PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने



पहिलोपोस्ट

गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने

बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो।

रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ।

‘डेमो फ्लाइट’का लागि क्यान र तारा एयरलाइन्सबिच रेसुंगा नगरपालिकाको तर्फबाट सम्झौता भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए। विमानस्थलमा आवश्यक सुरक्षा व्यवस्था, विमानस्थलसम्म पुग्ने सडक लगायतको तयारी पूरा भएको उनले बताए।

आइतवार बिहान ११ बजे तारा एयरको जहाज रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ। उक्त जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ।

जहाज विमानस्थलमा करिब एक घण्टा रहनेछ। विमानमा गुल्मी-१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, गुल्मी-२ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसमेत सवार हुने बताइएको छ।

यसअघि २०७५ जेठ २५ मा तारा एयरले नै कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो। अहिले विमानस्थलको धावनमार्ग पक्की भइसकेको छ।

विमानस्थल निर्माणका लागि हालसम्म ३७ करोडभन्दा बढी खर्च भइसकेको छ। तर, अझैपनि नियमित उडानमा भने शंका नै छ। नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर दिनेश परियारले आफूहरुले संरचना निर्माणको काम पूरा गरेको जानकारी दिए।

‘नियमित उडानका लागि विमानस्थल तयार भएको छ,’ उनले भने।

आइतवार ‘डेमो फ्लाइट’ गरेपछि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाउने नगरप्रमुख पन्थीले बताए। विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने तथा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell