन दिएको छ।
त्यस्तै, चीनले ट्रान्सपोर्ट हब र औद्योगिक क्षेत्रहरुमा बुस्टर डोज दिन थालेको छ। साथै, लामो दुरीका रेलमा प्रयाप्त आपतकालीन स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्न राज्य परिषद्ले निर्देशन दिएको छ।
त्यस्तै, सार्वजनिक यातायात सञ्चालकलाई यातायात मजदुरहरुको पर्याप्ततालाई सुनिश्चित गर्नसमेत निर्देशन दिइएको छ।
कोभिड-१९ सम्बन्धी नियम उल्लंघन गर्नेलाई सजाय कम
यसैबिच, आइतवारदेखि चीनले कोभिड-१९ नियन्त्रणसम्बन्धी नियम उल्लंघन गर्नेलाई दिइने सजायमा पनि कटौटी गर्दै छ।
शनिवार त्यहाँको नियामक निकायले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। अब हेल्थ क्वारेन्टाइनसम्बन्धी नियम उल्लंघन गर्नेले अपराधिक सजाय पाउने छैनन्। यसअघि नियम उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको सजाय थियो।
कोभिड-१९ व्यवस्थापनलाई ‘ख’ वर्गमा झारे पनि त्यहाँको सर्वोच्च जनअदालत, सर्वोच्च जनन्यायाधिवक्ता, नागरिक सुरक्षा मन्त्रालय, न्याय मन्त्रालयले सूचना जारी गर्दै यस्तो बताएका हुन्।